arrow

म्याग्दीको तोराखेतमा भीषण पहिरो : तीन घर बगायो

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
landshlide.JPG.jpeg
बेनी । म्याग्दीको भकिम्ली–९ तोराखेतमा पहिरो जाँदा तीन घर बगाएको छ भने पाँच घर उच्च जोखिममा परेका छन् । गाउँ माथिबाट आएको पहिरोले बलवहादुर दर्जीका तीनवटा घर र गोठ बगाएको छ । 
 
यस्तै पहिरोले गतबर्ष पनि धनबहादुर दर्जी, निलबहादुर दर्जी, विपेन्द्र दर्जी, तिलबहादुर दर्जी, गोपाल दर्जी, पूर्णबहादुर दर्जी, कृष्णबहादुर दर्जी, विष्णुबहादुर दर्जीलगायतको घर र जग्गा बगाएको स्थानीय टेकबहादुर मल्लले जानकारी दिए ।
 
मल्लले दिएको जानकारी अनुसार गत सालको पहिरोले क्षति पु¥याएका घर र गोठ बुधबारको पहिरोले बगाएको हो । पहिरोले मानवीय र पशु चौपायाको भने क्षति भएको छैन । 
 
पहिरो गएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरीको टोली घटनास्थलमा पठाइएको र प्रहरीले सतर्क रहन आग्रह गर्दै माइकिङ गरेर फर्केको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
 
प्रनाउ खड्काले पहिरोले गतबर्ष एघार घरगोठ बगाएको बारेमा आफूलाई कुनै जानकारी नआएको बताए ।
 
विगत पाँच वर्षदेखि तोराखेतमा पहिरो खस्दै आएको छ । पहिरोका त्रासले स्थानीयले गाउँ नै छोडेर अन्यत्र सरेका छन् । 
 
बुधबार पहिरोले बगाएका घर गोठमा पनि मानिस र पशु चौपाया नभएकाले क्षति हुन नपाएको हो । पुरानो पहिरो भएपनि रोकथामको प्रयास असफल भएपछि बेनी नगरपालिका वडा नं। ४ बगरफाँटसमेत जोखिममा परेको छ । 
 
जिल्लाकै ठूलो दीर्घकालीन असरपार्ने पहिरोको रुपमा समेत चिनिएको तोराखेत पहिरोले विस्थापित भएकाले विगतदेखि नै उचित स्थानको माग गरे पनि सम्बन्धित निकायबाट सहयोग नभएको गुनासोसमेत गर्ने गरेका छन् । 
 
पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाएपछि त्यहाँका १२ घर परिवार घरजग्गाबिहीन बनेका छन् । 
 
विगतका बर्षमा गएको पहिरोले २० घर विस्थापित भइसकेका छन् । बलबहादुर परियार, ओमबहादुर परियार, भीम परियार, दिलबहादुर परियार, गोपाल परियार, पूर्ण परियार, कृष्ण परियार, विष्णु परियार, टीकाराम परियार, दिपेन्द्र परियार, श्याम परियार र तिलबहादुर परियारलगायत विस्थापित भइसकेका छन् । 
 
तोराखेतबाट खस्ने पहिरोका कारण बगरफाँटका बासिन्दासमेत त्रसित अवस्थामा रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ