arrow

नेपाली क्रिकेटको लफडा मिलाउन आइसीसीको प्रशासकीय टोली काठमाडौंमा

logo
प्रकाशित २०७३ साउन १० सोमबार
ICC-and-CAN.jpeg.jpeg
काठमाडौं । नेपाली क्रिकेटको विवाद मिलाउन भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको प्रतिनिधि मण्डल अध्ययनका लागि काठमाडौं आएको छ । पाँच सदस्यीय प्रतिनिधि मण्डलका तीन सदस्य सोमबार नेपाल आइसकेका छन् । सीइओ र अर्का एक सदस्य मंगलबार आउने कार्यक्रम छ ।
 
काठमाडौं आइपुग्नेमा डेभलपमेन्ट अफिसर अमर शेख, कन्सल्टेन्ट बन्दुला वार्नापुरा र एसोसिएट प्रतिनिधि इमरान ख्वाजा छन् । आइसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डशन र कानुनी अधिकारी पल म्याक्माहन अर्को कार्यक्रम परेकाले संगै आउन नसकेको बताइएको छ । आउनु अघि पठाएको पत्रमा पाँचै जनाको नाम समावेश थियो ।  
 
प्रतिनिधि मण्डलले नेपाली क्रिकेटमा देखिएका सबै विवादित विषयबारे क्रिकेटसंग जोडिएका विभिन्न पक्षसंग छलफल गर्ने छ । राष्ट्रिय खेलकुद् परिषद् राखेपका प्रेस सल्लाहकार रोहित दाहालले क्रिकेटसंग सम्बन्धित सबै पक्षहरुसंग छलफल हुने बताए । उनले भने, ‘मुख्य गरेर अहिले क्यान सक्रिय  नभएकाले राखेप सदस्य सचिवसंग छलफल हुन्छ । यस्तै, स्टेक होल्डर तथा क्रिकेटसंग जोडिएका सबै पक्षहरुसंग छलफल हुनेछ ।’ तदर्थ समिति र गएको पुसमा साधारण सभा गरेर क्यान गठन गरेको चतुरबहादुर चन्द पक्षसंग समेत आइसीसी प्रतिनिधि मण्डलले छलफल गर्ने छ । 
 
साधारणसभाबारे छानविन सहितको छलफल हुन्छ  : प्याकुर्‍याल
गएको पुसमा भएको साधारणबाट निर्वाचित क्यान महासचिव अशोकनाथ प्याकुर्‍यालले आफुहरुसंग मंगबारै आइसीसीको टोलीले कुरा गर्ने बताएका छन् । हाम्राकुरासंग उनले भने, ‘हामीसंग मंगलबार (भोली) नै कुरा हुन्छ । कुराकानी गर्ने भन्ने तय भइसकेको छ ।’
 
अनि तपाईहरुले सर्वोच्चमा दर्ता भएको मुद्दाबारे चै छलफल हुन्छ कि हुँदैन ? जवाफमा उनले भने, ‘त्यो भन्दा पनि पत्रमा हामीलाई भनिए अनुसार गएको पुसमा भएको साधारण सभाबारे छानविन एवं सोधपुछ सहितको छलफल हुने कुरा छ । चुनाव कसरी भो ? के भो ? भन्नेबारे कुरा हुन्छ । हामी मात्र होइन सबैपक्षसंग भएको कुराका आधारमा बन्ने प्रतिवेदन टोलीले बोर्डमा पेश गर्ने कुरा होला ।’ बोर्डले कँही कतैबाट हस्तक्षेप हुने नहुने अवस्था आयो भने चाँडै क्यान निलम्बन फुकुवा गरेर विकल्पको बाटो दिन्छ होला ।
 
आफुहरुलाई वैधानिकता दिन भन्दै चन्द समूहले सर्वोच्चमा दर्ता गराएको मुद्दाको पेशी पटक–पटक सर्दै आएको छ । मुद्दा अझै विचाराधिन छ । 
 
सरकार प्रमुखलाई भेट्ने टोलीको योजना 
नेपाल आएको आइसीसी प्रतिनिधि मण्डलले सकभर सरकार प्रमुखलाई भेट्ने योजना बनाएको छ । यद्यपि, वर्तमान सरकार काम चलाउ भएकाले सरकारी अधिकारीहरुसंग मात्रै परामर्श गर्न सक्ने समेत बताइएको छ । 
 
चारदिने नेपाल बसाइका क्रममा टोलीले विवादित दुई क्रिकेट संघका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद, नेपाल सरकारका प्रतिनिधि र सम्भव भएसम्म सरकार प्रमुखलाई भेट्ने योजना बनाएको बताइन्छ ।
 
तर, राखेपले भने सरकार काम चलाउ भइसकेकाले राखेप लगायत केही सकारी अधिकारीसंग मात्रै छलफल हुन सक्ने जनाएको छ ।  नेपाल क्रिकेट संघ क्यान आइसीको निलम्बनमा परेपछि स्वन्त्र क्यानको सम्भाव्यताबारे अध्ययन गर्न आइसीसीको प्रतिनिधि मण्डल नेपाल आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ