arrow

सरकारले केसीको जीवन रक्षा गरिदिनु पर्‍यो रे !

चिन्ताको साटो प्रधानमन्त्रीले व्यंग्य गरे

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
oli-large.jpg.jpeg
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीका समर्थकले प्रदर्शन तीब्र बनाएकै बेला प्रधानमन्त्री केपी ओलीले केसीको स्वास्थ्य अवस्थाप्रति व्यंग्य गरेका छन् । ‘मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक’ तत्काल अघि बढाउन भन्दै एमाले नेताहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य अवस्थाप्रति व्यंग्य गरेका हुन् । 
 
ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका भरतमोहन अधिकारी, राजेन्द्र पाण्डेसहितका नेतालाई प्रधानमन्त्री ओलीले भने, ‘संसदको केही समिति बडो सक्रिय रहेछ ।’ संसदको सामाजिक न्याय तथा मानवधिकार समितिले केही दिन अघि जारी गरेको पत्रलाई कोट्याउँदै ओलीले भनेका छन्, ‘डा. गोविन्द केसीको बाँच्न पाउने अधिकार सरकारले जीवन रक्षा गरिदिन पर्‍याे भनेर पत्र आयो, म त छक्क परेँ ।’ संसदको सो समितिका सभापति सुशील कुमार श्रेष्ठले केही दिनअघि केसीलाई भेटेर प्रधानमन्त्रीलाई केसीको मागप्रति गम्भीर हुन भन्दै पत्र लेखेका थिए । सुशील कुमार एमाले अध्यक्ष समेत रहेका ओली नेतृत्वकै सरकारमा रहेको राप्रपा नेपालका सांसद हुन् ।    
 
एमाले नेताहरुको टोलीले प्रधामन्त्रीलाई आठबुँदे माग पत्र बुझाएको छ । राजेन्द्र पाण्डेहरुसमेत संचालक रहेको मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सहकारीमार्फत चल्न नहुने भन्दै केसीले विगत देखि विधेयक खारेजीको माग गर्दै आएका छन् । पाण्डेले संसदको महिला बालबालिका समितिमा रोकिएको विधेयक अघि बढाउन आग्रह गरेका छन् । संसदको सो समितिमा सभापति रन्जु झा छिन् । सो समितिमा एमालेका सबै सांसदहरु मेडिकल कलेज संचालक छन् । 
 
प्रधानमन्त्रीलाई भेटेपछि एमाले सांसद तथा नेताहरुले डा.गोविन्द केसीको नाम नलिए कुनै एक व्यक्तिले विरोध गर्दैमा आफूहरुको कामलाई रोक्न नपाइने चेतावनी दिए । प्रधानमन्त्री ओलीले सकारात्मकरुपमा लिएको र काम गर्ने वचन दिएको एमाले नेता भरतमोहन अधिकारीले बताए । 
 
यद्यपि, एमाले सरकार काम चलाउ बनिसकेको भन्दै विपक्षीले कुनै निर्णय नगर्न भनिसकेका छन् । त्रिविले सम्वन्धन नदिएपछि सहकारी मार्फत् चल्न सो प्रतिष्ठानको प्रक्रिया एमालेले स्वास्थ्य मन्त्रालयमार्फत अभि बढाउन खोजेको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ