arrow

चाडपर्व सकिएसँगै कोरोना सङ्क्रमण बढ्ने चिन्ता

logo
प्रकाश चन्द्र जोशी,
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
health_ministry_1617956882.JPG
फाइल तस्बिर

काठमाडौँ । तीन महिनायता घट्दै गएको कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न सक्ने भएको छ। दसैँ र तिहारका लागि मानिसहरूको आवतजावत बढेसँगै सङ्क्रमण बढ्न सक्ने चिन्ता देखिएको हो। पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण दर १० प्रतिशत भन्दा मुनि झरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्तिक १ गतेको तथ्याङ्क हेर्ने हो भने, सङ्क्रमण दर ६.०९ प्रतिशत रहेको छ। कार्तिक १ गते ९ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा ५ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै असोज ३१ गते ८ हजार ७७ जनाको नमुना परीक्षण गर्दा ३ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको छ। यसरी हेर्दा असोज ३१ कोरोना भाइरसको सङ्क्रमण दर ४.७१ प्रतिशत रहेको देखिन्छ।

असोज ३० गते सङ्क्रमण दर ८.२९ प्रतिशत र असोज २९ गते ५.७७ प्रतिशत रहेको थियो। दसैँ र तिहारका लागि देशभित्र एक ठाउँबाट अर्को ठाउँ जाने मानिसहरूको सङ्ख्या बढेका कारण सङ्क्रमण बढ्न सक्ने चिन्ता विज्ञहरूले गरेका छन्।

काठमाडौँ उपत्यकाबाट मात्रै दसैँ तिहारका लागि झन्डै १० लाख बढी मानिस बाहिरिएका छन्। अन्य सहर र गाउँमा मानिसहरूको आवतजावत बढेको छ। चाडपर्व सकिएर फेरि आफ्नो कार्यक्षेत्र फर्किने मानिसहरूको सङ्ख्या बढ्छ । यसो हुँदा सङ्क्रमणको जोखिम आफैमा बढी भएको स्वास्थ्य अधिकारीहरू बताउँछन्।

हाल कोरोना भाइरसको सङ्क्रमण न्यून रहे पनि चाडपर्वका कारण अब, सङ्क्रमण बढ्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। यद्यपि, यसअघि दोस्रो लहरमा जस्तो भयानक अवस्थाले सङ्क्रमण भने बढ्ने सम्भावना भने कम रहेको विज्ञहरू बताउँछन्। मानिसहरूको आवतजावत बढी भएका कारण सङ्क्रमण केही बढ्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले बताए।

'हाल पनि सङ्क्रमण फैलिने क्रम जारी नै छ, र फेरि केही हदसम्म बढ्न सक्छ,' उनले भने । यद्यपि, दोस्रो लहरमा जस्तो उग्र किसिमले सङ्क्रमण बढ्ने सम्भावना भने कम रहेको उनको भनाइ छ।

'सङ्क्रमण केही बढ्न सक्छ तर, दोस्रो लहरको तुलनामा त्यति धेरै सङ्क्रमण बढ्ने स्थिति देखिँदैन,' उनले भने।

नेपालमा लक्ष्यको झन्डै एक तिहाइ जनसङ्ख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइ सकेको छ । यस्तै ४० प्रतिशतभन्दा बढीले खोपको पहिलो मात्रा लगाएका छन्।करिब ९ लाख भन्दा बढी मानिसहरू कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् । यसै कारणले पनि अब, सङ्क्रमण कम फैलिने अनुमान गरिएको छ। यद्यपि, नयाँ भेरिअन्टको उत्पन्न भएको अवस्थामा सङ्क्रमण बढ्न सक्ने सम्भावना उत्तिकै रहन्छ।

यस्तै सङ्क्रमित जति थोरै मानिस भए पनि तीमध्ये गम्भीर अवस्थाले बिरामी पर्ने र ज्यान गुमाउने सम्भावना समेत पहिला जति नै हुने भएका कारण कोरोना भाइरसको जोखिम उच्च नै रहेको छ।



नयाँ