arrow

विश्व सम्पदास्थलको संरक्षण गर्न समितिको निर्देशन

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
Pashupati_Shivaratri.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक, पुरातात्विक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्णस्थलको संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । 
 
समितिको आजको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र सो अन्तर्गतका सरोकार भएका निकायलाई यस्तो निर्देशन दिएको हो । पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बीचबाट गुह्येश्वरी मन्दिरतिर जाने मोटर बाटो बन्द गरेर पैदलमार्ग मात्र कायम गर्न पनि समितिले निर्देशन दिएको छ । 
 
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक केन्द्र (युनेस्को) ले सो बाटो बन्द नगरे पशुपति क्षेत्रलाई विश्व सम्पदास्थलको कालो सूचीमा राख्ने तयारी गरेकाले छिटो बन्द गर्न बैठकमा सांसदले माग गरे । 
 
बैठकमा संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलले पशुपति, लुम्बिनी र जनकपुर क्षेत्रको विकासका लागि विस्तृत योजना ल्याउने तयारी भइरहेको जानकारी गराए । “पशुपति क्षेत्र अन्तर्गत ६४ महादेव मन्दिर (शिव लिङ्ग) पर्छन्, यी सबै मन्दिरलाई पशुपति परिक्रमा (सर्किट) का रुपमा विकास गर्न सके धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ, पशुपतिलाई जीवित तीर्थस्थलका रुपमा विकास गरिनुपर्छ”–उनले भने । 
 
गत वर्ष चैते दशैँमा मात्र मुक्तिनाथ मन्दिरमा एकै दिन १६ हजार भारतीय पर्यटक आएकाले लुम्बिनी, जनकपुर लगायत धार्मिक पर्यटकीयस्थलको प्रवद्र्धन गर्न सके नेपालीको आयआर्जन वृद्धि हुने मन्त्री पोखरेलको भनाइ थियो । 
 
मन्त्रालयका सचिव प्रेमकुमार राईले धार्मिक, सांस्कृतिक मठ मन्दिरमा धेरै समिति हुनाले विकास निर्माणमा समस्या आएको बताए । “पशुपति, लुम्बिनी र जनकपुर लगायतका सम्पदा स्थललाई उत्तिकै महत्व दिने नीति छ”–उनले भने । 
 
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले भूकम्पपछि पुनःनिर्माणमा पशुपति क्षेत्रलाई रु ५० करोड आवश्यक भएको बताए । “गत आर्थिक वर्षमा पशुपतिका सम्पदाको पुनःनिर्माणमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु सात करोड दिने भनेकामा बजेट नै आएन”–उनले भने । 
 
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले लुम्बिनी क्षेत्रलाई व्यवस्थित बनाउने गुरुयोजना अनुसार काम भइरहेको बताए । “लुम्बिनीमा चढाइने भेटीघाटी व्यवस्थित बनाइएको छ, लुम्बिनीलाई शान्ति नगरका रुपमा स्थापित गरिँदैछ”–उनले भने । 
 
बृहत्तर जनकपुर विकास परिषद्का कार्यकारी निर्देशक उमेश यादवले जनकपुर छायामा परेकाले राष्ट्रिय गौरवको आयोजना बनाई विकास गरिनुपर्ने बताउ । “जनकपुरका संरक्षित क्षेत्रको संरक्षण हुन नसक्दा चार सरोवर लुप्त भएका छन्, जनकपुरलाई पनि विश्व सम्पदा सूचीमा राखी यसको विकास गरिनुपर्छ”–उद्दले भने। 
 
नेकपा (एमाले) का नेता माधवकुमार नेपालले धार्मिक पर्यटन प्रवद्र्धनका लागि पशुपति, लुम्बिनी र जनकपुर लगायत धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले समेत महत्वपूर्णस्थलको विकासमा सरकारको ध्यान जानुपर्ने बताए । 
 
समितिका सभापति प्रभु साहले पशुपति, लुम्बिनी, जनकपुर लगायत सम्पदास्थलमा गर्नुपर्ने सुधारका सम्बन्धमा यसअघि दिइएका निर्देशनका विषयमा भएका कामको प्रतिवेदन एक महिनाभित्र बुझाउन मन्त्रालयलाई निर्देशन दिए । 
 
“जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने सन्दर्भमा आवश्यक गृहकार्य गर्न संस्कृति मन्त्रालयलाई यो बैठकले निर्देश गर्दछ, गोकर्ण रिसोर्टको सेयर परिवर्तनका विषयमा आगामी बैठकमा ट्रस्ट र अन्य सरोकारवाला निकायलाई बोलाई थप छलफल गरिनेछ”–उनले भने । 
 
बैठकमा सांसद भरतबहादुर खड्का, प्रेमकिशोर साह, अशोकुमार मण्डल, लालबाबु यादव, सुरेन्द्रप्रसाद चौधरी, अञ्जनी श्रेष्ठ, केशरी घर्ती, पेम्बा लामा, लक्ष्मी राई लगायतले विश्व सम्पदा सूचीमा सूचीकृत सबै सांस्कृतिकस्थलको समानुपातिक विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ