arrow

एमालेले संविधान संशोधनमा सहयोग नगरे मधेशबाट पत्ता साफ हुन्छ: महतो

हाम्रो माग पूरा गर्ने प्रतिबद्धता आए सरकारमा जान्छौं

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
Rajendra-Mahato.jpg.jpeg
काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेले संविधान संशोधनमा सहयोग नगरे मधेशमा पत्ता साफ हुने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष महतोले भने, 'एमालेले समर्थन गरेन भने उसको मधेशको उपस्थितिलाई लिएर प्रश्न उठ्छ, एमालेले या त मधेश छाड्नुपर्यो, या मधेशको मुद्दा सम्बोधन गर्नुपर्यो, उसँग अहिले दुईवटा मात्रै विकल्प छ ।’ संविधान संशोधनको लागि मधेशी मोर्चाले संकल्प प्रस्ताव नलैजाने उनको दाबी थियो । 
 
महतोले काँग्रेस र माओवादी केन्द्रले मधेशको माग सम्बोधन गर्न संशोधन प्रस्ताव पेश गरे एमालेले समर्थन गर्ने ठोकुवा गरे ।  उनले काँग्रेस–माओवादी केन्द्रले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेमात्रै मोर्चा अब बन्ने सरकारमा सहभागी हुने स्पष्ट पारे । उनले भने,‘अहिले उहाँहरुले हाम्रो समर्थन माग्नु नै भएको छैन, यदि माँग्नु भयो भने हामी उहाँहरुसँग प्रष्ट रुपमा हाम्रा माग सम्बोधन गर्नेवारे कुरा राख्छौं ।’
 
अध्यक्ष महतोले भने,‘अब बन्ने सरकारले कस्तो व्यवहार गर्छ, हामी पनि त्यही अनुसार चल्छौं, मोर्चाले अघि सारेको ११ बुँदे मागबारे उहाँहरुको प्रष्ट धारणा आउनुपर्छ, अनि मात्रै सरकारमा जाने वा नजानेवारे हामी निर्णय गर्छौं ।’
 
उनले काँग्रेस–माओवादी केन्द्रवीच भएको ७ बुँदे सम्झौताको पहिलो बुँदामा मधेशी मोर्चाको माग सम्बोधन गर्ने कुरा उल्लेख गरिएकोमा सकारात्मक कदम भएको उल्लेख गर्दै भने,‘उहाँहरुको प्रतिबद्धता सकारात्मक छ, तर अब त्यही अनुसारको काम पनि हुनुपर्यो नि, त्यस्ता बुँदा कति आए आए ? हामी उहाँहरुको व्यवहार हेर्न आँतुर छौं ।’
 
महतोले मोर्चाले अघि सारेका संविधानसम्बन्धी मागहरु र मधेश आन्दोलनबाट उब्जिएका समस्याहरुको समाधान गर्ने प्रतिबद्धता काँग्रेस र माओवादी केन्द्रले देखाए मोर्चा सरकारमा सहभागी हुने नभए बाहिर बसेरै सरकारलाई सहयोग गर्ने स्पष्ट पारे । विगतमा पनि आफ्ना मागहरु पूरा हुने विश्वासमा मोर्चा धेरैपटक सरकारमा सहभागी भएको स्मरण गर्दै महतोले थपे,‘सरकारमा गएरमात्रै के हुन्छ, मुख्य कुरा हाम्रो मुद्दा हो नि, त्यसैले माग पूरा नभएसम्म हामी सरकारको स पनि उच्चारण गर्दैनौं र अरु साथीहरुले पनि गर्नुहुँदैन् ।’
 
मोर्चाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा जानबाट रोकिरहेको छ रे नि त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,‘त्यो हाम्रो मतलवको विषय भएन, हामी उहाँलाई किन राक्छौं र ? प्रचण्डजीले जसलाई ल्याउन चाहनुहुन्छ त्यसलाई ल्याउन सक्नुहुन्छ ।’ उनले गच्छदार मधेश विरोधी नेता भएको भन्दै आलोचना समेत गरे । 
 
मोर्चाले भनेजस्तै मधेशमा दुई प्रदेश भए संघीयतासम्बन्धी सिमांनको मुद्दा सम्बोधन हुने उनले विश्वास व्यक्त गरे । उनले भने,‘झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्छ, तराईको भूभाग तराईमै हुनुपर्छ, यसमा सबै मिल्नुको विकल्प छैन् ।’
 
महतोले वर्तमान सरकार काम चलाउ भएपनि जनतालाई राहत दिने काममा समेत सुस्त भएको आरोप लगाउँदै भने,‘ओलीजीलाई सरकार गएकोमा चिन्ता छ, मर्माहत भएको छ, कामचलाउ भएपनि जनतालई राहत दिने कुरा खोई ?’ उनले देशका विभिन्न भूभागमा बाढिपहिरोका कारण जनता दुःखमा भएको भन्दै सरकारले त्यतातिर ध्यान दिनुपर्ने सुझाव दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ