एन्टिगुवा । भारतले पहिलो टेष्ट क्रिकेटमा वेष्ट इन्डिजलाई एक इनिङ र ९२ रनले हराउँदै कीर्तिमान रचेको छ । वेष्ट इन्डिजलाई उसकै मैदानमा पहिलो टेष्टमा फराकिलो रनले हराउँदै भारतले ८४ वर्षे करियरमा एसिया बाहिर यतिठूलो जित पहिलो पटक हासिल गरेको हो ।
यसअघि सन् २००५ मा बुलावायोमा भारतले जिम्बावेमाथि एक इनिङ र ९० रनको जित हासिल गरेको थियो ।
खेलमा पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ८ विकेटको क्षतिमा ५६६ रन बनायो । कप्तान विराट कोहलीले २०० तथा रविचन्द्रन आश्विनले ११३ रन जोडे ।
जवाफमा वेष्ट इन्डिजले २४३ रनमात्र बनाएपछि फलो अन जोगाउन सकेन । पुनः ब्याटिङ गरेको वेष्ट इन्डिजले २३१ रनमात्र जोड्न सक्यो ।
कसिलो बलिङ गर्ने क्रममा अलराउण्डर आश्विनले ८४ रन खर्चेर ७ विकेट लिए । पहिलो इनिङमा भने उनले विकेट लिएका थिएनन् ।
आश्विन नै म्यान अफ द म्याच बनेका छन् । यो जितसंगै भारतले चार खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ ।
दोस्रो टेष्ट जमैकाको किङ्सटनमा शनिबारदेखि हुनेछ ।