arrow

बाढी र पहिरोबाट झन्डै ३०० परिवार विस्थापित

logo
सिटी पोख्रेल,
प्रकाशित २०७३ साउन १४ शुक्रबार
Badhi-news-aaja.jpg.jpeg
प्यूठान। लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा जिल्लाभरका बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिनाइ देखिएको छ । 
 
जिल्ला दैवी प्रकोप उद्धार समितिले सबैभन्दा धेरै प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउनका लागि नेपाली सेनाको सहयोग लिए पनि झन्डै पाँच घन्टासम्म पैदल हिँड्नुपर्ने भएपछि समयमै राहत पुर्‍याउनका लागि कठिनाइ भएको हो । 
 
जिल्लास्तरबाट तत्कालका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले चिउरा, चाउचाउ, दालमोठजस्ता अत्यावश्यक वस्तु पुर्‍याए पनि अन्य खाद्यान्न र लत्ताकपडा पुर्‍याउन समस्या देखिएको हो । राहत सामग्री ढुवानी गर्नका लागि फोप्ली गाविसमा नेपाली सेना र नेपाल प्रहरीले हेलिप्याड निर्माण गरे पनि केन्द्रबाट हेलिकप्टर नपठाउँदा राहत सामग्री पुर्‍याउन समस्या भएको छ । राहत सामग्री ढुवानी गर्नका लागि हेलिकप्टर माग भए पनि हालसम्म आउन नसकेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताए । 
 
“तत्कालको राहत सामग्रीका लागि नेपाली सेना र नेपाल प्रहरीले ढुवानी कार्य गरिरहेका छन् ।” प्रनाउ राठोरले भने –“जिल्लास्तरमा राहत सामग्रीसँगै हेलिकप्टरको आवश्यकता देखिएको छ ।” लगातार तीन दिनसम्मको वर्षाका कारण ३८ जनाको मृत्यु भएको प्यूठानमा अहिलेसम्म झन्डै ३०० घरपरिवार विस्थापित भएका छन् । 
 
पहिरोमा परी मृत्यु भएकाका आफन्त र विस्थापितका लागि राहत सामग्रीसहित खानेपानी, स्वास्थ्य तथा बसोबासको समस्या देखिएको फोप्लीका स्थानीयवासी तथा राहत कार्यमा खटिएका नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले बताए । 
 
“स्थानीयवासीमा पानी, बसोबास, खाद्यान्न तथा स्वास्थ्य समस्या देखिएको छ ।” तीन दिनदेखि उद्धार कार्यमा खटिएका भण्डारीले भने  – “तीन दिनको सुत्केरीसहित वृद्ध र नाबालक पनि यहाँ बेवारिसे अवस्थामा रहेका छन् । उनीहरुको उद्धार गरी उचित बसोबास र खाद्यान्नसहित स्वास्थ्य सेवा तत्काल लैजान आवश्यक छ ।” 
 
हालसम्म फोप्लीको ३, ४ र ५ नं वडामा मात्रै २४ जनाको मृत्यु भएको छ । त्यस्तै यहाँ अझै दुई जना बेपत्ता रहेका छन् भने जिल्लाका विभिन्न स्थानमा अझै पनि छ जना बेपत्ता रहेको भन्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उनीहरुको खोजीसँगै उद्धार र राहतलाई प्राथमिकता दिइएको बताए । 
 
“राहतस्वरुप हामीले तत्कालका लागि रु आठ हजारसम्म राहत दिएका छौँ ।” प्रजिअ पन्थले भने  – “जिल्लामै हालसम्मकै ठूलो मानवीय क्षति भएको समय छ । यसमा प्रतिमृत परिवार रु ४० हजारसम्म आर्थिक राहत दिने तयारी गरेका छौँ । तर अन्य निकायको समन्वयमा खाद्यान्न र लत्ताकपडा पनि वितरण गर्ने तयारी गरेकाछौँ ।” बाढी पहिरोमा परी मृत्यु भएका सँगै विस्थापित र बाँचेकाको अहिले बिचल्ली भएको छ । 
 
जिल्लामा ३०० भन्दा धेरै परिवार विस्थापित 
 
लगातारको वर्षासँगै आएको बाढी पहिरोमा परी उच्च जोखिममा रहेका रजवारा, खुङ, पूजा, खवाङ, फोप्ली, लुङ र भिगृमा स्थानीयवासी विस्थापित भएका छन् । जिल्लामा सबैभन्दा धेरै फोप्ली गाविसको ३, ४, ५, ६ र ९ नं वडामा मात्रै १४६ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरु विद्यालय, गोठ तथा आफन्तको आश्रय लिएर बसेका छन् । 
 
त्यस्तै डामृमा ४२, अर्खामा २८ र लिवाङमा १७ परिवार विस्थापित भएका छन् । त्यस्तै उत्तरी प्यूठानको स्याउलिवाङ र ओखरकोटमा १६ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । विस्थापित परिवारमा सदस्यहरु झन्डै एक हजार ५०० जनाभन्दा धेरै विस्थापित भएको हुन सक्ने अनुमान गरिएको छ । विस्थापित परिवार अधिकांश विद्यालय तथा खुला ठाउँ र आफन्तकामा बसेका छन् । जिल्लाभरमा स–साना पहिरो असङ्ख्य मात्रामा गएका छन् । 
 
अधिकांश ठाउँ उच्च जोखिममा 
 
जिल्लामा बाढी पहिरो गएका अधिकांश ठाउँ उच्च जोखिममा रहेका छन् । पहिरो गएका ठाउँमा पानीका मुहान फुटेसँगै गाउँका बस्ती उच्च जोखिममा रहेका छन् । भूकम्पसँगै लगातारको वर्षाका कारण जमिनमा चट्टान र माटो बीचमा ठूलो कम्पन आएकाले ठाउँहरु उच्च जोखिममा रहेका छन् । जिल्ला दैवी प्रकोप प्रतिकार्य योजनामा पनि उत्तरी क्षेत्रहरु आफौँ जोखिममा रहेको भन्दै प्रजिअ जनकराज पन्थले लगातारको वर्षासँगै सो क्षेत्रका ठाउँ र बसोबास गरेका स्थान उच्च जोखिममै रहेको बताए । 
 
छ बेपत्ता अझै फेला परेनन् 
 
लगातारको बाढी र पहिरोका कारण जिल्लाभरमा हालसम्म अझै छ जना बेपत्ता रहेका छन् । उनीहरु तीन दिन बितिसक्दा पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । 
 
हालसम्म फोप्ली–३ मा ४१ वर्षीया चमेली पुन, चार वर्षीया थमी पुन, खवाङ–३ का ८० वर्षीय फुटरी सुनार खवाङ–७ का २५ वर्षीया काली परियारसहित लुङ–६ वहानेका ११ वर्षीय किरण थापा र ३० वर्षीया शोभा रिजाल बेपत्ता रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ