arrow

नेविसंघको महाधिवेशन समयमै गर्न बढी विवादित जिल्लालाई बाइपास गरौं –गुरूराज घिमिरे

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
gururaj-ghimire.jpg.jpeg
नेपालको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको सबैभन्दा सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको महाधिवेशन टाउको दुखाइ बनेको छ । आठ वर्षदेखि हुन नसकेको महाधिवेशन यसपटक जसरी पनि गर्नका लािग काँग्रेस लागेको छ । 
 
तर सो अनुसार तयारी भने तीव्र पार्न सकेको छैन । र, पनि यही साउन २३ देखि २५ गतेसम्म महाधिवेशन काठमाडौंमा गर्न काँग्रेस प्रयासरत छ । यसका लागि काँग्रेसले डा. प्रकाशशरण महतको नेतृत्वमा नेविसंघ केन्द्रीय महाधिवेशन निर्देशक समिति नै गठन गरेको छ । 
 
यो समितिले के गरेको छ त ? ‘हामी असन्तुष्टि मेटाउने प्रयस गरिरहेका छौ, यो समाधान हुन्छ र समयमै महाधिवेशन हुनेमा आशावादी छु’, समितिका सदस्य काँग्रेस नेता गुरुराज घिमिरेले भने । उनले साउन १५ गतेदेखि विवाद टुङ्ग्याउन नेविसंघको केन्द्रीय समितिले दिएको प्रतिवेदनबारे छलफल गर्ने र समाधान खोज्ने जनाएका छन् ।
 
उनले अर्का काँग्रेस नेता प्रकाशमान सिंह नेतृत्वको पुरानो निर्देशक समितिले तयार गरेको प्रतिवेदनमा अहिलेको मागलाई कसरी समाधान गर्न सकिन्छ भनी सोचिरहेको भन्दै त्यसकै आधारमा विधान संसोधन गर्ने पनि जनाए । 
उनले ६४ जिल्लामा महाधिवेशन प्रतिनिधिको विवाद टुङ्गिएको भन्दै बाँकी जिल्लाको केही दिनमै टुङ्गिने जनाए । 
 
नेविसंघको असन्तुष्ट पक्ष भने ६ दिनदेखि रिले अनसनमा छ । शनिबारदेखि आमरण अनसन नै बस्ने तयारीमा छ । यस्तो अवस्थामा सदस्य घिमिरेले भने ‘हामी अनसनरत विद्यार्थीका माग पनि सुन्छौं, कहाँ संवोधन गर्न सकिन्छ भनी छलफल गर्छौं, अब हाम्रो वशले पनि नसक्ने माग भने केन्द्रीय समितिमा पठाउँछौं ।’
 
उनले भने ‘विवाद निकाल्दै गयो भने समाधान कहिल्यै हुनेछैन, महाधिवेशन सफल बनाउने हो भने धेरै विवाद भएका जिल्लालाई बाइपास पनि गर्न सक्नुपर्छ । पूरै विवाद समाधान गरेरमात्र महाविधेन गर्न खोज्ने हो भने महाधिवेशन कहिल्यै हुने छैन ।’ नेता घिमिरेले आमरण अनसन गरेर समाधान नहुने भन्दै अब एक भएर अगाडि बढ्नु पर्ने पनि बताए । 
 
यसैबीच, नेविसंघको असन्तुष्ट पक्ष भने आक्रामक बन्दै भोलिदेखि आमरण अनसन नै थाल्ने तयारी गरेको छ । गत आइतबारदेखि पार्टी मुख्यालय सानेपामा अनसनरत विद्यार्थी कार्यकर्तालाई भेट्न अहिलेसम्म केन्द्रीय तहका एक जनामात्र नेता पुगेसंगै स्पष्ट हुन्छ कि न त काँग्रेस नेताहरु अनसनलाई गम्भीर रुपमा लिएका छन् न त नेविसंघको महाधिवेशनलाई ।
 
अहिलेसम्म गत मंगलबार केन्द्रीय सदस्य गुरुराज घिमिरेमात्र पुगेको अनसनकारीले जनाएका छन् ।अहिलेसम्म ६४ जिल्लाबाटमात्र महाधिवेशन प्रतिनिधि छानिएको छ । त्यसमा पनि ११ जिल्लाका प्रतिनिधि आफूखुसी बाँडिएको भन्दै असन्तुष्ट पक्षले पुनः छनोट हुनुपर्ने माग गरेको छ । त्यस्तै ११ जिल्लामा अधिवेशन नै हुन सकेको छैन । 
 
अनसनमा बसेकाहरु पार्टीले विधिसम्मत महाधिवेशन गराउन चाहने हो भने यी सबै जिल्लाको छनोट पाँच दिनभित्रै सकिने प्रतिक्रिया दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ