arrow

म्यानचेस्टर सिटी अगाडि, यस्तो छ लिगको अहिलेसम्मको अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
mancity-3222.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले अग्रतालाई फराकिलो बनाएको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई ६–३ गोल अन्तरले पराजित गर्दै सिटीले लिगमा ६ अंकको अग्रता लिएको हो ।

इत्तेहाद स्टेडियममा भएको खेलमा म्यानसिटीलाई जिताउन रहिम स्टर्लिङले २ तथा केभिन डे ब्रुने, रियाद महरेज, इल्के गुन्डोगान र लापोर्तेले १–१ गोल गरे । 

२५ मिनेटसम्म ४–० ले अग्रता लिएको भए पनि सिटीले थप सहज जित हासिल गर्न सकेन । त्यसपछि भने लगातार तीन गोल खायो र ४–३ ले बराबरी नजिक पुग्यो लेस्टर सिटी ।

५५ औं मिनेटमा जेम्स म्याडिसन, ५९ औं मिनेटमा एडिमोला लुकम्यान र ६५ औं मिनेटमा केलिची इहानचोले गोल गरेपछि खेल ४–३ को अवस्थामा आयो ।

६९ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीलाई ५–३ को अग्रता दिलाए ।  ८७ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ६–३ ले जिताए । 

आइतबार राति बक्सिङ डे को दिन भएका अन्य खेलको नतिजा
गएराति तीन खेल स्थगित भए । लिभरपुल र लिड्स युनाइटेड, वुल्भरह्याम्पटन वान्डेरर्स र वाट्फोर्ड तथा बर्नली र एभर्टनको खेल स्थगित भयो । 

अन्य खेलमा नर्विच सिटी आर्सनलसँग ५–० गोल अन्तरले पराजित भयो । बुकायो साकाले दुई गोल गरे । 

टोटनह्याम हट्सपरले क्रिस्टल प्यालेसलाई ३–० गोल अन्तरले हरायो । 

साउथह्याम्पटनले वेष्ट ह्याम युनाइटेडलाई ३–२ गोल अन्तरले हरायो । 

चेल्सीले एस्टन भिल्लालाई ३–१ ले हरायो । योर्गिन्होले २ तथा रोमेलु लुकाकुले १ गोल गरे । 

ब्राइटनले ब्रेन्टफोर्डलाई २–० ले हरायो । 

आज राति एउटामात्र खेल हुँदैछ । आज न्यूकासल युनाइटेडले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । 

अंक तालिका
१९ खेलबाट ४७ अंकसहित म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ । तेस्रो स्थानको चेल्सीले १९ खेलबाट ४१ अंक जोडेको छ । 

१९ खेलबाट ३५ अंक जोडेको आर्सनल चौथो स्थानमा रहँदा १६ खेलबाट २९ अंकको टोटनह्याम पाँचौं स्थानमा छ । 

१६ खेलबाट २७ अंकसहित क्रिष्टियानो रोनाल्डो सम्मिलित म्यानचेस्टर युनाइटेड सातौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ