arrow

कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको एउटै आवाज – आगामी चुनावमा पार्टी एक्लै भिड्नु पर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
survey-congress-14th-general2.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आगामी केन्द्रीय कार्यसमिति चयनका लागि चुनिएका महाधिवेशन प्रतिनिधिहरूले आगामी निर्वाचनमा पार्टीले कसैसँग गठबन्धन नगरी एक्लै लड्नु पर्नेमा जोड दिएका छन् । देशका ७० वटा जिल्लाहरूबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू माझ गरिएको एक सर्वेक्षणका क्रममा उनीहरुले कांग्रेससँग एक्लै चुनाव लड्ने तागत भएकाले कसैसँग गठबन्धन गर्नुपर्ने जरुरी नभएको बताएका हुन् । 

र्‍यान्डम विधिबाट छानिएका ९१४ प्रतिनिधिहरूलाई यो सर्वेक्षणमा प्रश्न सोधिएकामा ८५४ जनाले एकल चुनाव लड्नु पर्ने सुझाव दिएका हुन् । यो कूल संख्याको ९३.४ प्रतिशत हो । त्यस्तै गठबन्धन बनाएर जानुपर्छ भन्नेहरुको संख्या जम्मा ४६ अर्थात् ५ प्रतिशत रहेको छ । 

यस बारेमा जानकारी नै छैन भन्नेहरुको संख्या जम्मा ९ अर्थात् १ प्रतिशत रहेको छ । ५ जना अर्थात् ०.५ प्रतिशतले भन्न नचाहेको उल्लेख गरेका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा अहिले गठबन्धन सरकार छ । जुन परिस्थितिअनुसार गठबन्धन भएको छ यही गठबन्धनलाई चुनावसम्म पनि निरन्तरता दिनुपर्नेमा सहभागी दलहरु नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को रहेको छ । ती दलका शीर्ष नेताहरुले पटक पटक यो भनाइ दोहोर्याइरहेका छन् । 

तर नेपाली कांग्रेसका धेरैजसो नेताहरुले भने एकल नै जानुपर्नेमा जोड दिएका छन् । कांग्रेस युवा नेता एवं कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगनकुमार थापाले पहिलो पटक एक्लै मैदानमा उत्रने र पहिले जस्तै बहुमत ल्याउने दाबी गरेका थिए । उनले यो अभियान नै चलाए । 

उनले थालेको यो अभियानमा धेरैजस्तो शीर्ष नेताहरु बोल्न वाध्य हुनुपर्यो । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य प्रकाशमान सिंहदेखि केन्द्रीय सदस्य शेखर कोइरालासम्मले एक्लै मैदानमा उत्रने बताए । 

त्यतिमात्र हैन अन्तिममा सभापति शेरबहादुर देउवाले पनि चुनावमा कांग्रेस एक्लै लड्ने बताए । तर उनले सरकारको गठबन्धन भने नटुक्रने बताए । 

यो सर्वेक्षण हाम्रा कुरा डटकम सञ्चालन गर्दै आएको कम्पनी ईआईसीटी नेपालले शेयरकाष्ट इनिशियटिभ नेपालसँगको सहकार्यमा सम्पन्न गरेको हो । सर्वेक्षणका लागि सम्भाव्यता छनोट विधिबाट प्रतिनिधिको छनोट गरिएकाले गर्दा सात वटै प्रदेशका सबै जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू अन्तर्वार्ताका लागि छनोटमा पर्ने उत्तिकै सम्भावना रहेको थियो । 

यद्यपि कुनै जिल्लाका केही निर्वाचन क्षेत्रहरूमा यो सर्वेक्षण शुरु हुँदासम्म महाधिवेशन प्रतिनिधि चयन नभइसकेकाले सातवटै प्रदेश र काठमाडौँ उपत्यका गरी ७७ मध्ये ७० जिल्लाहरूमा मात्र सर्वेक्षण गरिएको हो । छनोटमा परेका महाधिवेशन प्रतिनिधिहरूलाई नै व्यक्तिगत तवरमा अन्तर्वार्ताका लागि टेलिफोन गरिएको थियो । 

यसमा वर्तमान केन्द्रीय कार्यसमितिमा रहेर स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने व्यक्ति, जिल्ला पार्टी सभापति, भ्रातृ, शुभेच्छुक तथा जनसम्पर्क समितिबाट प्रतिनिधि बनेर आउने प्रतिनिधिहरूलाई भने सहभागी गराइएको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ