सैन्य तत्परता र क्षमताको प्रदर्शन गर्दै इरान, राष्ट्रव्यापी वायु सेना अभ्यास सुरु
एपी,
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
802
Shares
फाइल तस्बिर
तेहरान, इरान। इरानले बिहीबार देशभरि वायु सेनाको वार्षिक अभ्यास सुरु गरेको छ। सरकारी टेलिभिजनले जनाए अनुसार यो अभ्यास अघिल्लो हप्ता आयोजित सशस्त्र अभ्यासपछि आयोजित ठुलो सैन्य अभ्यास हो। प्रतिवेदनमा दिइएको जानकारी अनुसार यस अभ्यासमा बम वर्षक लडाकु विमान, ड्रोन लेसर-निर्देशित मिसाइल सहित अन्य अत्याधुनिक हतियारहरूको प्रयोग गरी ड्रिलमा भाग लिइनेछ।
सबै इरानी सैन्य हवाई अड्डाहरू यस युद्धाभ्यासमा भाग लिनेछन्। बताइए अनुसार इरानसँग १२ एयर बेस छन्। प्रतिवेदने यो ड्रिल कति लामो समय सम्म चल्छ भन्ने बारे केही बताएको छैन।
अघिल्लो हप्ता यहाँ आयोजित दुई दिने वार्षिक हवाई रक्षा अभ्यासमा सेना र अर्धसैनिक क्रान्तिकारी गार्ड दुवै भाग लिएका थिए। इरानले नियमित रूपमा यस्तो सैन्य अभ्यास गरेर आफ्नो सैन्य तत्परता र क्षमताको प्रदर्शन गर्ने गर्दछ। इरानको बढ्दो परमाणु र सैन्य शक्तिले यस क्षेत्रमा तनाव बढाउँदै लगेको छ।
तेहरानको सन् २०१५ को विश्व शक्तिहरूसँगको समझदारीलाई पुनर्जीवित गर्न भियनामा हुने भनिएको वार्ता गत जुन देखि रोकिएको छ र त्यो समझदारी पुनः सुरु हुने कुनै मिति भने हालसम्म तय भएको छैन।
सन् २०१५ को परमाणु सम्झौताले तेहरानलाई आर्थिक प्रतिबन्ध हटाउने बदलामा युरेनियमको संवर्धनलाई निकै सीमित बनाएको थियो। सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा अमेरिकालाई उक्त सम्झौताबाट फिर्ता लिएपछि मध्य पूर्वमा तनाव बढायो र आक्रमणका अनेक शृङ्खला सुरु हुन थाले।