arrow

'निला स्याल' हरुले सरकार परिवर्तनमा छिमेकीको नाम जोडेः भट्टराई

'सम्बन्धित पक्षहरुले जनतालाई सत्यतथ्य सुसूचित गर्नुपर्छ'

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg
सुर्खेत। नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले सरकार परिवर्तनमा बाह्य शक्ति केन्द्रहरुको नाम जोडिनु अत्यन्त दुःखद भएको बताएका छन्। विहीबार बिहान सुर्खेतमा नेपाल प्रेस सोसाइटीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार परिवर्तनलाई नितान्त आन्तरिक लोकतन्त्रको कुरा भएको बताए। 
 
'सरकार परिवर्तनको कुरा आन्तरिक लोकतन्त्रको कुरा हो,' उनले भने, ' यसमा वाह्य शक्ति केन्द्रहरुको नाम जोडिनु अत्यन्त दु:खद कुरा हो।' संयोजक भट्टराईले यसका सम्बन्धमा सम्बन्धित पक्षहरुले, सरकार बनाउन लागेका दल र नेताहरुले सत्यतथ्य जनतालाई सुसूचित गर्नुपर्नेमा उहाँले जोड दिए। उनले आफूलाई पनि अराष्ट्रवादीको आरोप लगाउने गरिएको भन्दै त्यस्तो आरोप लगाउनेहरुलाई 'नीलवर्ण स्याल' को संज्ञा दिए।
 
पत्रकार भेटघाटमा नीलवर्ण स्यालको कथा सुनाउँदै उनले भने, 'निलो रंगमा डुबेर नीलो भएको स्यालले आफूलाई जंगलको राजा भएको बताएर अरुलाई दु:ख दिने गर्दथ्यो र पछि अरु स्याल कराउँदा नीलो स्याल पनि सँगै कराएपछि ऊ पनि स्याल भएको पत्ता लागेको थियो।' उनले आफूलाई मात्रै राष्ट्रवादी भएको बताउनेहरु पनि 'नीलवर्ण स्याल' भएको बताए।
 
उहाँले अहिलेको व्यवस्थाले देशलाई समृद्ध बनाउन नसक्ने भन्दै देशको विविधता सम्बोधन गर्न पूर्ण समानुपातिक व्यवस्थापिका र राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय प्रणालीमा जानुपर्ने धारणा राखे। 'यसका लागि संविधान संशोधन गर्न नयाँ शक्ति नेपालले अभियान चलाउँछ,' उनले भने, 'नेपाली जनताको माग पनि यही हो, हामी जनताको मागलाई अगाडि बढाउँछौं।'
 
उनले बाढी पहिरोलगायत प्राकृतिक विपत्तिमा परेकाहरुको तत्काल उद्धार र पुनःस्थापनको काममा लाग्न सरकारलाई आग्रह गरे। 'त्यसमा जुट्न सबै नयाँ शक्ति नेपालका अभियन्ताहरुलाई पनि आग्रह गर्दछौं,' उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ