- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । कुर्था-जनकपुरधाम-जयनगर रेल चाँडै सञ्चालनमा ल्याइने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले बताएकी छन् । शुक्रवार जनकपुरधाम उद्योग वाणिज्य सङ्घले रेल चाँडै सञ्चालनमा ल्याउन माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले अध्यादेश ल्याएर भए पनि रेल चाँडै सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् ।
मन्त्री यादवले अब विधेयक पनि राष्ट्रिय सभाबाट फिर्ता भइसकेकाले चाँडै नै अध्यादेश मार्फत रेल सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी गराइन् ।मन्त्री यादवले भनिन्,' कानुनी अड्चनका कारण रेल सञ्चालनमा ढिलाइ भइरहेको थियो, तर अध्यादेश ल्याएर कानुनी अड्चन हटाउँछौ ।'
एक वर्षदेखि रेलको इन्जन बोगी सहित किनेर थन्किएको छ । तयार पूर्वाधार समेत ठाउँ ठाउँमा टुटफुट थालेको कारण आगामी विवाह पञ्चमीसम्ममा रेल सञ्चालनमा ल्याउन जनकपुरधाम उद्योग वाणिज्य सङ्घले माग गरे।
मन्त्री यादवले विवाह पञ्चमी देखि नै सञ्चालन हुन्छ भन्ने ग्यारेन्टी नभए पनि चाँडै नै सञ्चालनमा ल्याउने बताइन् । उनले रेल मात्र नभई सडक सञ्जाल सहितका पूर्वाधार विकास निर्माणको कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्।
विकासको काममा कुनै कसर नछोड्ने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले गठबन्धनको यो सरकारको १४ महिनाको अवधिमा रोकिएका र अवरुद्ध रहेका सम्पूर्ण यातायात तथा पूर्वाधार सम्बन्धी कार्य पुरा गर्दिने बताइन् ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बुझाएको ज्ञापन पत्रमा जनकपुरधाम क्षेत्रको आर्थिक सामाजिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि रेल्वेलाई तत्काल सञ्चालनमा ल्याउनका लागि आग्रह गरिएको छ ।