कुन दलबाट को को बन्दै छन् मन्त्री ? : चारै दल आन्तरिक छलफलमा
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
807
Shares
काठमाडौँ। मन्त्रीको सङ्ख्या र मन्त्रालयमा सहमति जुटेपछि सत्ता गठबन्धनमा आबद्ध चार दलले धमाधम मन्त्री छान्दै छन्।
काँग्रेस भित्रको रामचन्द्र पौडेलले नेतृत्व गर्ने समूहको बैठक मन्त्री छान्नका लागि अहिले उनको निवास बोहोराटारमा जारी छ।
यस्तै नेता कृष्णप्रसाद सिटौलाले नेतृत्व गर्ने काँग्रेस भित्रको तेस्रो धारको बैठक जमलस्थित एल्लो प्यागोडा होटेलमा बसिरहेको छ।
माओवादी केन्द्रको समेत अहिले स्थायी कमिटी बैठक अहिले जारी छ।
जसपाको समेत केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ। केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा सङ्घीय परिषद् शीर्ष नेतृत्वलाई दिएको छ।
नेकपा एसले समेत आजै मन्त्री छान्नका लागि छलफल गर्दै छ।
सत्ता गठबन्धन आबद्ध चार दलका बिचमा भएको सहमति अनुसार काँग्रेसले ७, माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले चार मन्त्रालय पाउने छन्।
काँग्रेसले रक्षा मन्त्रालय लिने कि छाड्ने टुङ्गो भइसकेका छैन। तर स्वास्थ्य, सञ्चार तथा सूचना प्रविधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय काँग्रेसको भागमा परेको छ।
यसै गरी माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपक्षी विकास मन्त्रालय पाउने भएको छ। शिक्षामा समेत माओवादी दाबी छ।
यस्तै नेकपा एसले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय पाउने पक्का भएको छ । रक्षामा पनि सो दलको दाबी छ।
यसै गरी जसपाले भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।
काँग्रेसबाट कोको ?
काँग्रेस स्रोतका अनुसार काँग्रेसबाट दिलेन्द्र बडु, डा. मिनेन्द्र रिजाल मन्त्री बन्ने पक्का छ । सो समूहबाट तेजुलाल चौधरीसमेत मन्त्री बन्ने कसरतमा छन्। सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरी मध्ये एक जना मन्त्री बन्ने छन्।
यस्तै काँग्रेस संस्थापनबाट पुष्पा भुषाललाई समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्मा ल्याउँदै छन्। बडु र रिजाल काँग्रेस भित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्। यस्तै प्रधान र चौधरी सिटौला समूहका हुन्। भुषाल भने देउवा निकट हुन्।
यस्तै सरकारमा हाल कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई भने सञ्चार मन्त्रालयमा लैजाने प्रधानमन्त्रीको तयारी छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने यथावत् राख्ने कि हटाउने भन्ने प्रधानमन्त्रीको निर्णयमा भर पर्छ ।
देउवाले २९ असारमा प्रधानमन्त्री बनेपछि आफ्नो दलबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री बनाएका थिए। यस्तै १० साउनमा स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए। यस्तै ६ असोजमा देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई ल्याएका थिए। देउवा क्याबिनेटमा हाल रहेका सबै मन्त्री पार्टी भित्रको उनकै समूहसँग आबद्ध छन्।
माओवादी केन्द्रबाट यी हुन् सम्भावित नाम
गठबन्धनमा भएको सहमति अनुसार माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन्। माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराँती, मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डल मध्ये दुई जना र जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एक जना मन्त्री बन्ने छन्। एक जना भने राज्यमन्त्री बन्ने सम्भावना छ। माओवादीका तर्फबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन्।
नेकपा एसबाट कोको ?
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि ५ मन्त्री र एक राज्यमन्त्री बन्नेछन्। सो दलबाट विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट सरकारमा सहभागी हुने पक्का छ। सो पार्टीबाट सरकारको नेतृत्व भने खतिवडाले गर्ने छन्।
जसपाबाट यी नाम चर्चामा
जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का भएको छ। प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि जसपाबाट सरकारको नेतृत्व श्रेष्ठले गर्ने भएका हुन्।
यस्तै जसपाबाट महेन्द्र राय यादव, प्रदीप यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मध्येबाट चार जना मन्त्री हुने छन्।