- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो पार्टीका बारेमा आएका समाचारहरु भ्रामक भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ । प्रवक्ता शरदराज पाठकले आज प्रेस विज्ञप्ति जारी गर्दै गत केही समयदेखि कतिपय प्रकाशनमा पार्टीका बारेमा आएका समाचारलाई भ्रामक भनेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विचारमा लेखकलाई व्यक्तिगत विश्लेषणको छुट भए पनि समाचारमा त्यस्तो छुट नहुने हुँदा पार्टीबारे समाचार प्रकाशन गर्दा पार्टीको धारणासहित प्रकाशन गरिदिन विनम्र आग्रह गर्दछौँ ।’
थप स्पष्ट पार्दै विज्ञप्तिमा लेखिएको छ, ‘विवेकशील साझा पार्टीले पार्टीका संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो हो । त्यसबाहेक विभिन्न मिडियामा आएजस्तो अन्य कुनै पनि नेतालाई स्पष्टीकरण सोध्ने या कारबाही गर्ने कार्य भएको छैन । केही नेताहरूको आन्तरिक रूपमा भूमिका परिवर्तन गर्न लागिएको हो । त्यो कारबाही होइन ।’
विज्ञप्तिमा समाचारका आएका विषयलाई नै स्पष्ट पार्दै भनिएको छ, ‘पार्टीको बागमती प्रदेशका सहसंयोजकले राजीनामा दिनुभएको हो तर मिडियाहरूमा आएजस्तो बागमती प्रदेश समिति भङ्ग भएको होइन ।’
निर्वाचन आयोगको स्पष्टीकरणबारे विवेकशीलले भनेको छ, ‘मिडियामा आएजस्तो निर्वाचन आयोगले पार्टीसँग कुनै स्पष्टीकरण सोधेको छैन । निर्वाचन आयोगले केही विषयमा ‘प्रतिक्रिया’ मागेको हो, जुन पार्टीले बुझाइसकेको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार कुनै पनि पार्टीको केन्द्रीय समितिको निर्णय विरुद्ध उजुरी दिनु परेमा केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको हस्ताक्षर सहित ३० दिनभित्र निर्वाचन आयोगमा उजुरी गर्नु पर्ने हुन्छ।’
अगाडि स्पष्ट पारिएको छ, ‘पार्टी संयोजक मिलन पाण्डेले केन्द्रीय समितिका दुई जना सदस्यको असहमति संलग्न गरी दिएको उजुरीको कुनै कानूनी औचित्य रहँदैन र सोही कुरा हामीले निर्वाचन आयोगले मागेको प्रतिक्रियामा उल्लेख गरेका छौँ ।’
रवीन्द्र मिश्रलाई १५ पृष्ठ लामो जवाफ दिँदै मिलन पाण्डेले भने – गणतन्त्र जिन्दावाद (पत्रसहित)