arrow

ग्रिसमा भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
greece-map.jpg
फाइल तस्बिर

लन्डन। गत मङ्सिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। गैर कानुनी रूपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगङ्गा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन्। सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी थियो।

ग्रिस प्रहरीले पठाएको फोटो प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन (इन्टरपोल) को वेबसाइटमा राखिएको थियो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको भियनास्थित नेपाली राजदूतावासले जनाएको छ।

दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको र अब शवलाई नेपाल पठाउने प्रक्रिया सुरु गरिसकेको बताए।

दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ। भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगङ्गा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए। हाल ग्रिसको एथेन्स सहरमा रहेका उनीहरूबाट नै गाडीमा अन्य चार जना नेपालीहरू पनि सवार रहेको खुल्न आएको थियो।

गैर कानुनी रूपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सात जना आप्रवासीहरूको सो दुर्घटनामा मृत्यु भएको थियो। दुर्घटनामा दुई नेपाली सहित आठ जना घाइते भएका थिए। ओभर लोड गाडी तीव्र गतिमा गुडेको हुँदा चालकले सन्तुलन गुमाएर दुर्घटना भएको हुन सक्ने आशङ्का गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ