arrow

किर्ते कामदार बनाएर प्रधानमन्त्री रोजगार कार्यक्रमको लाखौँ रकम हिनामिना 

logo
बझाङ समाचारदाता,
प्रकाशित २०७८ पुष ११ आइतबार
pm-rojgar-karyakaram.png

बझाङ, चैनपुर । बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ६ मा किर्ते कामदार खडा गरेर उपभोक्ता समितिले लाखौँ रकम हिनामिना गरिएको बुझिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडामा ग्राभेल बाटो निर्माण गर्नका लागि बनेको उपभोक्ता समितिले किर्ते कामदार बनाएर ५ लाख १७ हजार हिनामिना गरेको छ । 

 दुर्गाथली गाउँपालिकाको-६ दुर्गम गाउँ चुहाबनमा ५ सय मिटर (नैरेथुन-चौपाटा ग्रोवेल) बाटो निर्माणका लागि बनेको उपभोक्ता समितिले १० जना किर्ते कामदार खडा गरेर बैङ्कबाट ५ लाख रुपैयाँ बढी रकम लिएको छ । 

गत आर्थिक वर्षको फागुनमा सडक निर्माणका लागि ३३ जना कामदारले निरन्तर एक सय दिन काम गरेको भए पनि बैङ्कबाट भने ४३ जनाको नाममा रकम निकालिएको प्रमाण फेला परेको हो । उपभोक्ता समितिले प्रतिव्यक्तिको प्रतिदिनको ज्याला ५ सय १७ रुपैयाँ तोकेर ३३ जनालाई काममा लगाएको थियो । एक जनाले सय दिन काम गर्दा ५१ हजार ७ सय रुपैयाँ पाउँछन् । 

त्यसमध्ये १ प्रतिशत कर कट्टी गर्दा ५१ हजार १८३ रुपैयाँ प्रति कामदारले पाएका थिए । ३३ जनाले एक सय दिन काम गर्दा कुल १७ लाख ६ हजार रुपैयाँ हुन आउँछ । तर, बैङ्कबाट ४३ जनाको नामबाट कुल २२ लाख २३ हजार रुपैयाँ भुक्तानी भएको देखिएको छ । काम नगरेका १० जना किर्ते कामदार खडा गरेर ५ लाख १७ हजार रुपैयाँ अतिरिक्त भुक्तानी गरेको भेटिएको छ । 

स्थानीयहरूले उपभोक्ता समितिका अध्यक्ष सुन्दर बिक, सचिव अर्जुन धामी र वडा अध्यक्ष धिरज बहादुर जाग्रीको मिलेमतोमा रकम हिनामिना गरेको स्थानीयको आरोप छ । उनीहरूले किर्ते कामदार खडा गरेर ५ लाख १७ हजार रुपैयाँ कुम्ल्याएको स्थानीयको आरोप छ । गाउँपालिकाले वडा कार्यालय मार्फत बेरोजगारहरूको आवेदन माग गरेर सङ्घीय सरकारलाई पठाए पछि सङ्घीय सरकारले प्रमाणित गरेर गाउँपालिकालाई पठाउने प्रावधान छ ।

सोही प्रक्रिया अनुसार सङ्घीय सरकारले दुर्गाथली गाउँपालिका-६का ४३ जनाको नाम प्रमाणित गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममा १०० दिनको रोजगारी दिने उद्देश्यले रकम समेत गाउँपालिकामा पठाएको थियो । 

सङ्घीय सरकारले प्रमाणित गरि पठाएका कामदारहरू मध्ये उपभोक्ता समितिको कोषाध्यक्ष समेत रहेकी एकल महिला कलसीले देवी धामीले भनिन्, 'पहिले हामीलाई काम गर्नका लागी खाता खोल्न लगायो । पछि नाम काटिएको रहेछ भनेर काम गर्न नआऊ भने पछि काम गर्न गएनौ । म अनपढ महिला केही पनि थाहा थिएन । उपभोक्ता समितिका अध्यक्षले खातामा रकम निकाल्नु छ । बैक जाऊ भने पछि गए तर मेरो खातामा पनि पैसा आएको रहेछ ,त्यो पैसा झिकेर लिई मलाई १५ हजार रुपियाँ दिँदा किन दिएको भन्दा वडाध्यक्ष धिरज जाग्रीले बैक आउन जानको खाना खर्च भनेर दिएको हो लुगा कपडा किन्नु भनेर भन्यो । पछि थाहा पाउँदा त मेरो खाताबाट पैसा झिकेर लिएको रहेछ ।'

'आफू घरबाट बैङ्कमा आउँदा समेत अरू मान्छेले देख्यो भने अस्पताल जान्छु भन्नु भनी उपभोक्ता समिति अध्यक्षले भनेकाले किन यस्तो भन्यो भनेर शङ्का त लागेको थियो' । उपभोक्ता समितिका केही पदाधिकारी र वडा अध्यक्षले १० जना किर्ते कामदारलाई १५ हजार रुपैयाँ दिने आश्वासनले हस्ताक्षर गर्न लगाएको बताएका छन् । उनीहरूले १५ हजार रुपैयाँ दिने र बैङ्कबाट रकम भुक्तानीका लागि हस्ताक्षर गरिदिन आग्रह गरेको बुझिएको हो । 

स्थानीयका अनुसार कलसीसहित अन्य ९ जना किर्ते कामदारलाई पनि १५ हजार रुपैयाँ दिएर हस्ताक्षर गर्न लगाइएको हो ।सो योजनामा नियमित काम गरिरहेका स्थानीय कामदार राईसिंगे जाग्रीले भने, 'प्रधानमन्त्री स्वरोजगारको काम गर्नका लागी पहिले वडा कार्यालय र उपभोक्ता समितिले ४३ जनालाई गाउँपालिकामा रहेको कुमारी बैङ्कमा खाता खोल्न लगाएको भए पनि अरूको नाम काटिएकाले ३३ जनाले मात्र काममा आउनु र बाँकी १० जनाले काममा नआउनु भनेर उपभोक्ता समितिले भने पछि काम म लगायत ३३ जनाले मात्र काम गरेको हो । ३३ जना बाहेक अरूले काम गरेको भए जुनसुकै देवी देउतामा पनि जान तयार छु तर ४३ जनाको नाममा पैसा आएकोमा अचम्म छु ।' 

गत आर्थिक वर्षको असारमा सम्पन्न भएको सो योजना साउनको अन्तिम तिर ४३ जनाको नाममा रकम आएको जानकारी पछि स्थानीयहरूले असोज ८ गते गाउँपालिकामा रहेको न्यायिक समितिमा उजुरी गरेका थिए । गाउँपालिकाले न्यायिक समितिमा उजुरी गर्दा पनि गाउँपालिकाले आनाकानी गरेको स्थानीयको आरोप छ । 

यता वडा अध्यक्ष धिरज जाग्रीले ४३ जनाले नै काम गरेको दावी गरे । उनले भने ३३ जना निरन्तर काममा आउँथे, तर १० जना कामदारको कहिले छोराछोरी त कहिले घरको अन्य सदस्य पठाउँथे, त्यसैले उनीहरूले शङ्का गरेको र आफूहरूले रकम हिनामिना नगरेको बताए । यस विषयमा गाउँपालिकाले अनुसन्धान गरिरहेको गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले बताए । 



नयाँ