काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको विधिवत महाधिवेशन, भागबण्डाको खारेजीलगायतका माग राखेर रिले अनसनमा रहेका नेविसंघका कार्यकर्ताप्रति माउ पार्टी नेपाली काँग्रेसले बेवास्ता गरेको छ । गत आइतबारदेखि पार्टी मुख्यालय सानेपामा अनसनरत विद्यार्थी कार्यकर्तालाई भेट्न अहिलेसम्म केन्द्रीय तहका एक जनामात्र नेता पुगेका छन् । मंगलबार गुरुराज घिमिरेमात्र पुगेको अनसनकारीले जनाएका छन् । नेबिसंघका केन्द्रीय अध्यक्ष समेत भइसकेका घिमिरे पार्टीले नेबिसंघका महाधिवेशन गर्न बनाएको पार्टीको निर्देशन समितिका सदस्य समेत हुन्। त्यस्तै केही जिल्लाका सभापतिहरु अनसनस्थल पुगे पनि महत्वपूर्ण पद ओगटेर बसेका नेताहरु भने नपुगेको गुनासो गरिएको छ ।
नेविसंघको महाधिवेशन यही साउन २३–२५ गते काठमाडौंमा हुँदैछ । तर त्यसका लागि तयारी भएको छैन । अहिलेसम्म ६४ जिल्लाबाटमात्र महाधिवेशन प्रतिनिधि छानिएको छ । त्यसमा पनि १३ जिल्लाका प्रतिनिधि आफूखुसी बाँडिएको भन्दै असन्तुष्ट पक्षले पुनः छनोट हुनुपर्ने माग गरेको छ । त्यस्तै ११ जिल्लामा अधिवेशन नै हुन सकेको छैन ।
अनसनमा बसेका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले भने पार्टीले विधिसम्मत महाधिवेशन गराउन चाहने हो भने यी सबै जिल्लाको छनोट पाँच दिनभित्रै सकिने छ । त्यसैले पनि महाविधेशन अझै टरेको छैन । तर त्यसका लागि काँग्रेस नेतृत्वमा भर पर्ने अनशनरत अर्का विद्यार्थी नेता डिल्लीराम सुवेदीले बताए।
आइतबारदेखि सुरु भएको रिले अनसनको पहिलो दिन अनसनका नेतृत्वकर्ता नेविसंघ कोषाध्यक्ष कुन्दनराज काफ्लेको नेतृत्वमा ११ जना बसेका थिए। त्यसयता हरेक दिन बिहान ११ बजे ११ जना बस्दै आएका छन् । सोमबार केन्द्रीय सदस्य बलदेव तिमल्सिनाको नेतृत्वमा, मंगलबार केन्द्रीय सदस्य तुलसा पन्तको नेतृत्वमा तथा बुधबार पूर्व केन्द्रीय सदस्य एलबी कार्कीको नेतृत्वमा रिले अनसन बस्ने सुवेदीले जनाए।
नेविसंघसहित काँग्रेसले छ वटै भ्रातृसंस्थाको अधिवेशन गर्नुपर्नेछ । तर यही गतिले जाने हो भने कुनै भ्रातृ संस्था पूर्ण हुने देखिंदैन् । यदि काँग्रेसले साँच्चिकै युवा विद्यार्थी दस्तालाई अगाडि बढाउने हो भने सबै संघका अधिवेशन गराउनु नै बुद्धिमता ठहरिने छ।