arrow

कारवाही हुने डरले विदेशबाट आँउदा यात्रुले काँचो सुन ल्याउन छाडे

विभागले काँचो सुन ल्याउन लगाएको प्रतिबन्ध सफल कार्यान्वयन तिर

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
airport-cargo.jpg.jpeg
काठमाडौं। भन्सार विभागले आर्थिक वर्ष २०७३/७४ को सुरूदेखि गरेको निजी गुन्टा झिटी भारी आदेश को नयाँ व्यवस्थाको कार्यान्वयन पक्ष सफल तर्फ उन्मुख देखिएको छ। नेपाल सरकारले बिदेशबाट स्वदेश फर्किदा ५० ग्राम गरगहना बाहेक काँचो सुन बोकेर ल्याउन साउन १ गते देखि प्रतिबन्ध लगाएको थियो। 
 
सो व्यवस्था अन्तर्गत् ११ दिनसम्ममा पहिलो तीन दिन केही यात्रुबाट पुरानै नियम अनुसार सुनचाँदी ल्याएको भेटिएपनि त्यसपछिका दिनहरूमा यस्तो नदोहोरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ । नियम थाहा नपाई काँचो सून बोकेर आएका यात्रुहरुबाट सून जफत भएको तथा उनीहरु धरौटी तिरेर मात्र रिहा भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
 
भन्सार विभागले सुनचाँदी सँगै अन्य ५ बस्तुमा परिवर्तन गरेको व्यवस्था गत जेठ २५ गते राजपत्रमा प्रकाशित गरी निजी गुण्टा झिटी भारी आदेश नियम अन्तर्गतको सुनचाँदी र मदिरा सम्बन्धी नियम विपरित पहिलो दिन ३ जना दोस्रो दिन १ जना र तेस्रो दिन दुई जनालाई सो नियमविपरित सुनचाँदी आयात गरेको आरोपमा कारबाही गरिएको भन्सार कार्यालय प्रमुख लोकेन्द्र गौचनले जानकारी दिए। 
 
भन्सारको नियमले नै १० लाखसम्मको सामान आयात गरेको खण्डमा सामान जफत गरी धरौटीमा रिहागर्ने र सो भन्दा माथिको सामान गैरकानूनी रूपमा ल्याएको खण्डमा प्रहरीको जिम्मा लगाई जेल चलान गर्ने कानुनी प्रावधान  रहेको छ।
 
विभागले पर्याप्त प्रचारप्रसार गरेका कारण बिदेशबाट स्वदेश फर्किने अधिकाशं यात्रुहरुले थाहा पाएका कारण परिर्वतिन नियमबाट पछिल्लो समय कारवाही नपरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख योगेन्द्र गौचनले जानकारी दिए । गौचनले भने ‘हामीले देश तथा विदेशमा समेत यसको विषयमा व्यापक प्रचारप्रसार गरेकोले पनि सुन प्रतिबन्धको कुरा सबैलाई जानकारी भएको हो।
 
यसरी परिवर्तन भएको व्यवस्था अन्तर्गत् विभागले काँचो सुनमा प्रतिवन्ध लगाएको छ। अब यात्रुहरूले प्रतिवन्धित काँचो सुन आयात गरेको खण्डमा ल्याईएका बस्तु जफत गरी कानून बमोजिम कारबाही हुने विभागले सबैमा सचेत गराएको छ। 
 
त्यस्तै गरी गहनाको सम्बन्धमा सुनका गहना ५० ग्रामसम्म, चाँदिका गहना ५०० ग्रामसम्म र जहवारत जडित गहना रु १ लाखसम्मको ल्याउँदा भन्सार महसुल नलाग्ने तर यस भन्दा बढी गहना ल्याउँन समेत रोक लगाईएको त्रिभुवन बिमानस्थल भन्सार कार्यालयले  जनाएको छ। यसरी कसैले गैर कानूनी रूपमा तोकिएको परिणाम भन्दा बढी सुन ल्याएको खण्डमा पनि उनीहरूको गैरकानूनी सुन जफत गरी कानून बमोजिम कारबाही गरिने हुनाले बिदेशबाट नेपाल आउदा सचेत रहन सबै यात्रुलाई आवह्रान गरेको छ।
 
विभागले लगत राखी गहना विदेश लैजाने र ल्याउने सम्बन्धमा सुनका गहना ५० ग्राम भन्दा बढी र चाँदीका गहना ५०० ग्राम भन्दा बढी विदेश लिएर जानु परेमा भन्सार प्रक्रिया पूरा गरी लगतमा राखी लैजान सक्ने व्यवस्था गरेको छ। यसरी गहना राखेको व्यक्तिले फर्किँदा आफूले राखेको लगतको विवरण भरे बराबरको गहना जाँचपास गरिने पनि प्रवक्ताले बताए।
 
अर्को तर्फ विभागले मदिराको हकमा पनि एक लिटरभन्दा बढी कुनैपनि व्राण्डको मदिरा नेपाल आउँदा आयात गर्न नपाउने व्यवस्था गरेको छ एक लिटरसम्मको मदिरामा भन्सार नलाग्ने र सो भन्दा बढी मदिरा ल्याएको खण्डमा कानून बमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ।
यसैगरी, टेलिभिजन ल्याउने सम्बन्धमा श्रम स्वीकृति लिएर विदेश गएका र कम्तिमा १२ महिना विदेशमा काम गरी, फर्केका नेपाली यात्रुले १ पटकका लागि ३२ इन्चसम्मको एउटा टेलिभिजन सेट महसुल नतिरी ल्याउन सक्ने व्यवस्था यही साउन १ गतेदेखि सुरू भएको छ। तर अन्य यात्रुले भने कानून बमोजिम महसुल बुझाउनु पर्ने पनि विभागले जनाएको छ।
 
वैदेशिक मुद्राको सम्बन्धमा अमेरिकी डलर ५००० वा सो बराबरको अन्य विदेशी मुद्रा भन्दा बढी नगदै आफू साथ लैजान नपाईने ब्यवस्था छ । सो परिणाम भन्दा बढी विदेशी मुद्रा आफू साथै ल्याउँदा भन्सार अधिकृत समक्ष घोषणा गरी प्रमाणित गराउनु पर्ने बताएको छ । तर नेपाली र भारतीय मुद्राको हकमा भने नेपाल राष्ट्रबैंकले तोके सरह हुने त्रिभुवन बिमानस्थल भन्सार कार्यालयले  जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ