काठमाडौं । स्वास्थ्य शिक्षाको सुधार (सफाइ) का लागि हामी आफै सक्षम छौं । सरकारको भन्दा हामी संग सय गुणा बढी शैय्या छन् । नेपालको चिकित्सा क्षेत्रको उत्पादन धान्ने निजी मेडिकल कलेज हुन् । वुधबार राजधानी काठमाडौंको नयाँ बानेश्वरमा असोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेजका अध्यक्ष डा. भोला रिजाल उफ्रि–उफ्रि भाषण गर्दै थिए ।
भाषणका क्रममा उनले आठाै पटक आमरण अनसनबाट उठेका बरिष्ठ चिकित्सक गोविन्द केसीको विरोध गरेको होइन–भने । तर, उनले केसीले गरेको अनसनले नीजि मेडिकल कलेजहरुको घाँटी थिचेर हत्या गर्ने प्रयास गरेको आरोप लगाए ।
केही समय अघि सम्म हर कुनै नेपाली नागरिकले डाक्टरको नाम लियो कि ए भोला रिजाल पो डाक्टर भन्थे । उनलाई नदेखेरै नामैले चिन्नेको समात ठूलो छ ।
तर, आज भोली उनी सडकमा आउन थालेपछि ए त्यो आन्दोलनकारी भन्नेहरुको जमात समेत बढेको छ । उनलाई मान्नेहरुले नै अहिले भन्छन्,–भोला अब साँच्चिकै भोला रहेनन् । जे भएपनि उनी नेपालको चिकित्सा क्षेत्रमा ठूलो योगदान दिने व्यक्तिको रुपमा चिनिन्छन् ।
यद्यपि, डा. भोला पछिल्लो समय केही फेरिएका छन् । उनले चलाएको मेडिकल कलेज र अस्पतालले मापदण्ड विपरीत काम गर्न थालेको भन्दै गुनासो बढ्न थालेपछि उनी टिप्पणी गर्ने र गल्ती सुधारगर्न दबाब दिने विरुद्ध उत्रिन थालेका छन् ।
वुधबार पनि भयो त्यस्तै । जसरी उनले भाषणमा हामी नेपालको चिकित्सा क्षेत्रको टाउको हौं भने त्यो मान्न सकिएला । हामीले दक्ष जनशक्ति उत्पादन गरेका छौ–भने त्यो पनि केही हद सम्म मान्न सकिएला । तर, उनले भाषण गर्दा मेडिकल शिक्षामा आमुल परिवर्तन ल्याउने र मेडिकल शिक्षा सुधारका लागि हामी आफै सक्षम छौं भन्दै राज्यलाई चुनौती दिनुलाई अर्थपूर्ण मानिएको छ । जसले राज्यलाई सुशासन विर्सियो भन्ने गम्भीर आरोप लाग्यो ।
उनी पछिपनि उनी जस्तै थुप्रै गण्य मान्य डाक्टरहरुले भाषण गरे । उनीहरुले चिकित्सा क्षेत्र सुधारको माग राखेर पटक–पटक अनसन बस्ने गोविन्द केसीको चरित्र देखि राज्यले केसीसंग गरेका सम्झौताको खरो विरोध गरे । सम्झौता खारेज सम्मको आवाज समेत उठाए ।
केसीले पाँचौ पटकको अनसन देखि उठाएको अख्तियार प्रमुखलाई महाभियोग लगाउने मागविरुद्ध समेत नीजि मेडिकल कलेजका चिकित्सक विद्यार्थीहरुले चर्को नारा लगाए । त्यति मात्र नभई उनीहरुले आफ्नालाई पास गराउन काठमाडौं विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गर्ने अख्तियारको जय जयकार गरे ।
थिति बसाल्न पटक–पटक ज्यानको बाजी राख्ने गोविन्द केसीलाई लज्जीत हुनेगरी ठूल–ठूला शब्दमा घण्टौं भाषणबाजी भयो । अन्तिमका कोण सभा सकियो । सबै घर फर्किए । तर, संयौको संख्यामा प्रदर्शन गर्न निस्किएकाहरुले बोकेका प्लेकार्ड सडकमा, सडकको बीच भागमा बगैचा बनाएको आइल्याण्डमा यत्र–तत्र फ्याँकेर विजय उत्सव खुसीयाली लिएर घर फर्के । उनीहरुको भीड हट्ने वित्तिकै सभास्थल कुरुप देखियो ।
लाग्थ्यो महानगरले कयौं दिनको फोहर उठाएको छैन । मेडिकल शिक्षा सफाइ गर्न सक्षम ती नाम चलेका डा. भोला र तिनै भोलाका शिष्यहरुले प्लेकार्ड भुइँमा फाले । हात सफा गरे हिँडे । सरकारी वार्ता टोलीले मनमोहन मेडिकल कलेज न्याम्सले किन्ने सम्झौता गरेर गोविन्द केसीको अनसन तोडाएको आवेसले त्यो प्लेकार्ड जहाँबाट ल्याइएको थियो त्यँही लैजाने वा कुनै निश्चित ठाउँमा थुपार्ने सम्मको होस भएन । पछि ती भुइमा लडेका प्लेकार्डलाई आकाशे पानी, धुलो, हिलो सबैले गिज्यायो । बाटोमा हिड्नेहरुलाई पनि ।
डा. भोलाले पनि पत्तो पाएनन् । आफुले पानी पीएको बोतल समेत त्यही भुइँमा लडेछ ।
डा. भोलाले पनि पत्तो पाएनन् । आफुले पानी पीएको बोतल समेत त्यही भुइँमा लडेछ । उनलाई थाहा हुनु पर्ने थियो । आफुहरुले कुरुप बनाएको त्यो ठाउँ र ती आइल्याण्डमा लगाएका बोट, फूल, दुबो सबै करोड मूल्यको थियो । काठमाडौं महानगरपालिका, सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणले करोडौं खर्च गरेर छिमेकी मुलुकबाट किनेर ल्याएको बोट विरुवा हुन् ती । जसरी उनले भाषण गर्दा हाम्रो सम्पत्ति नास्न पाँइदैन भनेका थिए ।
यस्तै, साँझ उनले बीबीसी नेपाली सेवालाई अन्र्तवार्ता दिँदा डा.गोविन्द केसीप्रति लक्षित गर्दै बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुको घर पनि विगार्छ भन्ने उक्ति सुनाएका थिए । तर, आफुले विगार गरेको पत्तो पाएनन् ।
अन्र्तवार्ताकै क्रममा पत्ररकारले तपाईको हस्पिटलको शौचालय कति फोहर अनि तपाईहरुले चिकित्सा क्षेत्र सफाइ गर्नु हन्छ भनेर कसरी पत्याउने ? भनेर सोध्दा जवाफमा उनले शौचालय फोहर रहेको भनेर सुन्दा दुःख लागेको बताउँदै आफ्नो हस्पिटलको शौचालय फोहर नभएर व्यक्तिहरुको व्यवहार फोहर रहेको भन्दै नागरिक चेतनाको प्रसंग जोडे । उनले भने, ‘एउटा मान्छे एक पटक आउँछ, त्यो जान्छ, त्यसपछि नयाँ मान्छे आउँछ, उस्तै फोहर गरेर जान्छ ।’
उनले नेपालीलाई चर्पी प्रयोग गर्न नआउने सम्मको आलोचना गर्न भ्याए । साँच्चै डा. भोला जस्तो गण्य मान्य व्यक्तिले बानेश्वरमा जे गरे राम्रो गरेनन् भन्दै सामाजिक संजालमा निकै चर्चा भएको छ । उनले यो विरोधका नाममा विरोध र प्रतिशोध मात्र भएको टिप्पणी भएको छ।