प्रचण्डको दस्तावेजमाथि न्यौपानेको फरक मत : नेताको सम्पत्ति छानबिन गरी कारबाही गरौँ
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
1.3k
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको वैचारिक राजनीतिक दस्तावेजमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।
प्रतिवेदनमाथिको समूहगत छलफलका क्रममा नेता न्यौपानेले दस्तावेज अपूर्ण रहेको भन्दै १० बुँदे फरक मत राखेका हुन् । समूहगत छलफलको निष्कर्ष राख्दै उपत्यका विशेष प्रदेशका नेता जगत सिंखडाले बन्द सत्रको हललाई उक्त जानकारी गराएका हुन् ।
नेता न्यौपानेले राजनीतिक दस्तावेजले विचार, दृष्टिकोण र दिशा समात्न नसकेको, नेपाली समाजको अन्तर्विरोध, वर्ग सम्बन्ध र सङ्घर्ष, उत्पादन प्रणाली, उत्पादनको साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे ठोस विश्लेषण गर्न नसकेको टिप्पणी गरेका छन् ।
उनले पार्टीमा कार्यशैलीगत समस्या देखिएको, नैतिकताको र आचरणको अभाव, सामन्ती र बुर्जुवा चिन्तन पद्धति हावी रहेको भन्दै उनले पार्टी तीव्र रूपमा दक्षिणपन्थी दिशामा अगाडि बढिरहेकाले त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने फरक मतमा राखेका छन् ।
शान्ति प्रक्रियामा आएपछि तीन पटक पार्टीले सरकारको नेतृत्व गरेको, पटक पटक पार्टी सरकारमा सहभागी भएको, एउटै पात्र पटकौँ मन्त्री बनेको भए पनि जनताले अनुभूत हुने गरी गुणात्मक काम हुन नसकेको भन्दै नेता न्यौपानेले पार्टीका तर्फबाट सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र कारबाही गर्ने आँट गर्न माग गरेका छन् ।
फरक मतमा नेता न्यौपानेले एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय सही नभएको, एमालेसँग चुनावी तालमेल, कार्यगत एकता सही भए पनि ‘छापामार शैली’मा पार्टी एकता गर्नु सैद्धान्तिक र प्रक्रियागत रूपमा गलत भएको टिप्पणी गरेका छन् । रासस