arrow

चौथो बेलबारी गोल्डकप : च्यासललाई हराउँदै झापा विजयी 

logo
विवेक मिश्र,
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
jhapa-belbari-gold-cup.JPG

मोरङ । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार लक्ष्मी मार्ग स्थित लक्ष्मी मावि खेलमैदानमा भएको उद्घाटन खेलको निर्धारित समयमा खेल बराबरी भएपछि ट्राईबेकरमा चार तीन गोल अन्तरले च्यासल  यूथ क्लब काठमाडौँलाई हराउँदै रोलिङ क्लब धुलाबारी झापा विजयी भएको छ ।

खेल सुरु भएको १२ मिनेटमै च्यासलका रु पेस वर्तौलाको पास पाएका सुसन लामाले गोल गर्दै टिमको खाता खोलेका थिए । खेलको निर्धारित समयावधि भर च्यासलले अर्को गोल थप्न सकेन । निकै प्रतिस्पर्धात्मक रहेको खेलको दोस्रो हाफको २२ औँ मिनेटमा झापाबाट खेलेका विदेशी खेलाडी हेन्थी वेलेले वान इन वान गोल गर्दै खेललाई बराबरीमा पुर्‍याउन सफल भए । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले दोस्रो गोल थप्न सकेन ।

ट्राईबेकरमा रोलिङ क्लब धुलाबारी झापाका मार्टिन सिलो, जोन जुरु, वविन बोहरा र पेमा तामाङले गोल गरे भने  च्यासल  यूथ क्लबका अजित गुरुङ, मौसुवा अवगना र केट्हा यानिकले गोल गर्न सफल भए भने कमल श्रेष्ठ र अर्वीन राईको बल गोल हुन सकेन ।

खेलको ३० मिनेटमा झापाका रोहन कार्कीको उत्कृष्ट प्रहार असफल भएको थियो । त्यसै गरी ४३ मिनेटमा झापाका विकास लिम्बूले प्रहार गरेको बल पोलमा ठोकिँदै बाहिरिएको थियो भने दोस्रो हाफको २० मिनेटमा च्यासलका अजित गुरुङको राम्रो प्रहार गोल हुन सकेको थिएन । खेलको म्यान अफ दि म्याच रोलिङ क्लब धुलाबारी झापाको गोल रक्षक मनोज प्रधान घोषित भए । शुक्रवार सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौँ र भारतको रोयल फुटबल क्लब सिलिगुडी बिच हुनेछ ।

 कोरोना महामारीको असरले गर्दा यसअघिका २ वर्ष प्रतियोगिताले निरन्तरता पाउन सकेको थिएन । प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यसबाहेक प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११/११ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । 

 प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौँ, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ