रोल्पा। हिजो साझदेखि निरन्तर परेको वर्षाका कारण रोल्पा जिल्लाको उवा ६ ठूलोगाउँ स्थित इलाका प्रहरी कार्यालय सहित करिव १ सय ५० घर पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
लगातार भएको बर्षात्का कारण करिव २ सय मिटर माथिबाट ढुंगा माटो खसिराखेको र ठूलो पहिरो पनि आउन सक्ने संभावना बढेपछि त्यहबाट करिव ५ सय मिटर पूर्वमा रहेको भानुभक्त माध्यमिक विद्यालयमा प्रहरी र स्थानीय बासीहरु सुरक्षित रुपमा बसेको प्रहरी निरिक्षक केशबबहादुर बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार हाल सम्म जिल्लामा कुनै किसिमको मानवीय क्षती भएको छैन भने भौतिक क्षतीको बिबरण आउने क्रम जारी छ ।
त्यस्तै रुोल्पा जिल्लाका छुट्टा छुट्टै स्थानमा ४ वटा बाख्रा, २ वटा गाई, एउटा पाडो, एउटा बाच्छो र एउटा भैसी मरेको प्रहरी निरिक्षक केशवबहादुर बस्नेतले जानकारी दिए ।उनका अनुसार बडाचौर ३ ठूलो नम्जा रोल्पाका देबेन्द्र रोका क्षेत्रीको घर पहिरोले पुरिदा २ वटा बाख्रा , एउटा बाच्छो र एउटा गाई मरेका छन् ।
त्यसैगरी सिर्प गाविस वडा नं. ७ रोल्पाका यमबहादुर जिसीको घर र गोठ पहिरोले पुरिदा एउटा भैसी, एउटा पाडो र २ वटा बाख्रा मरेका छन् । जैमाकसला ५ का देविलाल पुनको एउटा गाई पहिरोले पुरिएर मरेको छ ।