arrow

अघिल्लो दिनको धानखेत भोलिपल्ट बगर

सुन्दरपुरको मात्रै २ हजार बिघा बढी खेतियोग्य जमिन कटानमा

logo
गोपाल पोखरेल,
प्रकाशित २०७३ साउन ९ आइतबार
river.jpg.jpeg
सुन्दरपुर( उदयपुर)। बाह्रओटा खहरेको बिचमा रहेको उदयपुर जिल्लाको सुन्दरपुर गाविसको २ हजार बिघाबढी खेतियोग्य जमिन कटानमा परेको छ। दुईसाता यता लगातार त्रियुगा, बडरुवा, तामाङ, घेर, सिवाई, डुंगा लगायतका खोला तथा खहरेमा आएको बाढीले धान तथा मकैबाली लगाइएको सो जमिन कटानमा परेको हो। २०४९ सालदेखि लगातार नदी कटानको समस्या खेप्दै आएका यहाँका किसानले यस बर्ष पनि बालीसहितको जमिन गुमाउनु परेको छ। खोला तथा खहरे नियन्त्रण गर्न नसक्दा २० बिघा बढी जमिनमा लगाएको मकै तथा धानबाली नष्ट भएको छ भने २ हजार बिघा बढी जमिन कटानमा परेको छ।
 
“तामाङ र बडरवा खोलाले धार परिवर्तन गर्दा सुन्दरपुर र तपेश्वरी गाविसको करिव ५ हजार बिघा जमिन कटानमा परेको छ ” सुन्दरपुर गाविस ५ का नागरिक वडा मन्चका संयोजक हरिकृष्ण कार्कीले भने,“नागरिक वडा मन्च हुँदै गाउँ परिषद् र जिल्ला परिषद्ले पास गरेर पठाएका नदी नियन्त्रणका ठूला योजनाले मन्त्रालय तहमा प्राथमिकता नपाउँदा हामीले यो दुर्दशा भोग्नुपरेको छ।”  खहरेले सुन्दरपुर ५ मा मात्रै चैते धान तथा मकैबाली पाक्न लागेको २० बिघा बढी जमिन कटान गरेको जानकारी उनले दिए।
 
“सिवाई खोलाका कारण सिवाई बजार जोखिममा परेको छ” वडा नं ३ स्थित पन्चकन्या नागरिक सचेतना केन्द्रका अध्यक्ष श्यामप्रसाद पराजुली भन्छन्,“ घेर खोला गाउँ छिरेको छ, त्यहाँ रहेका ३० घर परिवार बाढीको उच्च जोखिममा छन्।” स्थानीय रत्नप्रसाद घिमिरेका अनुसार डुंगा खोलामा आएको बाढी पसेर वडा नं २ र ३ को सय बिघा बढी खेतीयोग्य जमिन कटान गरिदिएको छ। सिवाई खोलाका कारण सिवाई बजारको सिरानमा रहेको मुसहर बस्ती जोखिममा परेको छ।
 
बिसं २०५३ सालमा भीषण बाढी आएपछि सुन्दरपुरमा नदी कटानको समस्या सुरु भएको थियो। त्यसबेला यहाँका २ देखि ५ बिघा जमिन भएका २१ परिवार पूर्णतया सुकुम्बासी बनेका थिए। “ ५३ सालदेखि नियमित नदी कटानको समस्या खेप्दै आएका छौं” वडा नागरिक मन्चका संयोजक समेत रहेका घिमिरेले भने,“ त्यसयता हरेक साल २ देखि ५ घर सुकुम्बासी हुँदै आएका छन्। खहरे नियन्त्रणलागि सरकारी तहबाट कुनै ठोस सहयोग नहुँदा समस्या बढिरहेको उनको भनाई थियो।
 
“उत्तरतर्फबाट त्रियुगा नदीले सालन्य कटान गरिरहेको छ” स्थानीय बृद्ध भद्रबहादुर सुवेदीले भने,“ अरु १४ ओटा खहरेले गाउँजति सबै बगर बनाइसके।” खहरे नियन्त्रणका लागि ठूला योजना संचालन गर्न नसक्ने हो भने अबका केही बर्षमा सुन्दरपुर मरुभूमी जस्तै भएर जाने सुवेदीले बताए।
 
“आज लहलह धान झुलिरहेको खेत भोलिपल्ट उठेर हेर्दा बगर भइरहेको हुन्छ” स्थानीय तारानेपाली भन्छिन्,“ पानी पर्न थालेपछि त्राहीत्राही हुनुपर्छ।” राति ठूलो पानी पर्दा बाढीले बगाएर लैजाने त्रासले गाउँले जागै बस्ने गरेको उनी बताउँछिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ