arrow

बाँकेको चिसापानीमा पहिलो पटक ट्राफिक इन्चार्जको जिम्मेवारी महिलालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
banke-traffic-mahila.JPG

नेपालगन्ज । बाँकेमा ट्राफिक व्यवस्थापन गर्न निकै कठिन र चुनौतीपूर्ण मानिन्छ । तराईको जिल्ला अनि सीमा नाका भएर पनि होला बाँकेको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि बाँके ट्राफिक प्रहरीले दिनरात खटिएर ट्राफिक व्यवस्थापनलाई मजबुत बनाउने प्रयत्न गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरणका लागि  ट्राफिक सचेतना कार्यक्रमदेखि बेलाबेलामा चालकहरूको स्वास्थ्य जाँच समेत गराउँदै आएको छ ।

सवारी चापको हिसाबले भन्ने हो भने ट्राफिक व्यवस्थापनमा कठिन नेपालगन्ज हो भने त्यसपछि कोहलपुर र राजमार्गका शम्शेरगन्ज, चिसापानी र सम्झनामा पनि कठिन छ । बाँकेमा अहिले एक दर्जन ट्राफिक पोस्टहरू छन् । सबै ट्राफिक पोष्टले ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै आएका छन् । 

बाँकेका सबै ट्राफिक पोस्टहरूमा पुरुष ट्राफिक प्रहरीले कमान्ड सम्हाल्दै आएको अवस्था थियो । तर, अब भने महिला ट्राफिक प्रहरीले पनि ट्राफिक पोस्टको कमान्ड सम्हालेकी छिन् । बाँकेमा पहिलो पटक उत्तर चिसापानीमा कमान्ड सम्हाल्ने महिला ट्राफिक हुन्, प्रहरी हवलदार सबिता रावल । 

महिलाले चाहे पुरुष सरह काम गर्न सक्छन् भन्ने कुरा ती महिला ट्राफिक रावलले चिसापानीमा अब्बल कार्य गरेर साबित गरिदिएकी छिन् । सङ्गठनप्रतिको कार्य इमानदारीसाथ गर्ने निडर स्वभावकी प्रहरी हवलदार रावल चिसापानी गएको १७ दिन जति पुगेको छ ।  गएको १७ दिनको अन्तरालमा उनले ९० हजार रुपैयाँ  बढी राजश्व समेत सङ्कलन गरिसकेकी छिन् । सहीलाई सही र गलतलाई गलत नै हो भन्ने महिला ट्राफिक  प्रहरी रावलले राजश्व सङ्कलन गर्ने मात्र होइन, सवारी चालकहरूलाई ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण सम्बन्धी ज्ञान समेत दिँदै आएकी छिन् ।

"सङ्गठनप्रतिको जिम्मेवारी पूरा गर्न म यहाँ आएको छु, इमानदारीताका साथ काम गरेकी छु । मेरो कार्य गर्ने शैलीले गर्दा मलाई विश्वास गरेर बाँके ट्राफिक प्रमुखले चिसापानीको जिम्मेवारी दिनुभएको छ, यहाँको ट्राफिक व्यवस्थापन मजबुत बनाउने त्यो जिम्मेवारी पूरा गर्नु मेरो कर्तव्य हो," प्रहरी हवलदार रावलले बताइन् ।

महिलाहरू अनुशासित पनि हुन्छन्, काममा उनीहरू लगनशील भएर लाग्छन् । ट्राफिक व्यवस्थापनको चुनौती सामना गर्न सक्ने क्षमता महिला प्रहरीसँग धेरै हुने जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्लले बताए ।

"अहिलेसम्म ट्राफिक पोस्टमा महिला ट्राफिक इन्चार्ज थिएनन्, यस पटक मैले ती महिला प्रहरीको मेहनत, सङ्गठनप्रतिको उत्कृष्ट कार्य गर्ने शैली देखेर महिला ट्राफिकलाई इन्चार्जको जिम्मेवारी दिएको छु । गएदेखि अहिलेसम्म उनले ट्राफिक व्यवस्थापनमा राम्रो कार्य गरेकी छिन्, राजश्व सङ्कलन पनि चित्तबुझ्दो गरेको पाएको छु," प्रहरी निरीक्षक मल्लले भने । 

गल्ती भेटे ठाउँको ठाउँ कारबाही गर्ने शैलीले पनि ट्राफिक प्रहरी हवलदार रावलसँग चिसापानीमा सवारी चालकहरू तर्सिने गरेको त्यहाँका स्थानीयहरू बताउँछन् ।  ट्राफिक व्यवस्थापन चुस्त राख्ने, दुर्घटना हुन नदिन सवारी चालकहरूलाई नियम कानुन सिकाउने उनको दिनचर्या नै भएको छ।

उनलाई चिसापानी मात्रै होइन, कुनै दुर्घटना भएमा देउराली डाँडा र बबईसम्म नै पुग्नुपर्ने बाध्यता छ । सङ्गठनको जिम्मेवारी पूरा गर्न पहिलो पटक चिसापानी पोस्टको  कमान्ड सम्हालेकी प्रहरी हवलदार रावलले सकेसम्म सुर्खेत हुँदै उच्च हिमाली भेगमा जाने सवारीसाधनमा यात्रु सिट क्षमता भन्दा बढी यात्रु राखिएको पाएमा जरिवाना तिराउँदै ट्राफिक नियमबारे क्लास दिन भने छुटाउँदिनन् ।

रावल भन्छिन्-"महिलाले पनि उत्कृष्ट कार्य गर्न सक्छन् भन्ने कुरा देखाउनु र आफ्नो कमान्डरले  आफूप्रति गरेको विश्वास र भरोसा जित्नु नै मेरो लक्ष्य हो ।" ट्राफिक व्यवस्थापनमा कुनै सम्झौता आफूले नगर्ने रावल बताउँछिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ