काठमाडौं । दलहरुको आपसी असमझ्दारीले संसद अनिश्चित बनेको छ । बैठक शुक्रबार २ बजे बस्ने गरी स्थगित भएको छ । त्यसअघि दलका शीर्ष नेताले विहिबार गरेको छलफललाई पूर्णता दिन सक्लान् वा नसक्लान् अन्योल छ । शुक्रबार २ बजे अघि के हुन्छ ? र २ बजे पछि के हुन्छ भन्ने कौतुहल सुरु भएको छ ।
विहिबार संसद भवनमा बोलाइएको संसद बैठकलाई सारेर दलहरुले लामो समय छलफलमा विताए । बैठकबाट बाहिरिँदा अन्ततः छलफल कहाँ पुग्यो सम्म पनि भनेनन् । विहान सिंह दरबारमा भएको छलफल पनि उपलब्धि हिन भो । दिउँसो संसद भवनमा भएको छलफलमा नेताहरुको ‘इन्टरटेन्मेन्ट’ मनोरन्जन बाहेक खासै उपलब्धि भएन । जहाँ प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा संगै बसेका थिए ।
ओली सोफामा थिए । देउवा कुर्सिमा । फकर यत्ति हो । तर देउवाले अग्लोमा बसेकाले बढी खुट्टा हल्लाएर मनोरन्जन लिए, भने बेला बेलामा देउवालाई नियालेका ओलीले पनि सोही तालमा खुट्टा हल्लाए । माओवादी अध्यक्ष दाहालको अनुहार भने अध्यारै थियो । ता कि आफु प्रधानमन्त्री हुने बाटो फेरि पनि टुट्ने हो कि भन्ने चिन्ताले उनलाई सताईरहयो । अन्य नेताहरु पनि मौन थिए । तर, ओली र देउवा हाँसिरहे ।
शुक्रबार के हुन्छ ?
शुक्रबार संसद बैठक बस्नु अघि सिंहदरबारमा शीर्ष नेताहरुले छलफल गर्ने छन् । जहाँ विबिहार भएको बैठकको छलफललाई अन्तिम रुप दिने काम हुने छ । यद्यपि, निर्णय हुने सम्भावना न्यून छ । बैठकबाट बाहिरिने बेलामा सभामुख ओनसरी घर्तीले बैठक एक दमै सकारात्मक भएको भन्दै हात हल्लाइन् । यस्तै, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बैठकमा भएको कुरा अहिले नै भन्नु हतार हुने बताए ।
उनले भने, ‘भोली १२ बजे के हुन्छ भन्ने थाहा हुन्छ । त्यहाँ सम्म धैर्य गर्नु्स् । अहिले भन्नु हतार हुन्छ ।’ अविश्वास कसरी आयो ? के गरी सहमति हुन्छ भन्ने बारे कुरा भएको छ । स्रोतका अनुसार शुक्रबार प्रधानमन्त्रीले राजीनामा दिने वा पहिले आर्थिक विधेयक पास गरेर अविश्वास पस्ताव पेश गर्ने भन्ने बारे राजनीतिक सहमति आवश्यक छ र हुन्छ । सत्तारुढ केही नेताले विहिबारको छलफल सहमति नजिक पुगेको निर्णय मात्रै हुन नसकेको बताएका छन् । उनीहरुका अनुसार सिंहदरबारमा शुक्रबार हुने बैठक ‘फाइनल’ अर्थात् निर्णायक हुने छ ।
सहमति भएपनि नभएपनि संसद चल्छ : खाँण
कांग्रेस सांसल बालकृष्ण खाँणले दलहरुबीच सहमति भए पनि नभएपनि शुक्रबार संसद चल्ने बताएका छन् । उनले भने, ‘एमालेले बाहिर मात्रै संसदवादी दलको चरित्र देखाउनु र भित्र संसदीय व्यवस्थामा विश्वास नगर्नुलाई आश्चर्य मानिएको छ ।’ समस्या भएकै त्यसैबाट हो । रोष्टम घेरि दिन्छौं भन्नु राम्रो होइन ।
खाँणले थपे, ‘विहिबारको बैठकमा उहाँहरुले विधेयक पहिले कार्यसूचीमा राख्ने विषयलाई मात्रै झिकिरहनु भयो । सहमति भएन । माओवादीका साथीहरुले शुक्रबार जसरी पनि संसद चल्नु पर्छ र अविश्वास प्रस्ताव पारित हुनु पर्दछ भनेका छन् ।’ पहिले सहमतिका लागि प्रयास हुन्छ नभए धेरै समय सम्म संसदलाई गुम्राहमा राखिँदैन अघि बढिन्छ ।
पटक पटक हाम्रो नेतृत्वको सरकारमा आएकैले, महाधिवेशन गरिरहेकैले एमाले लोकतान्त्रिक चरित्रको पार्टी हो भन्ने हामीले बुझेका छौं । तर संसदीय मूल्य मान्यताप्रति किन यति धेरै शंकालु–खाणले प्रतिप्रश्न गरे । विगतमा एमालेले सत्ता आतंक गरेकै हो । प्रधानमन्त्रीले अहिले बाल हट राख्नु भन्दा पहिले अविश्वास प्रस्तावको सामना नै गर्ने हो भने त्यसवारे जवाफ दिन तयार हुनु पर्ने हो । संसदीय व्यवस्थामा बहुमत सांसदले अविश्वास ल्याइसकेपछि सरकारमा बसिरहन मिल्दैन । त्यो एमाले नेताहरुले राम्ररी बुझेका छन् ।
सहमति नभई संसद चल्नै सक्दैन : प्रमुख सचेतक गिरी
सत्तारुढ दल राप्रपा नेपालका प्रमुख सचेतक दिननाथ गिरीले सहमति नगरी संसद चलाउनु भनेको मुठभेड निम्त्याउनु हो भनेका छन् । सहमति हुने सम्भावना कम छ, सहमति नभई शुक्रबार पनि संसद चल्दैन उनले भने, ‘सहमति विना संसद चल्नै सक्दैन । प्रधानमन्त्रीले राजीनामा दिने भएपनि वा अविश्वास प्रस्ताव पारित गर्ने भए पनि राजनीतिक सहमति त चाहियो नी ! भोली सरकार बनाउन संविधान संशोधन गर्नु पर्ने छ ।
मधेसका समस्या समाधान गर्न दलीय सहमति नै आवश्यक छ । प्रचण्डले सरकार बनाउन पनि त भोली सहमति आवश्यक छ । संविधान संशोधन नगरी कसरी सकार बन्छ ।’ यस्तो सत्ता केन्द्रीत फोहोरी खेल खेलेर मुलुकलाई तहस नहस बनाउन हुँदैन । को प्रधानमन्त्री हुने र को मन्त्री हुने भन्ने नीहित स्वार्थले भोली कसैलाई भलो हुने वाला छैन ।
राजनीति फोहोरी खेलमा फस्यो : अधिकारी
एमाले सांसद रविन्द्र अधिकारीले शुक्रबार सहमति भए मात्रै सदन चल्ने बताए । सहमति नभई संसद चल्यो भने त्यहाँ सोच्न नसकिने परिणाम आउन सक्छ । त्यो खेलमा जानु हुँदैन अधिकारीले हाम्राकुरासंग भने, ‘आर्थिक विधेयक पास गरेर अविश्वास प्रस्तावबारे छलफल गरे भइहाल्यो नी ।
यसलाई ठूलो विषय बनाउनु पर्ने कारण नै छैन ।’ कारण नभए यो के तमासा भै रा त ? जवाफमा उनले भने, ‘केही होइन प्रचण्ड अझै जेलिन खोजेका छन् । त्यही भइरहेको छ । उता, रामचन्द्र जीहरुले कि प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने कि अविश्वास प्रस्ताव फिर्ता लिने भन्ने प्रस्ताव ल्याइसक्नु भएको छ ।’ यसरी विकल्पका बाटा पनि आएका छन् । तर नेताहरु जसले जे भने पनि अन्ततः जुँगाकै लडाई भइरहेको विश्लेषण भएको छ । सवैले आ–आफ्नो साइज खोजिरहनुमा गाँठो अड्किएको बताइन्छ ।