arrow

'एमालेले प्रधानन्यायाधीश माथि महाभियोगको प्रस्ताव ल्याउँदैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
cholendra-rana-chief-justic.jpg

काठमाडौँ ।  नेकपा (एमाले) का नेता खगराज अधिकारीले एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । 

पूर्व गृहमन्त्री समेत रहेका अधिकारीले भने,‘एमालेले उहाँको राजीनामा पनि मागेको छैन, र महाभियोगको प्रस्ताव पनि ल्याउँदैन । यसबारेमा छलफल गर्ने अवस्था छैन । न्यायाधीशहरुले राजनीति गर्ने, कुनै दलको भाका र भाषा बोल्ने काम गर्नुहुँदैन । न्यायालय पूर्वाग्रही हुनुहुँदैन । संविधानमा आधारित भएर चल्नुपर्छ । तर, यहाँ त परमादेश दिँदा नै सेटिङ भयो ।’

उनले वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको टिप्पणी गरेका छन् । उनले भने,‘परमादेशबाट बनेको सरकार हो, यो सरकारले संवैधानिक काम गर्छ भन्ने तपाईँहरूलाई विश्वास लाग्छ र ? सरकार त उल्टो अहिले दिशामा हिँडिरहेको छ । हाम्रो संविधानले समन्वय समितिको कल्पना गरेको छ त ? अनि अहिले गठबन्धनले बनाएको समन्वय समिति कसरी संविधानसम्मत भयो ? यो संविधान विपरीत हो ।’

उनले पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रूपमा आउने पनि स्पष्ट पारे । उनले भने,‘अब पनि अध्यक्ष त केपी ओली नै हो नि, यसमा शङ्का छ र ? अध्यक्ष मात्रै होइन, हाम्रो सबै पदाधिकारी नेतृत्वमा सर्वसम्मत हुन्छ । म दोहोर्‍याएर भन्न चाहन्छु कि मूलतः नेतृत्व सबै सहमति हुन्छ ।’

उनले आफ्नो पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा ध्यान खिचेको पनि स्मरण गराए । उनले भने,‘जहाँसम्म हाम्रो पार्टीको महाधिवेशनको कुरा छ, यसले देशको ध्यानाकर्षण गरेको छ । एमाले देशको ठुलो पार्टी हो । लोकतान्त्रिक करणको च्याम्पियन हो–एमाले । हामीले गरेको काम राष्ट्रको निम्ति रोल मोडल हुनुपर्छ । मैदानमा उपाध्यक्ष अध्यक्षको लागि आउनु कुन ठुलो कुरा हो ? विधान महाधिवेशन पनि सर्वसम्मत गर्‍यौँ । अहिले नेतृत्वको महाधिवेशन हुँदै छ । नीतिमा कुनै फरक छैन । समाजवादको निर्माण कसरी गर्ने भन्नेमा हामी लागेका छौँ । राष्ट्रिय स्वाधीनतालाई उचाइमा पुर्‍याउनुपर्छ । अहिले समाजवादको पूर्वाधार बनाउने बेला हो ।’

उनले समाजवादको पूर्वाधार बनाउनको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई मूल कार्यभार बनाएर अघि बढ्ने पनि विश्वास दिलाए । उनले भने,‘यसको लागि अहिले सरकारलाई दबाब दिन्छौँ । समृद्धिको यात्रालाई जारी राख्ने हो । यो कार्यभारबाट हामी बाहिर जान्दैनौँ । शिक्षा तथा स्वास्थ्य क्षेत्रको कुरा छ, यसलाई सरकारको दायित्वमा ल्याउन चाहन्छौँ । सामाजिक सुरक्षाको दायित्व बढाउन चाहन्छौँ । निर्यात र आयातको सन्तुलन मिलाउँछौँ । खास गरी हामी निर्यात बढाउँछौँ । उत्पादकत्व वृद्धि गर्ने तयारी गर्नुपर्छ । निजी क्षेत्रको उद्यमशीलतालाई सरकारले प्रोत्साहन गर्नुपर्छ । दलाल पुँजीलाई विस्थापन गर्नुपर्छ । राष्ट्रिय पुँजीको विकास हुनुपर्छ । महाधिवेशनले नीति सार्वजनिक भैसकेको छ, अब नेतृत्व सर्वसम्मत हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ