arrow

महाधिवेशन प्रतिनिधि सर्वेक्षण

नेपाली कांग्रेस १४ औँ महाधिवेशन: युवा तथा समावेशी अनुहार सहितको नेतृत्व आउनेमा ७९ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू ढुक्क

५० प्रतिशतले गुट नहेर्ने,  १७ प्रतिशत भने गुटभन्दा पर जानै नसक्ने

logo
प्रकाश लामिछाने,
प्रकाशित २०७८ मंसिर २० सोमबार
EICT-nepal-survey-cover-photo-2078.jpg

काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आगामी केन्द्रीय कार्यसमिति चयनका लागि चुनिएका महाधिवेशन प्रतिनिधिहरूले यस पटक केन्द्रीय कार्य समितिमा समावेशी सहभागिता सहित उल्लेख्य रूपमा युवाको प्रतिनिधित्व हुने बताएका छन्। यसरी समावेशिता सहित नयाँ र पुरानाको मिश्रित अनुहार आउनेमा ७९ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू ढुक्क देखिएका छन्। केन्द्रीय नेतृत्वमा उही पुरानै पुस्ता मात्रै दोहोरिनेमा भने ७ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू मात्र विश्वस्त देखिएका छन्।

देशका सातवटै प्रदेशका ७० वटा जिल्लाहरूबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूमाझ गरिएको एक सर्वेक्षणका क्रममा महाधिवेशनमा आर्थिक चलखेल र गुटको राजनीति हाबी हुन्छ या हुँदैन भन्नेमा यो नतिजा प्रभावित हुनसक्ने तर्फ समेत प्रतिनिधिहरूले इङ्गित गरेका छन्।

प्रतिनिधिहरूलाई महाधिवेशनका दौरान भोटको किनबेचको सम्भावना बारे सोधिएको अर्को प्रश्नमा लगभग ५० प्रतिशतले आर्थिक चलखेल तथा भोटको किनबेच हुनसक्ने बताएका छन्। सोही प्रश्नमा ३२ प्रतिशतले मात्र आर्थिक चलखेल तथा भोटको किनबेच हुँदैन भन्ने जवाफ दिएका छन्। करिब १६ प्रतिशतले टुङ्गो छैन भनेका छन्।

प्रतिनिधिहरूलाई महाधिवेशनका दौरान केन्द्रीय नेतृत्व चयनका क्रममा निर्वाचन हुने भएमा मत दिँदा तपाईँले आफ्नै गुट, समूह वा पक्षका उम्मेदवारलाई मात्रै भोट हाल्ने सम्भावना कत्तिको छ भनेर सोधिएकोमा ५० प्रतिशतले म गुट हेर्दिन, मन परेको उम्मेदवारलाई भोट हाल्छु भन्दै गर्दा १७ प्रतिशतले भने गुटभन्दा पर जान नसक्ने जवाफ दिएका छन्। यस्तै ३३ प्रतिशतले भने अवस्था हेरेर निर्णय लिने बताएका छन्।

यस्तै सर्वेक्षणले महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयनका क्रममा आर्थिक चलखेल र गुटका अलावा उम्मेदवारको लोकप्रियता, व्यक्तित्व, राजनीतिक एजेण्डा, पारिवारिक तथा राजनीतिक विरासत, क्षेत्रीयता, जातियता, नातागोता, ठेक्कापट्टा वा व्यवसाय, जागिरको अवसर, भोजभतेर जस्ता विषयले समेत प्रभाव पार्ने देखाएको छ।

जसमा उम्मेदवारको लोकप्रियता र व्यक्तित्वले समान १९-१९ प्रतिशत र राजनीतिक एजेण्डाले १३ प्रतिशतसम्म प्रभावित पार्ने देखाएको छ । यसै गरी १५ प्रतिशतले आर्थिक चलखेलमा निर्भर हुने बताएका छन् । 

यो महाधिवेशनका क्रममा विदेशमा रहेका नेपालीहरूको पनि प्रभाव पर्ने प्रतिनिधिहरूको भनाई छ । जसमा ८५ प्रतिशतले कुनै न कुनै रूपमा विदेशमा रहेका नेपालीहरूको पनि प्रभाव पर्ने बताएका छन् ।

नेपाली कांग्रेस यस पटकदेखि नेतृत्वमा समेत नयाँ संरचनामा प्रवेश गरेको छ । नयाँ संरचनाका लागि चुनिने नेतृत्वका लागि नयाँ निर्वाचन प्रणाली समेत लागु गरेको छ । कतिपयले यो प्रणालीले कार्यकर्ता तहमा अन्योल तथा अलमल भइरहेको चर्चा गरिरहँदा ८६ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूलाई नेतृत्वको यो संरचना र नेतृत्व चयनको अहिलेको विधि ठिक लागेको बताएका छन् ।

छनौटमा परेका उत्तरदाता महाधिवेशन प्रतिनिधिहरू मध्ये सबैभन्दा बढी खुल्लाबाट चुनिएका ५० प्रतिशत छन् भने खस आर्य महिलातर्फ मात्रै २७ प्रतिशत छन् । लैङ्गिक हिसाबले हेर्दा ३२ प्रतिशत महिला र ६८ प्रतिशत पुरुष प्रतिनिधिहरू छन् । यसैगरी उमेर समूहतर्फ सबैभन्दा बढी ५० प्रतिशत ४५ देखि ५९ वर्षका थिए भने ४४ वर्ष मुनिका ३० प्रतिशत र ६० वर्षभन्दा माथिका २० प्रतिशत छन् ।

यस्तै ४९ प्रतिशत उत्तरदाता महाधिवेशन प्रतिनिधिहरू स्नातक वा सो भन्दा माथिल्लो तह उत्तीर्ण गरेका छन् भने ४४ प्रतिशत एसएलसी/एसइई देखि प्लस टुसम्म उत्तीर्ण गरेका छन् । उत्तरदाता महाधिवेशन प्रतिनिधिहरूमा १० कक्षा भन्दा कम पढेका, अलिअलि साक्षर र निरक्षरहरूको सङ्ख्या जम्मा ७ प्रतिशत मात्र रहेको पाइयो ।

जातीय आधारमा हेर्दा पनि पहाडी बाहुन क्षेत्रीबाट ५१ प्रतिशत प्रतिनिधिहरू रहेकोमा जनजातितर्फ ३१ प्रतिशत प्रतिनिधिहरू रहेको पाइयो । दलिततर्फ पहाड र मधेस दुबैतर्फ गरी ५ प्रतिशत मात्र उत्तरदाता महाधिवेशन प्रतिनिधिहरू थिए ।

उत्तरदाता महाधिवेशन प्रतिनिधिहरूमध्ये सबैभन्दा धेरै अर्थात् ५३ प्रतिशत पहिलो पटक महाधिवेशन प्रतिनिधिका रूपमा चुनिएका छन् भने ४७ प्रतिशत पुरानै अनुहारहरू छन्। त्यस्तै २७ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पारिवारिक पृष्ठभूमिका कारण आफूले कांग्रेस रोजेको बताइरहँदा ६२ प्रतिशत प्रतिनिधिहरूले भने यस पार्टीको नीति, विचार र सिद्धान्त मन परेर आफूले कांग्रेस रोजेको बताए ।


सर्वेक्षण विधि

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि देशभरिका ७० वटा जिल्लाहरूबाट केन्द्रीय महाधिवेशनका लागि र्‍यान्डम विधिबाट छानिएका ९१४ प्रतिनिधिहरूलाई मात्र यो सर्वेक्षणमा प्रश्न सोधिएको छ । जसमा वर्तमान केन्द्रीय कार्यसमितिमा रहेर स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने व्यक्ति, जिल्ला पार्टी सभापति, भातृ, शुभेच्छुक तथा जनसम्पर्क समितिबाट प्रतिनिधि बनेर आउने प्रतिनिधिहरूलाई भने सहभागी गराइएको छैन । यसरी हेर्दा नेपाल भित्रको भूगोलका १ सय ६५ वटै निर्वाचन क्षेत्रबाट चुनिएर आउने जम्मा ३ हजार ९ सय ६० जना महाधिवेशन प्रतिनिधिहरू मध्येबाट 'र्‍याण्डम' छनोट विधिको प्रयोग गरी देश भरीबाट प्रतिनिधित्व हुने गरी छानिएका करिब एक चौथाइ (२५ प्रतिशत) प्रतिनिधिहरू छनोट गरी छनोटमा परेका प्रतिनिधिहरूसँग टेलिफोनको माध्यमबाट सर्वेक्षणका अन्तर्वार्ता गरिएको थियो ।  ९५ प्रतिशत ‘कन्फिडेन्स लेबलमा’ सर्वेक्षणको मार्जिन अफ इरर -Margin of Error जम्मा +/-२.८ प्रतिशत रहेको छ ।

सर्वेक्षणका लागि सम्भाव्यता छनोट विधिबाट प्रतिनिधिको छनोट गरिएकाले गर्दा सातवटै प्रदेशका सबै जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू अन्तर्वार्ताका लागि छनोटमा पर्ने उत्तिकै सम्भावना रहेको थियो । यद्यपि कुनै जिल्लाका केही निर्वाचन क्षेत्रहरूमा यो सर्वेक्षण सुरु हुँदासम्म महाधिवेशन प्रतिनिधि चयन नभइसकेकाले सातवटै प्रदेश र काठमाडौँ उपत्यका गरी ७७ मध्ये ७० जिल्लाहरूमा मात्र सर्वेक्षण गरिएको हो । छनोटमा परेका महाधिवेशन प्रतिनिधिहरूलाई नै व्यक्तिगत तवरमा अन्तर्वार्ताका लागि टेलिफोन गरिएको थियो । 

सर्भेका लागि ११ जना गणक सहित १६ जनाको अनुसन्धान समूह परिचालन गरिएको थियो। अन्तर्वार्ता पूर्व गणकहरूलाई २ दिनको तालिम र पूर्वाभ्यास गराइएको थियो । तथ्याङ्क सात दिन लगाएर सङ्कलन गरिएको हो। सर्वेक्षणको तथ्याङ्कलाई उमेर, लिङ्ग, शैक्षिक योग्यता, जातजाति, प्रदेश तथा नयाँ र पुरानाका हिसाबले समेत विश्लेषण गर्न सकिन्छ। यो सर्वेक्षण हाम्रा कुरा डटकम सञ्चालन गर्दै आएको कम्पनी इआईसिटी नेपालले शेयरकाष्ट ईनिशियटिभ नेपालसँगको सहकार्यमा सम्पन्न गरेको हो।

राजनीतिक धारणा सम्बन्धी सर्वेक्षण विधि अन्तरविषयात्मक गतिविधि पर्दछ जसमा विभिन्न विषयहरू सहित समाजका सबै क्षेत्रका व्यक्तिहरू समेत समावेश हुन्छन्। उच्च गुणस्तर, सटिक सवाल, लागत-प्रभावी चुनाव र सर्वेक्षणहरूको डिजाइन, कार्यान्वयन एवं विश्लेषण गर्न सीप र पद्धतिगत दृष्टिकोणको संयोजन चाहिन्छ। यो राजनीतिक सर्वेक्षणका क्रममा पनि सङ्ख्यात्मक तथ्याङ्कलाई गुणात्मक तथ्यले पुनः पुष्टि गर्न व्यक्तिहरूको मनोवृत्ति, विचार, सोच र स्वभाव, पक्षपात तथा व्यक्तिगत जानकारीहरू पनि रेकर्ड गर्न गरिएको थियो। साथै यो सर्वेक्षण ‘कुल सर्वेक्षण त्रुटि (TSE)’ सिद्धान्तद्वारा समेत निर्देशित छ जुन हाल सर्वेक्षण पद्धतिको सबैभन्दा उच्चतम स्ट्यान्डर्ड हो। जसले सम्पूर्ण सर्वेक्षण अनुसन्धान चक्रमा प्रतिनिधित्व र मापन गरी त्रुटि कम गर्ने लक्ष्य राख्छ । यी सबै धारणा सर्वेक्षणहरूले राजनीतिक अनुसन्धानमा तथ्याङ्क सङ्कलन गर्ने सबैभन्दा द्रुत विधिको प्रतिनिधित्व गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ