arrow

सर्वोच्च अदालतमा न्यायाधीशका लागि संसदीय सुनुवाइ जारी

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
ccccccccccccc.jpg.jpeg
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भएकाहरुको संसदीय सुनुवाइ हुने क्रम जारी छ । पहिलो दिन बुधबार छ जनाको संसदीय सुनुवाइ भएको थियो । 
 
प्रस्तावित ११ न्यायाधीशहरुमध्ये सुनुवाइ हुन बाँकी पाँच न्यायाधीशहरुको सुनुवाइ बिहीबार बिहानदेखि जारी छ । 
 समितिले पुनरावेदन अदालतका मुख्य न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई तथा वरिष्ठ अधिवक्तात्रय अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लसँग सुनुवाइ गरिरहेको हो । 
 
न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदका लागि पुनरावेदन अदालतका सात र चारजना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको छ।
 बुधबार संसदीय सुनुवाइ विशेष समितिले पुनरावेदन अदालतका पाँच मुख्य न्यायाधीश र एक वरिष्ठ अधिवक्ताको संसदीय सुनुवाइ गरेको थियो । 
 
सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ र वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ भएको हो । 
 
पूर्वमहान्यायाधीवक्ता एवम् वरिष्ठ अधिवक्ता कार्की प्रस्तावित न्यायाधीशको नाम सिफारिशको सूचीमा पाँचौँ वरियतामा छन् । सुनुवाइ समितिबाट उनीहरुको नाम अनुमोदन भएको अवस्थामा वरिष्ठ अधिवक्ता कार्की र छैटौँ रोलक्रममा रहेका श्रेष्ठ प्रधानन्यायाधीश पदको दावेदार रहने छन् ।  
 
नेपालको संविधानमा सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्ति हुने व्यक्तिको नाम सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । 
 
बैठकमा प्रस्तावित न्यायाधीशहरुले आफ्नो सोच र कार्ययोजना प्रस्तुत गर्दै न्यायालयलाई शुद्ध र सुदृढ बनाएर स्वतन्त्र र निष्पक्ष तुल्याउन योगदान पु¥याउने वचनबद्धता व्यक्त गरे । 
 
संसदीय सुनुवाइबाट नाम अनुमोदन भएको खण्डमा प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतमा तीन जना महिला न्यायाधीश हुनेछन् । प्रस्तावित ११ मध्ये सात जना पुनरावेदन अदातलका न्यायाधीश छन् भने चार जना वरिष्ठ अधिवक्ता छन् । 
 
वरिष्ठ अधिवक्तामध्ये कार्की र मल्ल कम्युनिष्ट विचारधाराका हुन् । सिन्हा र राउतको पृष्ठभूमि नेपाली काँग्रेससँग जोडिएको छ । संसदीय सुनुवाइमा रहनुभएका मध्ये कार्कीविरुद्ध एक र मल्लको नाममा दुईवटा उजुरी परेका छन् । अधिवक्ता राउत र मल्ल पनि उनीहरुको उमेर र सेवा अवधिलाई विश्लेषण गर्दा सर्वोच्च अदालतको नेतृत्वसम्म पुग्ने सम्भावना देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ