arrow

ओमिक्रोन भेरियन्ट : विश्व तर्सियो, नेपालमा 'मतलब' छैन

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ मंसिर १३ सोमबार
corona-omicron-nepal.jpg

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका १५ देशमा फैलिसकेको छ । ४१ बढी देशले ओमिक्रोन भेटिएका मुलुकहरू एवं अफ्रिकी मुलुकहरूबाट यात्रामा प्रतिबन्ध लगाइसकेका छन् । जापान र इजरेलले भने मङ्गलबार (भोलि) देखि सबै देशका नागरिकहरूको आगमनमा रोक लगाएको छ । अमेरिका, क्यानडा, बेलायत जस्ता मुलुकहरूले समेत थुप्रै देशहरूमाथि यात्रामा प्रतिबन्ध लगाउनुका साथै ओमिक्रोन नियन्त्रण गर्न कडाइका साथ लागिसकेका छन् ।

तर नेपालमा भने नयाँ भेरियन्टको त्रासलाई लिएर सरकारले खासै पहल चालेको देखिएको छैन । आइतबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को नियमित बैठक बसे पनि बैठकले कुनै नयाँ ठोस कदम चाल्न पहल गरेको छैन । 

प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा बसेको बैठकमा ओमिक्रोन भेरियन्ट देखिएका केही अफ्रिकी मुलुकबाट यात्रामा प्रतिबन्ध लगाउने विषयमा सामान्य छलफल भएको थियो ।

यस्तै ओमिक्रोन भेरियन्ट देखिएका देशहरूबाट आउने नागरिकहरूलाई क्वारेन्टिन राख्ने, परीक्षण गर्ने विषयमा पनि सामान्य छलफल मात्रै भएको छ । यही नै गर्ने भन्ने निश्चित पहल चालिएको छैन ।

सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बैठकमा यात्रा प्रतिबन्ध गर्न क्वारेन्टिनमा राख्ने एवं कडाइ गर्ने विषयमा छलफल भएको जानकारी दिइन् । यद्यपि ठोस निष्कर्ष भने बैठकमा अहिले नभएको उनले बताइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि ओमिक्रोन भेरियन्ट फैलिएपछि कुन किसिमले अघि बढ्ने भन्ने तयारी भएको देखिन्न ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चेतनात्मक सूचना एवं निर्देशन दिने र पहिला झैँ स्वास्थ्य मापदण्ड पालना गर्न भनिरहेको जानकारी दिए । यद्यपि कुन देशबाट आउने नागरिकलाई कसरी व्यवस्थापन गरिनुपर्छ, कुन देशबाट यात्रामा प्रतिबन्ध लगाउनेजस्ता विषयमा कुनै प्रस्ताव मन्त्रालयले अघि सारेको छैन । यस किसिमको कुनै पहल अहिले चालिएको बारे आफूलाई जानकारी नभएको उनले बताए ।

सोमबार नियमित बस्ने मन्त्रिपरिषद्को बैठकबाट ओमिक्रोनको सङ्क्रमण नियन्त्रण गर्ने विषयमा कुनै निर्णय होला कि भन्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ । 

तर सीसीएमसी र स्वास्थ्य मन्त्रालयबाट कुनै देशबाट यात्रामा प्रतिबन्ध लगाउने वा ओमिक्रोन भेरियन्ट देखिएका देशबाट आउने नागरिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने किसिमको कुनै पनि प्रस्ताव मन्त्रिपरिषद्लाई भने गरिएको छैन ।

स्वास्थ्य मन्त्रालय र सीसीएमसीबाटै ओमिक्रोन भेरियन्टको संक्रमण नियन्त्रणका लागि कुनै ठोस निर्णय एवं प्रस्ताव अघि नबढ्दा मन्त्रिपरिषद् आफैंले केही गर्छ भनेर भन्न सकिने अवस्था भने छैन ।

‘सीसीएमसीका संयोजक प्रधानमन्त्री कार्यालयकै सचिव न्यौपाने भएका कारण त्यहाँबाटै कुनै प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस हुन्छ कि भन्ने छ’, एक स्वास्थ्य अधिकारीले भने । 

सीसीएमसीको बैठकबाट कुनै ठोस निष्कर्ष ननिक्लेका कारण संयोजक न्यौपानेबाट मात्रै कुनै प्रस्ताव अघि बढ्छ भन्न सकिने अवस्थासमेत देखिँदैन ।

ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा पनि बढी सङ्क्रामक र घातक हुनसक्ने चिन्ता विज्ञहरूले गरेका छन् । स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिका हुँदै नेपाल आउने नागरिकले अनिवार्य रूपमा क्वारेन्टिन बस्नुपर्ने, परीक्षण गर्नुपर्ने र जी सिक्वेन्सिङ गर्नुपर्ने निर्देशन दिँदै कडाइका साथ कार्यान्वयन गर्न भनेको छ ।

यस्तै गृह मन्त्रालयले दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ । आइतबार गृहले अध्यागमन विभागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र सीमा क्षेत्रमा रहेका प्रशासन कार्यालयहरूलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरूलाई प्रवेशमा रोक लगाउन निर्देशन दिएको हो । 

तर कूटनीतिक, सरकारी र आपत्कालीन काममा खटिएका कर्मचारीहरूलाई भने प्रवेशमा रोक लगाइने छैन । दक्षिण अफ्रिकाबाट नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या निकै रहनुका साथै त्यहाँ प्रत्यक्ष उडान पनि छैन । 

ओमिक्रोन अन्य १५ देशमा फैलिसकेका कारण ती सबै देशबाट आउने नागरिकहरूको हकमा कडाइ गर्न आवश्यक देखिन्छ । यसका लागि कुनै सरकारी निकायबाट ठोस पहल भएको देखिँदैन । 

कोरोना भाइरसको शुरुआती चरणमा हचुवाका भरमा निकै कडाइ गर्न खोजियो । भाइरस छिर्न सक्ने मुख्य द्धार बन्द गर्न नखोजेर घरभित्रका ठाउँमा कडाइ गरियो । जसले गर्दा लामो समय घरभित्र थुनिनु पर्दा सर्वसाधारणले बिस्तारै लकडाउन तोडे । सरकारले पनि केही गर्न सकेन ।

अहिले पनि त्यही गल्ती दोहोर्याउनु भन्दा प्रवेश द्धारमा कडाइ गरेर अन्य क्षेत्रमा सावधानी अपनाउने हो भने यो ओमिक्रोनको असर कम पर्न सक्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ