नौ दिनदेखि भोजपुरमा हवाई उडान बन्द

प्रकाशित मिति : २०७३ श्रावण १० सोमबार
भोजपुर। लगातार पानी परेसँगै बाक्लो कुहिरो लागेपछि भोजपुरमा हवाई उडान बन्द भएको बताइएको छ । 
 
लगातारको वर्षात्सँगै हवाई मैदानमा बाक्लो कुहिरो लाग्नाले नौ दिनयता हवाई उडान हुन नसक्दा सर्वसाधारण निकै समस्यामा परेका छन् । 
 
खराब मौसमकै कारण गएको असार महिनामा नेपाल वायुसेवा निगमको तालिका अनुसार भोजपुर–काठमाडौँ १९ उडान हुनुपर्नेमा १४ उडान मात्र भएका थिए । त्यसैगरी भोजपुर–विराटनगर १४ उडान हुनुपर्नेमा आठ उडान मात्र भएको भोजपुर विमानस्थलका वरिष्ठ अधिकृत विशाल वरुणले जानकारी दिए । 
 
असारमा सामान्य उडान भए पनि साउन महिना लागेयता कुनै उडान हुन नसकेको अधिकृत वरुणले बताए । उडान रद्ध भएसँगै जिल्ला अस्पताल भोजपुरले उपचारका लागि काठमाडौँ पठाएका बिरामी सदरमुकाममै रोकिएका छन् । 
 
यसैबीच भोजपुरमा नेपाल वायुसेवा निगम र तारा एयरले उडान भर्दै आएकामा तारा एयरको उडान डेढ महिनायता बन्द रहेको छ । रासस 
नयाँ