arrow

दिपक भट्टराईको दावी, ' नेबिसंघमा म अंकल पुस्ताको होइन दाइ पुस्ताको हुँ'

'नत्र समानान्तर नेविसंघ नै चलाउने अवस्था आउन सक्छ'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ साउन १२ बुधबार
deepak-bhattarai.jpg.jpeg
विद्यार्थी कार्यकालदेखिनै नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा संलग्न रहेका दीपक भट्टराई संघका एक सक्रिय विद्यार्थी नेता हुन्। वि. सं २०५३ सालमा नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पस इकाइमा प्रवेश गरेका भट्टराई २०५५ सालमै स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव पदमा निर्वाचित भए। त्यसपछि क्रमशः २०५७ सालमा नेविसंघ त्रिचन्द्र इकाईको अध्यक्ष र २०६० सालमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति समेत बनेका भट्टराई २०६२ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति र २०६४ सालमा नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। तत्कालीन समयमा राजाको सवारी रोक्ने नाममा पहिलो पटक आन्दोलन दबाउन सेना प्रयोग गर्नुपर्ने स्थिती सम्म सिर्जना हुँदा उनी विद्यार्थी राजनीतिमै थिए। उनी बौद्धिक एवं सक्रिय राजनीतिका योद्धाको रूपमा चिनिन्छन्। भट्टराई आफू नेबिसंघको अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेको बताउँछन्। यसै शिलशीलामा केन्द्रित रहेर हाम्राकुरा डटकमका लागि सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंशः–
 
तोकिएको मितिमा महाधिवेशन हुनेमा चाहिँ तपाई कत्तिको आशाबादी हुनुहुन्छ? 
 
म यसमा आशावादी छु। किनभने यो निर्वाचन गर्ने कि नगर्ने भन्ने कुरा हामीहरूको मानसिकता र सोचाइमा भर पर्ने कुरा हो। नेविसंघकै साथीहरूले यो निर्वाचन हुनुहुँदैन भन्ने मानसिकता राख्छ भने यो निर्वाचन नहुन पनि सक्छ। तर हामी यो निर्वाचन जसरी पनि हुनुपर्छ। विद्यार्थी राजनीतिलाई विद्यार्थीले नै ताजा उम्मेदवार छान्न पाउनु पर्छ र संगठन गतिशील हुनुपर्छ भन्ने पक्षमा हामी छौं। यदि यो पटक पनि महाधिवेशन भएन भने संगठन दूर्घटनामा पर्छ। यो कुरा धेरैलाई थाहा भएकै कुरा हो त्यसैले पनि सबै जिम्मेवार बन्छन् र महाधिवेशन तोकिएकै मितिमा बन्छ भन्ने मलाई लाग्दछ।
 
तपाईँ पनि म जिम्मेवार छु अरू छैनन् भन्नुहुन्छ, अरूले पनि यस्तै भन्छन्। तर जिम्मेवार चाहिँ को छैन ? जसले यो निर्वाचन गर्न खोजिरहेको छैन? 
 
अब महाधिवेशन भनेको हामीले यस अघि विभिन्न संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्ने अवसर हो र माध्यम पनि। तर अहिलेको महाधिवेशनमा जिम्मेवारीपना देखाएन भनेर कसैलाई दोष दिने काम त नगरौं, यस्तो अवस्था पनि छैन। तर पनि हामी विद्यार्थीबीचमा विद्यार्थीको मन जितेर काम गर्ने भन्दा पनि आफू भन्दा माथिकाहरूको टीका लगाएर नेतृत्वमा पुग्ने प्रवृत्ति रहेकोले यस्ता तत्वहरूले चाहिँ महाधिवेशन हुन नदिने पक्षमा लागिरहेको हो कि भन्ने भान हामीलाई लागिरहेको छ। 
 
अनि तपाईँ चाहिँ विवादित जिल्लाको सवालमा ६४ जिल्ला फाइनल भईसकेको हो भन्ने पक्षमा हो? 
 
६४ जिल्लालाई आधार मानेर हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा हो। सबै जिल्लामा अधिवेशन विधिवत हुनुपर्छ भन्ने पनि हो । तर, अहिले हाम्रा साथिहरूले त्यो बाँकी ११ जिल्लामा चाहिँ संगठन प्रवेश नै गरेको छैन भन्ने हल्ला चलाएका छन्। तर, म यसमा सहमत छैन। ती जिल्लाहरूमा अधिवेशन भएको छ । कतिपय ठाउँमा महाधिवेशनको उद्घाटनसम्म पनि भईसकेको छ। कतिपयमा प्रतिनिधिको नामावली पनि टाँस गरिसकिएको छ। तर बाहिर हल्ला के आयो भने यहाँ विधिवत अधिवेशनको कुरा मात्रै गरिएको छ। यो त मिलाउने कुरा हो नी। अहिले गएर फेरि अधिवेशन सुरू गर्न चाहिँ म सम्भव देख्दिन। समय र अन्य कारणले पनि। 
 
अनि प्रतिनिधि छनोटदेखि अन्य सबै प्रक्रियामा आफ्ना मान्छे ल्याईयो भन्ने आरोप पनि त छनी?
 
नेविसंघ विधि र विधानबाट चल्ने संस्था हो। पहिले र अहिलेको त अझ फरक परिवेश छ। पहिले हामीले महाधिवेशन उदघाटन गरिसकेपछि प्रतिनिधिको विवाद मिलाउने र उम्मेदवारीको कुरा पनि टुङ्गो लगाउने गरिन्थ्यो। तर अहिले भनेको हामी फरक परिवेशमा भएकोले यो विषय अगाडि नै टुङ्ग्याउनु पर्छ भन्नेमा छौं। 
 
अबको महाधिवेशनमा तपाईँको उम्मेदवारी के मा ? 
मलाई साथीहरूले पत्याएको र साथीहरूको रोजाईमा परेको संगठनमा आफूले पाएको सफलता र आफ्नो क्षमताको आधारमा म सभापतिको लागि आकांक्षी छु। 
 
यति धेरै अध्यक्षका आकांक्षीहरूमा अरूको भन्दा कस्तो भिन्नता छ आफूसँग भन्ने तपाइसँग?
 
धेरैसाथीहरू यसका आकांक्षी बन्नुभएको छ। यो स्वभाविक पनि छ किनभने लामो समयसम्म आफ्नो क्षमता पोख्न नपाएका हामीहरू अध्यक्षको लागि आकांक्षी बन्नुमा मैले कुनै नौलोपना देखेको छैन। एउटा संगठनमा काम गरेपछि हामी अध्यक्ष बन्ने आकांक्षा सबैले राख्नु स्वभाविकै पनि छ। तर, म चाहिँ अरू मध्ये पनि आफूलाई स्वभाविक किन मान्छु भने म विद्यार्थीहरूको अंकल पुस्ताको होइन दाइ पुस्ताको मान्छे हुँ। त्यसैले पनि मेरो उम्मेदवारी एक हिसावले स्वभाविक मान्न सकिन्छ। अर्को कुरा त मेरो संघर्षशीलता र इमान्दारिताको राम्रो लेखाजोखा सबै साथीहरूले गरेका छन्। त्यसैले मेरो उम्मेदवारी अरूको भन्दा भिन्न रहेको छ। र साथीहरूले यसै कारणले गर्दा पनि मलाई सहयोग गर्नुहुन्छ भन्ने मैले सोचेको छु। 
 
म चाहिँ अरू मध्ये पनि आफूलाई स्वभाविक किन मान्छु भने म विद्यार्थीहरूको अंकल पुस्ताको होइन दाइ पुस्ताको मान्छे हुँ। त्यसैले पनि मेरो उम्मेदवारी एक हिसावले स्वभाविक मान्न सकिन्छ।
 
तपाईँको उम्मेदवारी अन्तिम समयसम्मको लागि हो कि वार्गेनिङ गरेर बीचैमा छोड्नुहुन्छ ?
 
म कुनै वार्गेनिङ गर्नको लागि उम्मेदवारीको नाटक गर्ने मान्छे होइन। म लोमो समय देश दौडाहमा पुगेर फर्किँदा मैले साथीहरूको मानसिकता बुझ्दा मलाई झनै बढी उत्साह थपिएको छ। मेरो पक्षमा कति धेरै साथीहरूको रूची र संलग्नता रहेको छ भन्ने देखेपछि त मेरो जित नै सुनिश्चित जस्तै भईसकेको छ। फिर्ता को त कुरै छाडौं। बरू हार्नु कुनै ठूलो कुरा होईन। तर अध्यक्षमा उम्मेदवारी दिन्छु भनेर उपाध्यक्ष महामन्त्रीमा उम्मेदवारी दिने काम मबाट हुँदैन। 
 
अध्यक्षमा तपाईलाई एउटा महाधिवेशन प्रतिनिधिले भोट हाल्ने किन ?
 
मेरो कार्य शैली र मेरो क्रियाशीलताको कारणले मलाई पहिलेदेखि नै साथीहरूले भोट हाल्दै आउनु भएको छ, पत्याउँदै आउनु भएको छ। म त्रिचन्द्र क्याम्पसको इकाई सदस्य भएँ। विभिन्न अन्य पदमा काम गर्दै स्ववियू सभापति पनि भएँ। के यो कसैले टीका लगाएर दिएको हो? स्ववियू सभापति कसैले टीका लगाएर पाईन्छ? यो त विद्यार्थीको मन जितेर आएको पद हो। त्यसैले मलाई सबै साथीहरूले मनपराउनु भएको छ त्यसैले मलाई नै भोट दिनुहुन्छ फेरि पनि भन्ने मलाई लाग्दछ। अर्को कुरा म विधिवत महाधिवेशन बन्दशत्र र सोही अनुसारको शान्तिप्रिय महाधिवेशन चाहन्छु। त्यस्तै अर्को समस्या के को छ भने नेपाली काँग्रेसले यो महाधिवेशनमा युवालाई न्याय गरेको छ। नेपाली काँग्रेसका युवानेताहरू अहिले छानीछानी महाधिवेशनबाट केन्द्रीय समितिमा आएका छन्।
 
नेविसंघ बुढापाकाले भरिएको छ। यसलाई हटाउनको लागि पनि मेरो उम्मेदवारी सहायकसिद्ध हुनेभएकोले पनि मलाई भोट आउँछ भन्ने मैले आशा राखेको छु। त्यस्तै अहिले नेविसंघका साथीहरूको शत्रु नेविसंघ नै बन्नेगरेका छन्। 
 
तर विडम्बना नेविसंघ बुढापाकाले भरिएको छ। यसलाई हटाउनको लागि पनि मेरो उम्मेदवारी सहायकसिद्ध हुनेभएकोले पनि मलाई भोट आउँछ भन्ने मैले आशा राखेको छु। त्यस्तै अहिले नेविसंघका साथीहरूको शत्रु नेविसंघ नै बन्नेगरेका छन्। पहिलेको प्रचलन भनेको के थियो भने नेविसंघलाई कसैले पूर्वको साथीलाई कुट्यो भने पश्चिमकालाई चिन्ता हुन्थ्यो तर अहिलेको परिस्थिती के भने भने कसैलाई अर्को संगठनको कसैले कुट्यो भने अर्कोले ताली बजाउने स्थिती बनेको छ। त्यसैले पनि यस्तो प्रवृत्तिलाई चिर्नको लागि मेरो उम्मेदवारीको आवश्यकता परेको हो। नेविसंघलाई अब रचनात्मक ढङ्गले अगाडि लैजानको लागि, नेविसंघलाई एकीकृत ढङ्गले लैजानको लागि पनि अब मेरो उम्मेदवारी र नेतृत्व आवश्यक परेको छ। आन्दोलनको नाममा तोडफोड र गुण्डागर्दी गर्न अबको संगठन आवश्यक पनि छैन। अबको नेविसंघ यस्तो हुनु पनि हुँदैन। यसैको रोकथामको लागि पनि म एउटा सवल उम्मेदवार हुँ। त्यसैले सबैले मलाई भोट दिनुहुन्छ भन्ने मलाई लाग्छ। त्यस्तै अर्को कुरा के छ भने हामीकहाँ विग्रिएको गुट लूट र फुटले हो। यो कुरा बेठिक भयो त्यसैले यसले माउ पार्टी काँग्रेसलाई समेत कमजोर बनाईरहेको छ। त्यसैले यसको रोकावटको लागि पनि मैले आफ्नो उम्मेदवारी दिएको हुँ। त्यसैले साथीहरूको साथ मलाई हुनेछ भन्ने मैले सोचेको छु। 
 
तपाईँ अध्यक्षमा उम्मेदवारी दिँदै गर्दा तपाईका जित्ने आधारहरू के–के छन् ?
 
एउटा त म विद्यार्थीहरूसँग उनीहरूको सबै दुख सुखमा भिजेर हिँडेको मान्छे। त्यसैले पनि विद्यार्थी राजनीतिमा मेरो जित्ने आधार बलियो रहेको छ। त्यस्तै दोस्रो कुरा त शैक्षिक योग्यताको कुरामा पनि म क्यापेबल रहेको छु। मेरो त मान्यता के छ भने विद्यार्थी राजनीति गर्ने भनेको एकेडेमिक मान्छेले मात्रै हो। त्यो बाहेकका मान्छेले विद्यार्थी राजनीति होइन अन्य क्षेत्रमा पनि राजनीति गर्न गए हुन्छ। तर विद्यार्थी राजनीतिको लागि आवश्यक पर्ने शिक्षित पृष्ठभूमि मसँग रहेको छ यस्तै कारणले पनि मेरा जित्ने आधारहरू धेरै रहेका छन्। 
 
यो महाधिवेशनमा पनि निर्वाचन भन्दा पनि टीका लगाएर नेतृत्व छान्ने प्रयास भईरहेको छ भन्ने पनि सुनिन्छ। यस्तो हुनलाग्यो भने तपाईहरू के गर्नुहुन्छ ?
 
हामीलाई टीके प्रथाको स्वीकार्यता रहँदैन। यदि यस्तो हुन्छ भने हामी यसको विद्रोहमा उत्रिन्छौं। टीकाटाला गर्छ र महाधिवेशन भाँड्छ कसैले भने भोलि समानान्तर नेविसंघ नै चलाउनुपर्छ भने पनि हामी तयार छौं। तर यस्तो प्रवृत्ति हामीमा किमार्थ स्वीकार्य छैन।
 
नेपाल विद्यार्थी संघमाथि पार्टीको कुनैपनि किसिमको हस्तक्षेप हामीलाई स्वीकार्य छैन। हामी अब टीके प्रथाबाट नेतृत्व चुन्न सक्दैनौं र त्यो स्वीकार्न पनि सक्दैनौं। यस्तो हुन्छ भने नेविसंघ झनै दूर्घटनामा जान्छ। विद्यार्थीको नेता विद्यार्थीले नै छान्न पाउनुपर्छ। हामीलाई टीके प्रथाको स्वीकार्यता रहँदैन। यदि यस्तो हुन्छ भने हामी यसको विद्रोहमा उत्रिन्छौं। टीकाटाला गर्छ र महाधिवेशन भाँड्छ कसैले भने भोलि समानान्तर नेविसंघ नै चलाउनुपर्छ भने पनि हामी तयार छौं। तर यस्तो प्रवृत्ति हामीमा किमार्थ स्वीकार्य छैन। अहिलेको अलिकति अफ्ठ्यारो परिस्थिती भएपनि निर्वाचनबाट नै महाधिवेशन टुङ्गोमा पुर्‍याउनु पर्छ। धेरै साथीहरूले नेविसंघ यस्तो उस्तो, नयाँ बनाउनुपर्छ भनेर कुरा ल्याउनुहुन्छ। तर म त के भन्छु भने नेविसंघ पुरानो बनाउनु पर्छ तर इमान्दार बनाउनु पर्छ भन्ने हो। स्थापनाकालमा जुन प्रेम सद्भाव, संघर्ष थियो त्यही खालको जस्तो नेविसंघ अहिलेको आवश्यकता हो। नेविसंघलाई नयाँ बनाउनुपर्ने बहानामा नेविसंघको विकास होइन विनास भईरहेको छ। मैले यदी नेतृत्व पाएँ भने यसलाई म रोक्छु। 



नयाँ