जलेश्वर । आठ स्वास्थ्य केन्द्रको उद्घाटन गर्न महोतरी गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रोकेर स्थानीयले आफ्नो गुनासो सुनाएका छन् ।
रामगोपालपुर नगरपालिकामा एकैसाथ आठ स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा जाँदै गरेका प्रचण्डलाई सोही सडकखण्डमा पर्ने मणिपाल इन्जिनियरिङ कलेजले उब्जाउ जग्गा ओगटेर बञ्जर बनाएको स्थानीयले दुःखेसो गरे ।
तीस वर्षअघि जलेश्वरभित्र पर्ने बजराही, रतवारा, बखरीसहितका गाउँलेको अन्नको भण्डारका रुपमा रहेका करोडौँ मूल्यको ३६ बिघा बढी जग्गा किसानले मणिपाललाई इन्जिनियरिङ कलेज निर्माणका लागि दिएका थिए ।
प्रत्येक किसानको घरका एक जनालाई निःशुल्क इन्जिनियरिङ शिक्षा पढाउने सर्तमा मणिपालले किसानहरुको जग्गा मात्र रु १० हजार प्रतिकट्ठाका दरले लिइएको थियो ।
किसानको दुःखेसो सुनेर प्रचण्डले नआत्तिन आश्वासन दिँदै चाँडै सो जग्गाभित्र नेपाल सरकारको ठूलो परियोजना स्थापना हुने बताए ।
पाँच मिनेट मात्रै स्थानीयको कुरा सुनेर आश्वासन दिँदै प्रचण्ड सो स्थानबाट रामगोपालपुरतिर लागेका थिए ।