arrow

एपिएफले लगातार जित निकाल्दा सुदूपश्चिमाञ्चलको विजयी सुरुवात

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
Cricket.jpg.jpeg
काठमाडौँ । महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले मध्यपश्चिमाञ्चल विकास क्षेत्रको टोलीलाई नौ विकेटले हराउँदै दोस्रो जित हात पारेको हो । यसअघि शनिबार भएको पहिलो खेलमा पनि एपिएफले जित हात पारेको थियो । 
 
टस हारेर ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा आएको एपिएफले ११.२ ओभरमै मात्र १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । एपिएफलाई जित दिलाउन ‘प्लेयर अफ द म्याच’ घोषित भएकी सीता रानामगरले २७ बनाइन् । त्यस्तै अविजित रहेका ज्योति पाण्डेले २३ तथा सरिता मगरले चार रन जोडेपछि एपिएफले सहज जित निकाल्यो । 
 
यसअघि मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्न एपिएफका ऋतु कानोरियाले तीन, सीता र करुणा भण्डारीले दुई/दुई तथा विनु बुढा मगरले एक विकेट लिए । यता मध्यपश्चिमाञ्चलकी लक्ष्मी चौधरीले २२ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । समूह ‘ए’मा रहेको मध्यपश्चिमाञ्चलको यो पहिलो खेलमा पहिलो हार हो । 
 
आजै भएको अर्को खेलमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रले पश्चिमाञ्चल विकास क्षेत्रलाई आठ विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा ९१ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको सुदूरपश्चिमाञ्चल १९ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्यमा पुग्न सफल भयो । 
 
सुदूरपश्चिमाञ्चलका लागि ‘प्लेयर अफ द म्याच’ घोषित रोशनी बोहराले अविजित रहँदै ३६, अर्की अविजित कविता जोशीले २५, रेखा रावलले २२ तथा माया रावल साउदले दुई रन बनाएका थिए । यसअघि पश्चिमाञ्चलकी इन्दु बर्माले ४३ तथा वर्षा रानाले ३३ रन बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । सुदूरपश्चिमाञ्चलका लागि एकमात्र विकेट कविता जोशीले लिएकी थिइन् । 
 
जारी प्रतियोगितामा सुदूपश्चिमाञ्चलको पहिलो खेलमा पहिलो जित हो भने दुई खेल खेलेको पश्चिमाञ्चलले जित निकाल्न सकेको छैन । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी राष्ट्रिय टोलीमा पर्ने तथा उनीहरुले विश्वकप छनोट खेल्न पाउने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । रासस 



नयाँ