- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । बाँकेमा श्यामकृष्ण अधिकारी एसपीका रूपमा सरुवा भएर आएपछि फरार प्रतिवादीहरू धमाधम पक्राउ परेका छन् । एसपी अधिकारी आएयता हालसम्म १०७ जना फरार प्रतिवादी पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । असारमा एसपी अधिकारीले बाँकेको सुरक्षा कमाण्ड सम्हालेका थिए । उनी आएको पाँच महिनामै यो सफलता मिलेको हो ।
उनी आएकै महिनामा १० जना फरार प्रतिवादी पक्राउ परे । त्यसमा बैंकिङ्ग कसुरका ३ जना, लेनदेनका ३, चोरीका २ तथा वन र जबरजस्ती करणीका १/१ जना थिए । साउनमा यो सङ्ख्या बढेर तेब्बर पुग्यो । साउनमा पक्राउ पर्ने फरार प्रतिवादीको सङ्ख्या ३२ पुगेको थियो । त्यसमा चोरीका १५, लागू औषध, लेनदेन, चेक अनादरका ३/३ जना, सवारी ज्यान २ तथा बैंकिङ्ग कसुर, नकबजनी चोरी, आगलागी, वन, बाल यौन दुराचार, अभद्र व्यवहार र हातहतियार खरखजनाका १/१ जना प्रतिवादी पक्राउ परेका हुन् ।
यस्तै एसपी अधिकारी आएको तेस्रो महिना भदौमा पनि २० जना फरार प्रतिवादी पक्राउ परे । त्यसमा चेक अनादर ५, बैंकिङ्ग कसुर, चोरी, कुटपिट र सवारी ज्यानमा २/२ जना तथा ज्यान मार्ने उद्योग, लागू औषध, मानव बेचबिखन, जबरजस्ती करणी, आगलागी, गोवध र वैदेशिक रोजगार मुद्दामा १/१ जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले उपलब्ध गराएको तथ्याङ्क अनुसार असोज महिनामा पनि १६ जना फरार प्रतिवादी पक्राउ परेका थिए । त्यसमा जबरजस्ती करणी मुद्दामा ६ जना, लागू औषध, वन्यजन्तु ओसारपसार र सार्वजनिक अपराधमा २/२ जना पक्राउ परे । त्यस्तै बन, चोरी, सवारी ज्यान र बहुविवाह मुद्दाका १/१ जना पक्राउ परेका थिए ।
कार्तिक महिनामा १८ जना फरार प्रतिवादी पक्राउ परेका थिए । त्यसमा लागू औषधका ४ जना, चोरी, लेनदेन, चेक अनादर, हेलचक्र्याइँ गरी कर्तव्य ज्यान र बाल यौन दुर्व्यवहार २/२ तथा ज्यान मार्ने उद्योग, सवारी ज्यान, घरेलु हिंसा र रेडपाण्डा मुद्दाका १/१ जना फरार प्रतिवादी पक्राउ परेको बाँके प्रहरीले जनाएको छ । यस्तै मङ्सिर महिनाको हालसम्म ११ जना पक्राउ परेका छन् । त्यसमा बन र गोवधका २/२ जना तथा चोरी, कुटपिट, लागू औषध, लेनदेन, चेक अनादर, पुनः चलन र अभद्र व्यवहारमा १/१ जना पक्राउ परेका छन् ।
बाँके प्रहरी प्रमुख एसपी अधिकारीले बाँके प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई प्राथमिकतामा राखेर अभियानकै रूपमा अगाडि बढाएको बताए ।