arrow

(अपडेट) माओवादीको बन्दमा दुई ट्याक्सी जलाइए, काठमाडौंबाट ८३ पक्राउ

logo
प्रकाशित २०७३ साउन १० सोमबार
sadak.jpg.jpeg
काठमाडौं । नेकपा माओवादी नेत्र विक्रम चन्द विप्लब समूहको नेपाल बन्द आब्हानले जनजीवनमा असर परेको छ । बन्दको असर सडकमा बढी देखिएको हो । सार्वजनिक सवारी साधन न्यूनमात्रामा चलेका छन् । 
 
बन्दकर्ताले राति दुई वटा ट्याक्सी जलाएको काठमाडौं महानगर परिसरका प्रवक्ता डीएसपी सिद्धिविक्रम शाहले हाम्राकुरालाई जानकारी दिए । राति २.१० बजे गंगबुमा यात्रु बनेर चढेका प्रदर्शनकारीले बा १ ज २८६ नम्बरको ट्याक्सी जलाएका हुन् ।
 
त्यस्तै काठमाडौंको मिनभवनमा ३.४५ बजे बा १ ज ५१६२ नम्बरको ट्याक्सी जलाउने प्रयास भएको हो । आन्दोलनकारीले आगो लगाउँदा भित्री सिटमात्र जलेको डीएसपी शाहले बताए । 
 
अहिलेसम्म काठमाडौंबाट ८३ बन्दकर्ता पक्राउ परेको उनले जनाएका छन् ।  
 
माओवादीले हिजो साँझ रत्नपार्कमा गरेको र्यालीबाट डेढ सय कार्यकर्ता पक्रिएको र राति छानिएको जनाएको छ । 
 
यता ललितपुरमा भने अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन । ललितपुर महानगरिय प्रहरी परिसर प्रमुख पिताम्बर अधिकारीले हिजो पक्राउ परेका तीन जनालाई भने नियन्त्रणमै राखिएको बताए ।
 
भक्तपुरमा कुनै घटना भएको छैन । 
 
सडकमा निजी सवारी साधन बढी चलेका छन् भने ट्याक्सीको मात्रा पनि देखिन्छ । 
 
सुकुम्वासीमाथि सरकारले गरेको ज्यादतीको विरोध गर्दै विप्लब समूहले नेपाल बन्दको आब्हान गरेको हो । आजको बन्दमा नेपालभरकै सुकुम्वासी उत्रिएका छन् । 
 
तुलनात्मक रुपमा बन्दकर्ता कम पक्राउ परेका छन् । माओवादीका एक नेताले भने – आज हाम्रो सकभर बचेर काम गर्ने नीति छ, पक्राउ परेर हामीलाई खासै फाइदा भएन । 
 
यता बन्दको असरले भने बिहानी सत्रका कलेज संचालन हुन सकेनन् । सडकमा भेटिएका विद्यार्थीले आक्रोश पोखेका छन् । ‘अनाबश्यक बन्द गरेर नेपाललाई कति तल खसाउन खोजिएको हो रु’ एक विद्यार्थीले आक्रोश हुँदै भनिन् । 
 
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक कर्मचारीले हिंडेरै कार्यालय पुग्ने क्रममा बन्द भनेर खवरै नगरी यसरी बन्द गरिंदा कति मर्का हुन्छ भनेर बुझ्नु पर्ने नि भन्दै प्रश्न गरे । उनले बन्दको विकल्प निकाल्न पनि सुझाव दिए । 
 
बन्दको असर अन्य जिल्लामा पनि परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ