कपिलवस्तु । भीषण वर्षासंगै वाणगंगा नदीमा आएको बाढीले जिल्लाका एक दर्जन गाविसका सात हजार बढी घर डुवानमा परेका छन् । सोमवार राति देखिको अविरल वर्षापछि नदीमा पानीको बहाव बढे पछि दजनौ गाउँ डुबानमा परेका हुन् ।
बाणगंगा नगरपालिका–१३ मा पर्ने आधा दर्जन बस्तीहरु, कपिलवस्तु नगरपालिकाको तिलौरी, धनकौलीको देवपुरा, बिजगौरी, बलरमवापुर, सौराहाको अकबरपुर, कजराहवाको सिग्राहा, कठौनिया र सोनवर्षा, सिहोखोरको खोरिया, हदौना लगायतका गाउहरु डुबानमा परेको प्रहरी उपरीक्षक विष्णु कुमार केसीले बताए ।
बाढीले सयौँ चौपायहा समेत बगाएको छ । सोमबार बिहान बाणगंगा नगरपालिका– १३ मा पर्ने कोइली वनगाईका २ सय बढी घर, भग्लापुरका ७०, धरौनीका ६५, बाडैगाउका ७०, मोतिवपुर डाडा, भलवाडका ५५ घर डुबानमा परेका छन् ।
बाणगंगाको पुल छेउमा रहेका २ घर बाढीले बगाएको छ । यस्तै चार नम्बर जीतपुर र ईलाका वन पिपरा समते डुबेको छ । नदीको पानी समेत बस्तीमा पसेको थियो ।
विहान ५ बजेपछि एक्कासी बाढी आउँदा नदीआपपास घरमा रहेका घरहरु पूर्ण डुवानमा परेको स्थानीय हरि अधिकारीले बताए । घर डुबानमा परे पछि स्थानीय ज्यान जोगाउन छतमाथी बसेका थिए । उनीहरुलाई नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले सकुसल उद्धार गरेको थियो ।
डुवानमा फसेका ५५ बढीको सकल उद्धार गरिएको प्रहरी उपरीक्षक केसीले बताए । अविरल वर्षा र डुवानले त्यस क्षेत्रका विद्यलाय समेत बन्द गरिएका छन् । यसैगरी भृकुटी नगरपालिका क्षेत्रमा पर्ने गुडरुङ्ग खोलाको बहाव उच्च भई नदी पुल माथिबाट पानी बगेको छ ।
पानी पुलमाथि आएपछि पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ । उता, बाढीले बगाएर ल्याएको दाउरा खोज्न हिडेका बेला नदीमा फसेका ६ जनालाई धनकौली गाबिसको मोतिनगरको दैवी प्रकोप उद्धार टोलीले सकुसल उद्धार गरेको छ ।
विहान ६ बजे देखि ६ जना युवाहरु रुखमा चढेर बसेका थिए । मोतिनगरका एक दजर्न युवाहरुको टोलीले ज्यान जोखममा हारेर उनीहरुलाई ६ घण्टा पछि उद्धार गरी परिवारको जिम्मा लगाईएको उद्धार दलका संयोजक गंगा सागर केवटले बताए । कपिलवस्तु नगरपालिका – १८ रुधौलाका शिव केवट, रामचन्द्र केवट, राजेन्द्र बिश्वकर्मा, बब्लु केवट, संदीप हरिजन र शिव चन्द्र कहारको उद्धार भएको हो । प्रहरी प्रशासनले उद्धारमा आफुहरुलाई खासै सहयोग नगरेको उद्धार टोलीका सदस्य रामु यादवले गुनासो गरे ।
नदीको बाहाव रामघाट, बिजगौरी र बर्गदीघाटमा रहेको पुलको माथिल्लो भाग सम्म पुगेको थियो । वाणगंगा नदीले विहान जिल्लाको उत्तरी भेगमा डुवान गरेकोमा दिउँसो दक्षिणी गाविसमा उत्पात मच्चाएको छ । अहिले कजराहवा, खोरिया र हदौना गाउमा नदी पसेको छ ।
उता, भारतीय बाँध बझाहा र महलीसागर बाधको फाटक भारतीय पक्षले बन्द गरेकाले एक दर्जन दक्षिणी गाविसहरु डुवानको खतरामा परेका छन् ।
साझ पख कपिलवस्तु नगरपालिका वडा नं १४ का गोपालपुर, पिपरी वाट दक्षिणका आधा दर्जन गाविसमा वाणगंगा नदीको बाढी पसेको छ । जसका कारण अहिले गोटिहवा, सिसहोखोर सौराहा, बौदौली, सोमडिह गाविसका सबै गाउ डुवानमा परेका छन् ।