arrow

भारतको ईशारामा प्रचण्ड प्रधानमन्त्री बन्दैछन् : प्रदिप ज्ञवाली

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
pradip gyawali.jpg.jpeg
काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा कुनै हालतमा एमाले सहभागी नहुने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले भने,‘‘एमाले नयाँ सरकारमा कुनै हालतमा सहभागी हुँदैन्, व्यक्तिले के भन्छ त्यो मतलवको विषय होईन् ।’’ उनले एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा बस्ने स्पष्ट पारे । 
 
साक्षात्कारमा ज्ञवालीले मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमलाई आफूहरुले नजिकबाट नियाँलिरहेको उल्लेख गर्दै भने,‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको प्रधानमन्त्री बन्ने हो, तर भारतीय मिडियाहरुमा जुन प्रतिक्रियाहरु आईरहेका छन्, त्यसले देशको हुर्मत काटेको छ ।’ 
 
यद्धपी उनले यसबारेमा आफूले बोल्न नमिल्ने भएपनि बाध्यता भएर टिप्पणी गरेको दाबी गरे । उनले अघि थपे,‘माओवादीले यसबारेमा बोल्नुपर्ने हो, तर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, दुःख लाग्दो कुरा छ ।’ उनले नेपाललाई दीर्घकालिन अहित हुने एजेण्डा बोकाएर प्रचण्डलाई स्खलित गर्ने काम त कतै भैरहेको छैन भन्नेमा आफूलाई चिन्ता लागेको बताए । 
 
उनले नयाँ सरकार गठनसँगै फेरि नेपाललाई एकपक्षीय भारतसँगको निर्भरतामा धकेलिन लागेको आशंका व्यक्त गरे । उनले आफ्नो पार्टी संविधानको कार्यान्वयन, समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने, संविधानको सर्वस्विकार्यताको लागि मधेशकेन्द्रित दलहरुको असन्तुष्ट माँगहरुलाई संशोधन मार्फत हल गर्ने, सन्तुलित अन्र्तराष्ट्रिय सम्बन्ध कायम गर्ने लगायतका महत्वपूर्ण विषयहरुमा जिम्मेवार भएर लाग्ने र सरकारलाई झकझकाउने काममा रचनात्मक भूमिका निर्वाह गर्ने दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका विकासका योजनाहरुलाई नयाँ बन्ने सरकारले निरन्तरता दिने वा नदिनेबारे आफ्नो पार्टीले नजिकबाट नियाँल्ने समेत उनको दाबी थियो । नेपालको राजनीतिक घट्नाक्रमलाई लिएर छिमेकी राष्ट्र चीनले जारी गरेको पछिल्लो विज्ञप्ती स्वभाविक रहेको ज्ञावलीको भनाई थियो । उनले भने,‘एउटा छिमेकी सरकार परिवर्तन भएपनि दुई देशवीचको सम्बन्धमा कुनै असर पर्दैन भन्छ, अर्को चाहीँ सरकार परिवर्तन भएसँगै दिपावली गरिरहेको छ ।’
 
नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले एक हप्ताभित्र माओवादी अध्यक्ष प्रचण्डका नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरे । उनले अघि थपे,‘सबै प्रक्रिया पूरा भएर एक हप्ताभित्र नयाँ सरकार गठन हुन्छ, यसमा कुनै शंका नै छैन् ।’ काँग्रेस र माओवादी केन्द्रवीच ७ बुँदे सहमति र सरकारको विरुद्धमा अघि सारिएको ७ बुँदे सार्वजनिक भएको उल्लेख गर्दै नयाँ सरकारले सोही अनुरुप आफ्नो कार्यभार बनाउने उनको दाबी थियो । 
 
पछिल्लो नेपालको राजनीतिक घट्नाक्रमलाई लिएर चीनले जारी गरेको विज्ञप्ती स्वभाविक चासोको रुपमा आफूहरुले लिएको उनले बताए । उनले अघि थपे,‘चीनले यसरी चासो व्यक्त गर्नु स्वभाविक हो, यसलाई काँग्रेसले आन्तरिक हस्तक्षेपको रुपमा लिने कि के गर्ने भन्ने कुरा आफ्नो ठाउँमा छ, यो हाम्रो आन्तरिक राजनीतिक अवस्थाले गर्दा चासो उत्पन्न हो, भारतलाई गाली गरेरमात्रै नेपालको समस्या समाधान हुँदैन् ।’
 
नयाँ सरकारले स्वभाविक रुपमा आन्दोलनरत मधेशी मोर्चाका मागहरुलाई सम्बोधन गर्नेगरि काम गर्ने उनको विश्वास थियो । उनले अघि थपे,‘एमालेको नेतृत्वको सरकारले मधेशीलगायत विभिन्न असन्तुष्ट पक्षहरुको आवाजलाई सुन्नै चाहेन, बरु दुश्मनीको रुपमा लियो, चिसोपना बढायो, हामी अत्यन्तै संयममित भएर उहाँहरुको मागलाई कसरी हल गर्न वा सम्बोधन गर्न सकिन्छ भनेर लागिपरेका छौं, सम्भवतः हामी उहाँहरुको माग पूरा गराउन सफल हुन्छौं ।’ उनले केपी ओली नेतृत्वको सरकारले मधेशीलाई विदेशी देखेको समेत गुनासो पोखे । 
 
विश्वकर्माले मधेशी मोर्चाले अघि सारेका मागहरु नयाँ सरकारले तीन चरणमा पुरा गर्ने जनाए । उनका अनुसार पहिलो चरणमा संविधान संशोधन मार्फत सम्बोधन गर्ने, दोस्रो चरणमा राजनीतिक आन्दोलनले उब्जाएका समस्याहरुको समाधान गर्ने, र तेस्रो चरणमा न्यायिक छानविन समिति गठन गर्ने रहेको छ । 
संविधान कार्यान्वयन, तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्ने र मुलुकलाई आर्थिक समृद्धिकोलागि सबै राजनीतिक दलहरुवीच सहमति, सहकार्य र एकता गर्दै अघि बढ्ने विश्वकर्माले विश्वास दिलाए । 
 
नेकपा माओवादी केन्द्रका नेता मणि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा आवश्यकत्ता भएको उल्लेख गर्दै आफ्नो पार्टीको नेतृत्वमा बन्ने नयाँ सरकारले अन्र्तराष्ट्रिय शक्ति सन्तुलन कायम गर्ने, संविधान कार्यान्वयन चुस्तदुरुस्त गतिमा अघि बढाउने, आन्तरिक लोकतन्त्रलाई बलियो पार्ने, शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउने, भुकम्पपीडितलाई राहत र पूर्ननिर्माणको कार्यलाई सम्पन्न गर्ने र तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने दाबी गरे । 
 
थापाले अब बन्ने सरकार सबै वर्ग, जाति र पिछडीएको क्षेत्रका समूदायहरुलाई समेत अपनत्व हुने विश्वास व्यक्त गरे । प्रमुख राजनीतिक दलहरुले यतिवेला सरकार बनाउने काममा भन्दापनि बाढिपहिरो पीडितलाई राहत दिने काममा लाग्नुपर्ने सुझाव दिए । त्यस्तै नयाँ सरकारमा सबै दलहरु सहभागी भएर मुलुकमा सुशासन हुने उनको दाबी थियो । 
 
त्यस्तै संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले आफूहरुको लागि सरकार महत्वपूर्ण नभएको स्पष्ट पारे । उनले भने,‘ हाम्रो लागि सरकार महत्वपूर्ण होईन, हाम्रा मुद्दा नै ठूलो कुरा हो ।’ उनले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले अघि सारेका मागहरु सम्बोधन गर्ने लिखित प्रतिबद्धता आएमात्रै नयाँ बन्ने सरकारलाई सहयोग गर्ने दाबी गरे । गठबन्धनले अघि सारेको २६ बुँदे मुद्दा सम्बोधन गर्नुपर्ने उनको भनाई थियो । 
 
केपी शर्मा ओलीको मधेशको मुद्दालाई हेर्ने दृष्टिकोणलाई आफूहरुले विरोध गरेको राउतको भनाई थियो । उनले थपे,‘काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा हाम्रा मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुपर्छ, अनिमात्रै हामी सरकारमा सहभागी हुन्छौं ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ