arrow

प्रन्या जबरामाथि महाभियोगको माग गर्दै बालकोट पुगेकालाई ओलीले भने - 'यहाँ केही साथीहरू डबल गेम खेलिरहेका छन्'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
pm-kp-oli3.jpg

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले न्यायालय स्वच्छ र निष्पक्ष नभएको भन्दै प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट मात्रै न्यायिक सुधारको सुरुआत नहुने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउन माग गर्दै मङ्गलवार आन्दोलनरत नेपाल बार एसोसिएसनको टोली बालकोटस्थित ओली निवास पुगेपछि उनले यस्तो बताएका हुन् । 

अध्यक्ष ओलीले भने, “महाभियोग लगाउन हामी निर्णायक होइनौँ, हामीसँग दुई तिहाइ पनि छैन, हामी निर्णायक होइनौँ, यहाँ कोही पनि एक्लै निर्णायक छैन, यहाँ तपाईँहरूलाई हामी बाधक हौँ भन्ने लाग्या छ, यहाँ केही साथीहरू डबल गेम खेलिरहेका छन्, राजनीतिक दलहरू तपाईंहरुसँग छन् जस्तो मात्रै गरेका छन्, तपाईँहरूसँग छैनन् ।'

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले गजेन्द्र हमाल काँग्रेसको कोटाबाट मन्त्री भएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि उहाँ त काँग्रेसको कोटाबाट हो चोलेन्द्रको कोटा होइन भनेको भन्दै लेनदेन भएकै होइन भनिरहेको अवस्थामा महाअभियोग दर्ता नै नहुने बताए । 

उनले भने, “न्यायालय सुधार्ने विषयमा हाम्रो कुनै आपत्ति छैन, जहाँनिर कमी छ, त्यसलाई हटाएर जानुपर्छ भन्ने हो तर तपाईँहरूले उठाएको विषय २० प्रतिशत मात्रै छ, त्यसलाई पूर्णता दिएर १०० प्रतिशत बनाएर अगाडि बढौँ ।' 

ओलीले अहिले न्यायालय स्वच्छ र निष्पक्ष नभएको भन्दै प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट मात्रै न्यायिक सुधारको सुरुआत नहुने बताए ।
उनले आफू प्रधानमन्त्री हुँदा आफू विरुद्ध परेका मुद्दाको अदालतमा लिखित जवाफ पठाउन मात्रै ५६ हजार हस्ताक्षर गरेको भन्दै हरेक माइन्युट अदालत लिएर जानुपर्ने यस्तो कानुनी र प्रक्रियागत रूपमा सच्याउनुपर्ने बताए । उनले अदालतले कसैप्रति पनि जबाफदेही हुनु नपर्ने स्थिति आएको भन्दै आफ्नो पालामा अदालतसँग कुनै लेनदेन नगरेको दाबी गरे । 

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले एमालेको सहयोगबिना महाअभियोग पारित हुँदैन भन्दै सघाउन आग्रह गरे । सबै दल नमिल्दा महाअभियोग पास नहुने अवस्था आएको भन्दै उनले जिम्मेवार प्रतिपक्षको नेता र विगतमा पनि न्यायपालिकाभित्र विसङ्गतिका विषयमा गलत हुँदा आवाज उठाएको नेता भएकाले भेटेरै सहयोग माग्न आएको बताए । कानून व्यवसायीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन ओलीको सहयोग मागेका थिए ।

ओलीसँगको भेटमा वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वाध्यक्ष शम्भु थापाले विगतका कतिपय मुद्दा बिर्सेर अहिलेको आन्दोलनलाई सघाउन ओलीलाई आग्रह गरे । उनले भने, “तपाईँले लडाइँ लडेर जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउनुभएको छ, विगतमा कतिपय मुद्दामा संवैधानिक दृष्टिले व्याख्या, विश्लेषण गर्ने सन्दर्भमा फरक भयौँ होला तर भ्रष्टाचारको विषयमा हामी तपाईँसँग सधैँ छौँ, तपाईँले सहयोग गर्नुस्, हामीलाई तपाईँबाट आशा छ ।'

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणालाई हटाउन माग गर्दै एमाले अध्यक्ष ओलीलाई ज्ञापन पत्रसमेत बुझाएको छ । बारले कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेको लगायतका विभिन्न १७ वटा आरोप लगाएर महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापन पत्रसमेत बुझाएको छ । 

बालकोटमा अध्यक्ष ओली, उपाध्यक्ष द्वय सुवास नेम्वाङ र विष्णु पौडेलसँग नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, पूर्वाध्यक्ष शम्भु थापा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठलगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ