arrow

आठौँ पटकको घोषणालाई महाधिवेशनमा बदल्न नेविसंघ नेताको माग

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
nebisangnetaharu.jpg.jpeg
काठमाडौँ । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक्षका उम्मेदवारहरुले माग गरेका छन् । 
 
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सात जना अध्यक्षका उम्मेदवारले यही साउन २३ देखि २५ मै महाधिवेशन गरिनुपर्नेमा जोड दिए । विसं २०६४ असोजमा नेपाली काँग्रेस एक भएदेखि भ्रातृ संस्था नेविसङ्घको महाधिवेशन हुन सकेको छैन । दश वर्षदेखि महाधिवेशन नहुँदा करिब २५ जनाले नेतृत्वको दाबी गरेका छन् । अध्यक्ष दाबी गर्ने धेरै नेता ३५ वर्ष उमेर पार गरेका छन् । लामो समय महाधिवेशन नहुँदा धेरैको दाबी नेतृत्वमा भएको अध्यक्ष पदका उम्मेदवारहरुको भनाइ छ । 
 
अध्यक्ष पदका दावेदार नैनसिंह महरले कक्षा ९ देखि १२ सम्म माध्यमिक तह भएपछि माविबाट विद्यार्थी राजनीतिलाई अलग राख्ने प्रस्ताव आफूले महाधिवेशनमा राख्ने बताए । “माध्यमिक तहमा विद्यार्थी राजनीति गरिँदा शैक्षिक क्षेत्रमा विकृति फैलिएको छ, यसैले यो तहबाट विद्यार्थी राजनीति अन्त्य गरौँ भन्ने प्रस्ताव अन्य विद्यार्थी सङ्गठनसँग नेविसंघले राख्नुपर्छ, सबै विद्यार्थी सङ्गठन मिलेर नैतिकतामा आधारित मानवतावादी शिक्षाको मुद्दा उठाउनुपर्छ”–उनले भने । 
 
अध्यक्ष पदका अर्का उम्मेदवार नीलकण्ठ रिजालले हालसम्म नेविसङ्घका १७ अध्यक्षमध्ये ११ जना ‘टीकेशैली’बाट आएको जनाउँदै लोकतान्त्रिक सङ्गठनको महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने माग गरे । “नेविसंघका सबै तहमा दुई वर्षमा अधिवेशन नभए त्यो समिति स्वतः खारेज हुने व्यवस्था वैधानिक रुपमा गरिनुपर्छ”–उनले भने । 
 
नेता क्षितिज भण्डारीले महाधिवेशन आउन एक हप्ता मात्र बाँकी हुँदा पनि देशभरबाट आउने विद्यार्थीका लागि केन्द्रीय समितिले अहिलेसम्म खाने बस्ने व्यवस्था नगरेर महाधिवेशन नहुने सन्देश दिएको आरोप लगाए । 
 
अध्यक्षको दाबी गर्दै आएका सरोज थापाले ११ जिल्लाका समानान्तर जिल्ला समितिलाई मिलाएर महाधिवेशनमा जानुपर्ने बताए । कार्यक्रममा दीपक भट्टराई, आनन्द त्रिपाठी र रामप्रसाद अधिकारीले यस पटक महाधिवेशन सफल बनाएर सकारात्मक सन्देश प्रवाह गरिनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ