- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कोरोना भाइरसको नयाँ ओम्रिकोन भेरियन्टको त्रासमा इजरेलले सबै विदेशी नागरिकहरूका लागि आगमनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नफ्ताली बेनेटले सरकारी स्वीकृति बाँकी रहेको प्रतिबन्ध १४ दिनसम्म रहने बताएका हुन् ।
स्वीकृत भएसँगै आइतबार राति यो सोमबार रातिदेखि लागु हुने गरी १४ दिनका लागि विदेशी नागरिकको आगमनमा प्रतिबन्ध रहने छ । यस समयावधिमा नयाँ भेरिअन्ट कति खतरनाक छ भन्ने जानकारी आउने विश्वास अधिकारीहरूले गरेका छन् ।
झनै सङ्क्रामक र घातक हुन सक्ने आशङ्का गरिएको ओमिक्रोन भेरियन्ट फैलिन डरमा विश्वभरकै नागरिकलाई आगमन प्रतिबन्ध गर्ने पहिलो मुलुक इजरेल बन्न लागेको हो ।
यसअघि अमेरिका, बेलायत, क्यानडा, युरोपेली मुलुक र इजरेलले समेत विभिन्न अफ्रिकी देशबाट आगमनमा प्रतिबन्ध लगाइसकेका छन् ।
दक्षिण अफ्रिकामा सुरुमा देखिएको ओमिक्रोन अहिले बेल्जियम, बोत्सवना, हङकङ, बेलायत, इजरायल, जर्मनी र इटाली गरी ७ देशमा देखा परिसकेको छ ।
झन्डै ५० वटा उत्परिवर्तन देखिएको यो भेरियन्ट कति खतरनाक छ र खोपले कति काम गर्छ भन्ने जानकारी आउन अझैँ केही दिन लाग्ने बताइएको छ ।