विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय गठबन्धनले राखेका माग अनुसार संविधान संशोधन नभए कुनै पनि निर्वाचन नहुने बताएका छन् । विराटनगरमा संचारकर्मीसँग अध्यक्ष महतोले अहिले सीमाङ्कन आयोगले बनाएको गाउँपालिका र नगरपालिकाको संख्या र मापदण्ड मान्य नहुने भन्दै मधेसको समस्या समाधान नभए सम्म कुनै पनि निर्वाचन हुन नदिने बताए ।
महतोले भने, ‘आयोले ५१ प्रतिशत भन्दा बढी जनसंख्या रहेको मधेशमा १ सय ८८ गाउँपालिका तथा नगरपालिका बनाउने र ४९ प्रतिशत जनसंख्या रहेको हिमाल र पहाडमा २ सयभन्दा बढी गाउँ तथा नगरपालिका बनाउने प्रस्ताव गर्नु मधेस विरोधी कदम भएको बताए ।
उनले आफुहरुका माग पूरा नभएसम्म नयाँ बन्ने सरकारमा गठबन्धन सहभागि नहुने समेत सुनाए । अध्यक्ष महतोले संविधानसभाको निर्वाचन अब असम्भव रहेकाले आफुहरु संविधान पुनःलेखन नभई संशोधनको पक्षमा रहेको उल्लेख गरे ।
उनले भने, ‘नयाँ सरकार गठनमा लागेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा र क्षतिपूर्ति, घाइतेको उपचार, झुठ्ठा मुद्दा खारेज, न्यायिक आयोग गठन, राज्यको पुनःसंरचना, निर्वाचन प्रणाली लगायत हामीले राखेका मागहरु पूरा गर्न लिखित प्रतिबद्धता जनाए सरकार बाहिर बसेर सहयोग गर्ने हामीले भनि सकेका छौं ।’
राज्य पुनःसंरचना आयोगले गरिरहेको स्थानीय निकायको पुनःसंरचना आफुहरुलाई मान्य नहुने बताए । अध्यक्ष महतोले सीमाङ्कन आयोगले अहिले गरिरहेको पूनःसंरचना अनुसार कुनैपनि निर्वाचन गरिए मधेशी मोर्चाले बहिष्कार गर्ने चेतावनी दिए ।
संयूक्त मधेशी गठबन्धनले राखेका मागहरु संविधान संशोधन गरेर पुरा नभएसम्म नयाँ बन्ने सरकारमा गठबन्धनको सहभागीता नरहने महतोले स्पष्ट पारे । उनले अर्को संविधानसभा अब असम्भव रहेकोले आफुहरु संविधान पूर्नलेखन नभई संशोधनको पक्षमा रहेको उल्लेख गरे ।
उनले भने,‘ मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा र क्षतीपूर्ति, घाइतेको उपचार, झुठ्ठा मुद्दा खारेज, न्यायिक आयोग गठन , राज्यको पुर्नसंरचना , निर्वाचन प्रणाली लगायतका आफुहरुले राखेको मागहरु पुरा गर्न नयाँ सरकार गठनमा लागेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले लिखित प्रतिबद्धता जनाएर सरकार वाहिर वसेर सहयोग गर्न आफुहरु तयार छौं ।’
आफ्नै गठबन्धन नेताले टुँडिखेलमा गरेको धर्नाप्रति व्यंग्य गर्दै महतोले १२ घन्टा धर्ना बस्दैमा सरकारले माग पूरा नगर्ने बताए । उनले भने, ‘मधेस आन्दोलनमा दर्जनौं मानिसको मृत्यु भयो र त माग पूरा भएन, खाएर १२ घन्टा बस्दैमा माग पूरा हुँदैन, धर्नामा मेरो असहमति छ ।’ अनसन बस्ने नै हो भने आमरण अनसन बस्नुपर्ने उनको भनाई छ ।
समस्या समाधान गर्न अब बन्ने नयाँ सरकारले पहल गर्नुपर्नेमा महतोले जोड दिए । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशमा २ प्रदेश हुनुपर्छ भनेर सहमति गरेको हुनाले कांग्रेस र माओवादीले सोही प्रस्ताव संसदमा लगेर संविधान संशोधन गरी आफुहरुको माग पूरा गर्नुपर्ने महतोको भनाई थियो ।
अध्यक्ष महतोले तराईको झापा, मोरङ, सुनसरी तथा कैलाली र कञ्चनपुरलाई टुक्र्याएर भएपनि सहमति खोज्नुपर्ने बताउनु भएको छ । समस्या समाधानका लागि कांग्रेस र माओवादीले मन लगाए एमाले पनि सहमतिमा आउन बाध्य हुने बताउँदै महतोले आफ्नो देशको समस्या समाधान नगरेर अरुलाई दोष थोपर्न नहुने बताए ।
महतोले सप्तरीको तिलाठीमा भएको बाँध विरोधी आन्दोलन र नेपाल–भारतका जनता जुधाउने काम सरकारले नै षड्यन्त्रपूर्वक गरेको जिकिर गरे । उनले भने, ‘सीमा तथा बाँधको समस्या सरकारी स्तरबाट हुनुपर्छ, भारतले बाँध बाँधुन्जेल आँखा चिम्लने अनि अति भएपछि जनताले के गर्नु भत्काउनु त पर्छ नै तर सरकारले नै यस्तो परिस्थिति निर्माण गरेको हो ।’ महतो शनिबार पार्टीको कामका सिलशीलामा विराटनगर पुगेका हुन् ।