arrow

युनिलिभरको कस्मेटिक सामान किन्दा होसियार !

शंकास्पद व्यवहार गर्ने युनिलिभर उपभोक्ताप्रति गैरजिम्मेवार

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
uniliver-cosmetic.jpg.jpeg
काठमाडौं। कतै तपाईँ पनि युनिलिभरका कस्मेटिक सामान खरीद गर्दै त हुनुहुन्न? यदि खरीद गर्दै हुनुहुन्छ भने विचार गर्नुहोला। बजारमा युनिलिभरको नक्कली सामान छ्यापछ्याप्ती भेटिन थालेको छ। नेपालकै चर्चित ब्राण्डको रूपमा आफूलाई स्थापित गराएको बहुराष्ट्रिय कम्पनी युनिलिभरले उत्पादन गरेको भनिएका नक्कली सामान बजारमा भेटिएपछि काठमाडौंको न्यूरोडको चारवटा पसलमा छापा मारी प्रहरीले विभिन्न कस्मेटिक सामान बरामद गरेको छ। ठीक एक साता अघि बिहीबार प्रहरीले उद्योग विभाग समेतको सहयोगमा छापा मार्दा झण्डै १० बोरा जति सामान बरामद गरेर उद्योग विभाग त्रिपुरेश्वरको स्टोर रूममा राखेको छ। तर यस विषयमा अहिलेसम्म कुनै पनि जानकारी बाहिर भने ल्याइएको छैन। 
 
यसरी बरामद गरिएको सामान युनिलिभर कम्पनीको लोगो लगाईएको सामान रहेको उद्योग विभागले जानकारी दिएको छ। तर विभागले भने युनिलिभरले नै आफ्नो ट्रेडमार्कमा अर्कोले लोगो प्रयोग गरेर नक्कली सामान विक्री गरेको आरोप लगाउँदै मुद्दा दायर गरेपछि आफूहरूले छापा मार्दा भेटिएका सामान जफत गरेर ल्याएको जनाएको छ। विभागका निर्देशक एवं सूचना अधिकारी रूद्र बहादुर मल्लले बहुराष्ट्रिय कम्पनी युनिलिभरले दिएको उजुरीका आधारमा आफूहरुले नक्कली सामान भेटिएको बताए। 
 
युनिलिभरले लुकायो यथार्थ कुरा? 
झट्ट हेर्दा युनिलिभर यसमा पीडित देखिन्छ। किनभने उसको ट्रेडमार्कबाट अर्कैले आफ्नो जस्तै उत्पादन गर्दा वा आफ्नो लोगो राखेर बेच्दा आफ्ना ग्राहकहरूमा शंका उत्पन्न हुने भन्दै उसले उद्योग विभागमा मुद्दा पनि हालेको थियो। तर, अचम्म लाग्दो कुरा त के छ भने उसले यस्तो आफ्नो नक्कल गरेको भनेर मुद्दा हालेको भएपनि यसरी सामान जफत गरेको एक साता पुगिसक्दा पनि उसले आफ्ना ग्राहकहरूलाई सचेत हुनको लागि कुनै जानकारी समेत गराएको छैन। उसले विज्ञप्ती जारी गर्ने लगायतका कुरा त परै जावस् कम्पनीलाई यस विषयमा बुझ्दा समेत पनि यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। यसले कतै युनिलिभरकै उत्पादनमा समस्या त छैन भन्ने शंका उव्जाएको छ। 
 
यस विषयमा हाम्राकुराले प्रतिक्रिया लिन खोज्दा युनिलिभर नेपालका सञ्चार विज्ञ गोविन्द शाहीले मौखिक रूपमा कुनैपनि मिडियालाई प्रतिक्रिया दिने पद्धति नरहेको भन्दै लिखित रूपमा प्रश्न गर्न आग्रह गरे। उनले आफ्नो भित्री कुरामा नै बढी सक्रिय हुने भएकोले बाहिरी कुरामा विज्ञप्ती निकाल्न समेत पनि फुर्सद् नभएको प्रतिक्रिया दिए। 
 
यसरी आफैंले उजुरी गरेको विषयमा समेत आफ्ना ग्राहकहरूलाई जानकारी नगराउने युनिलिभरको यो कदमले आम उपभोक्ताहरूमा भने युनिलिभरका सामानप्रति ढुक्क हुन सक्ने आधार नै नरहेको व्यापारीहरू बताउँछन्। यदी आफ्नो लोगो प्रयोग गरेर अन्य कमसल सामान बजारमा विक्री भएको हो भने आफ्ना ग्राहकहरूलाई यस विषयमा जानकारी दिनुको सट्टा उल्टै त्यसबाट पन्छिने प्रयास गर्नु युनिलिभरको उपभोक्तामाथिको गैरजिम्मेवारीपनाको झल्को देखिन्छ। 
 
कुन कुन पसलबाट समातिए नक्कली कस्मेटिक
विभागले प्रहरीको सहयोगमा कस्मेटीकका सामानहरु वरामद गरिएको महानगरीय प्रहरी वृत जनसेवाका प्रमुख डिएसपी विनोद घिमिरले जानकारी दिए। उनका अनुसार मखनस्थित निकिता इम्पेक्स, पवन इम्पेक्स, रोशनी इन्टरनेशनल, अन्जली वाला इम्पेक्समा छापा मार्दा फेला परेको ती सामान वरामद गरी कारवाहीको लागि उद्योग विभाग पठाएको छ। यस विषयमा विभागले अनुसन्धान थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ