काठमाडौं। नेपाल भारत सीमा नाकामा रहेको कोशी ब्यारेजमाथि आक्रमणको चेतावनी दिएको व्यहोरा सहितको पत्र भारतले नेपाल सरकारलाई पठाएपछि नेपालभर यस विषयमा चर्चा भएको छ। भारतीय सञ्चारमाध्यमलाई आधार मान्ने हो भने भारतीय जासुस संस्था ‘र’को विशेष रिपोर्टको आधारमा यस्तो पत्र पठाएको उल्लेख छ। साथमा भारतीय सञ्चारमाध्यमका समाचारमा विहारमा आतंक मच्चाउने उद्देश्यका साथै यस्तो तयारी रहेको पनि ‘र’ को प्रतिवेदनलाई उद्दृत गर्दै उल्लेख गरेका छन् ।
भारतको विहारमा आतंक मच्चाउन सक्ने नेपालको कोशी व्यारेज किन निशानामा पर्यो त? यो जिज्ञासा सबैको चासोको विषय हो। नेपालमा आक्रमण गरेर विहारमा कसरी आतंक मच्चिन्छ त?
जानकारहरू भन्छन् नेपाल हुँदै भारतको विहारमा बग्ने कोशी नदिलाई ‘विहारको दुख’भनेर पनि भन्ने गरिएको छ। कोशी नदी यदि आफ्नै गतिमा बग्ने हो भने बर्खा याममा बिहारको अधिकांश भाग कोशी नदीको बाढीले डुबान गर्ने भएकोले पनि यो नदीलाई बाँध बाँधी डाईभर्सन गरिएको छ। बर्षामा वाढीलाई नियन्त्रण गर्ने र हिउँदमा सिंचाईको लागि भारतले प्रयोग गर्दै गरेको कोशीलाई यतिखेर भारतको नै टाउको दुखाई बनाउन आतंकवादीहरुले प्रयोग गर्न खोजेको सूचना पाएपछि भारतीय संस्थापन पक्षको यतिखेर टाउको दुखाई भएको छ।
कोशी बाँधमा रहेका कूल ५२ ढोकाहरू बर्खाको समयमा पनि सबै खोल्ने गरिएको छैन। खतराको संकेत दिदा पनि सबै ढोका खुल्दैन। सबै ढोका खोल्दा विहार आफै पनि सुरक्षित रहँदैन। सबै ढोका नखोल्दा अहिलेसम्म पनि विहार सुरक्षित छ। तर अप्ठ्यारो अवस्थामा पनि ढोकाहरु नखोल्दा यसको सीधा असर बाँध भन्दा माथिका नेपाली भूभागमा पर्दा नेपाली भूभागमा डुवानमा पर्दै आएका छन्।
तर, आतंकबादी संगठनले कोशी वाँधलाई नै निशाना बनाएको सूचना आएपछि अहिले नेपाली र भारतीय अधिकारीहरुको तहमा मात्र हैन राजनीतिक तहमा पनि निकै खैलावैला मच्चिएको छ। कोशी वाँधमा तलमाथि भएर भत्किए विहार स्वतः डुवानमा पर्छ र भारत ठूलो संकटबाट ग्रुजन पर्छ भन्ने सोचाई आतंकबादी संगठनहरुको रहेको जानकारहरूको विश्लेषण छ। त्यस्तैगरी, कोशीको बाँध भत्काउँदा हिउँदमा पनि विहारलाई समस्या पैदा हुने कारणले पनि आतंकवादीको निशानामा नेपालको कोशी वाँध रहेको विश्लेषण छ। अहिले यस्तो बाँधको कारणले हिउँदभरी नै सिंचाईको लागि भारतले सहजता रुपमा पानी पाउँदै आएको छ।
भारतलाई तनाव दिन आतंकवादीहरुले किन नेपालकै भूमि प्रयोग गर्न खोजेत भन्नेमा पनि यतिखेर सुरक्षाकर्मीहरुले विश्लेषण गर्न थालेका छन्। जानकारहरुको बुझाइमा नेपालको सुरक्षा अवस्था जुनसुकै ठाउको पनि सहजै तोड्न सकिने आँकलन पछि आतंकवादीहरुले भारतसँगै जोडिएको क्षेत्रमा केहि धमाका गर्न खोजेको देखिन्छ। भारत सरकारकै सहयोगमा बनेको सो वाँधलाई आतंकवादी संगठनहरूले भारतमा नटेकी विहार मार्फत भारतलाई आतंकित पार्नको लागि कोशी व्यारेजमा आक्रमण गर्न लागिएको पनि विश्लेषकहरू बताउँछन्।
कोशी ब्यारेज सामान्य रूपमा हेर्दा नेपालबाट भारततर्फ गएको नदी हो। यहि नदीको नेपालतर्फ बाँध बनाइएको हो। यसमा वर्षको समयमा बाढी पहिरोको जोखिम कम गर्नको लागि तथा नदीलाई नियन्त्रण गर्नको लागि भनेर ५२ वटा ढोकाहरू राखिएका छन्। यो सन् १९५८ देखि सन् १९६२ को बिचमा बनाइएको थियो। स्थापनाकालदेखि नै भारतीय नियन्त्रणमा रहेको सो बाँध नेपाल–भारत सीमाक्षेत्रमा नेपालको सुनसरी र सप्तरी जिल्लाको बीचमा बनेको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने ११ सय ५० मिटर लामो उक्त बाँध २६°३१′३५″उत्तर ८६°५५′३७″ पूर्व निर्देशांकमा सन् १९५६ सालदेखि सुरू भएको हो।
कोशी बाँधमा आक्रमण गर्ने धम्की दिएका आतंकबादी संगठनमा लस्करे ए तोइवा, जैसे मोहमद, पाकिस्तानी मुजाहिदीन रहेका बताइएको छ। १९८७ मा हाफिज मोहमद साइदको नेतृत्वमा जन्मिएको लस्करे ए तोइवाले अहिले पाकिस्तान भारत र अफगानिस्तानमा आतंक मच्चाउर्दै आएको छ। २००८ को मुम्बई आक्रमण पनि यसै संगठनले गराएको पनि भारतीय सञ्चारमाध्यमहरूले दावी गर्दै आएका छन्। जैसे मोहमद २००० मा मसोद अजारले जन्माएका हुन्। जम्बु काश्मीर क्षेत्रमा यस संगठनको राम्रो उपस्थिति छ। अहिले भारत, अमेरिका, बेलायत, क्यानडा र युरोपियन देशमा आफनो संञ्जाल बनाइरहेको छ। केही महिना अघि भारतको पठानकोट हमलामा यस संगठनको हात थियो । पाकिस्तानी मुजाहिदीन १९९० बाट समुह बनाएर अफगानिस्तान, इराक, फिलिपिन्स, बर्मा लगायतका देशमा लडेको थियो। अल कायदाको एउटा भाग रहेर आतंकी गतिबिधिमा यो संगठन जन्मिएको बताईन्छ। दुई तीन बर्ष देखी मात्र यो संगठन सकृय रहदै आएको छ।