arrow

बजेटका आश्रित विधेयक कार्यसूचीमा नआए एमालेले संसदमा हंगामा गर्ने

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
UML & mao.jpg.jpeg
काठमाडौँ । सत्ताधारी एमालेले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्तावमा छलफल हुनुअघि बजेटको आश्रित विधेयक कार्यसूची नल्याइए बैठक नै अवरुद्ध गर्ने भएको छ । वुधबार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले पूर्ववत् कार्यसूची हटाइ अविश्वासको प्रस्तावलाई सभामुखले प्राथमिकता दिएकाले बजेटका आश्रित विधेयकलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएको हो ।  
 
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससहितका दलले सरकारविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो दिनको बैठकको कार्यसूचीमा रहेको बजेट आश्रित विधेयकको कार्यसूची स्थगन गरिएको थियो । 
 
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको दलका सचेतक गोकुल घर्तीले जानकारी दिए ।
 
यसैबीच, दलहरुबीच संसद्को कार्यसूचीमा विवाद उत्पन्न भएपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेकी छन् । एमालले बजेट सम्बन्धी विधेयकलाई अघि नबढाइसम्म अविश्वासको प्रस्तावलाई  संसदमा बढ्न निदने रणनीति लिएको छ । अविश्वास प्रस्तावमाथिको छलफल अघि नियमित अधिवेशनको बजेट सम्बन्धी विधेयक पारित हुनुपर्ने अडान कायम राख्दै सोही अनुसार अघि बढ्ने एमालेको रणनीति छ । 
 
संसदको कार्यसूचीमा चढिसकेको बजेटसम्बन्धी तीन वटा विधेयकलाई हटाएर सभामुख ओनसरी घर्ति मगरले अविश्वासको प्रस्तावलाई कार्यसूचीको पहिलो नम्बरमा राखेपछि एमालेले विरोध गर्दै आएको छ । बजेट पारित नभएसम्म एमालेले अन्य विषयलाई संसदमा प्रवेश गर्न नदिने र बलजफ्ती गरेको खण्डमा प्रतिकार गर्ने तयारी गरेको छ । 
 
एमाले संसदीय उपनेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संसदको स्थापित अभ्यास, नियम र संविधान अनुसार मात्रै संसदको प्रक्रिया अघि बढ्नुपर्ने बताए । अविश्वासको प्रस्तावमा अवरोध नगर्ने तर त्यस अघि बजेट सम्बन्धी विधेयक पारित हुनुपर्ने बैठकको निष्कर्ष रहेको उनले सुनाए । 
 
संसदलाई ध्रुवीकरणको दिशामा नलैजाने र दलहरुबीच सहमतिका लागि प्रयास गर्ने समेत बैठकले निर्णय गरेको नेम्वाङले बताए । सभामुखले बजेट सम्बन्धी कार्यसूची हटाएर अविश्वा प्रस्तावमाथि छलफल गर्न साउन ६ गते(बिहीबार) बैठक बोलाएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ