arrow

मोरङमा तीन सय परिवार विस्थापित

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
flood.JPG.jpeg
विराटनगर । एक सातादेखि भइरहेको निरन्तर वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ३०० परिवार विस्थापित भएका छन् । 
 
एक साताको वर्षाको क्रममा गएरातिदेखि आज बिहान ९ बजेसम्मको अवधिमा तुलनात्मक रूपमा सबैभन्दा बढी वर्षा भएपछि मोरङमा व्यापक रूपमा क्षति भएको छ । 
 
चौपाया र मानवीय क्षति नभए पनि हजारौँ हेक्टरमा रोपिएको धानबाली डुबानमा परेको छ । 
 
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार, विराटनगर–१६ स्थित बकरी टोलामा पानी पस्दा ५० परिवार विस्थापित भएका छन् भने पानीको चाप बढ्दै गएपछि विस्थापितका सङ्ख्यामा निरन्तर रूपमा वृद्धि भइरहेको छ । 
 
यसैबीच, रेडक्रस मोरङले बकरीका विस्थापित २६ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । सो ठाउँबाट गएराति थप परिवार पनि विस्थापित भएको र उनीहरू नजिकको विद्यालय र सडकमा आश्रय लिएका छन् । कटहरीमा पनि दर्जनौँ घर डुबानमा परेका छन् । 
 
यसका साथै बक्राहा खोलाको पानी पस्दा गोविन्दपुर–८का ५० परिवार विस्थापित भएका छन् । उनीहरूलाई प्रहरीको टोलीले उद्धार गरी सामुदायिक भवनमा राखिएको छ । 
 
सिजुवामा २३ परिवार विस्थापित भएको र उनीहरूलाई रेडक्रसबाट त्रिपाल र खाद्यान्न उपलब्ध गराइएको रेडक्रसका अधिकृत कमल कोइरालाले जानकारी दिनुभयो । यसका साथै बबियाबिर्तामा ३५ परिवार, हसन्दहको जयनगर र सुगाबजारका २०० परिवार विस्थापित भएका छन् । 
 
नुनसरी खोलाको पानी मधुमल्ला ४ र ६ वडामा पस्दा ५० परिवार विस्थापित भएका छन् । टापूका रूपमा परिणत भएका ती वडामा उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । सोराभाग–९का २५ परिवार विस्थापित भएको र तीमध्येका १२ परिवारको घर पूर्णरूपले क्षति भएको छ । 
 
यसका साथै, विराटनगर–डाइनिया सडकखण्डको थाननजिक कल्भर्टको छेउमा कटान हुँदा सो मार्ग बिहानदेखि अवरुद्ध भएको छ । ती ठाउँमा प्रहरीको टोली पुगेर मर्मत सम्भारको काम सुरु गरेको बताइएको छ । 
 
समग्रमा गएरातिको वर्षाका कारण मोरङ भएर बग्ने नदीको जलस्तरमा व्यापक रूपमा वृद्धि भएपछि कतिपय ठाउँमा बाँध भत्काएर मानवबस्तीमा पानी पसेको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ