arrow

बस्दै सत्ता गठबन्धनको बैठक, लाग्दै राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुङ्गो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
gathabandhan baithak.jpg
तस्बिर– फाइल

काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बिहान बस्दैछ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । गत मंसिर ४ गतेपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने उपस्थित थिएन ।  

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने सरकारलाई बाहिर बसेरै समर्थन गरेको छ । 

राष्ट्रिय सभामा १९ पद रिक्त हुँदैछ । त्यसकै लागि निर्वाचन प्रक्रियाबाट १९ जना छानिदैछ । पदपूर्तिको लागि निर्वाचन प्रक्रिया शनिबारबाट शुरु भइसकेको छ । निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि शनिबारदेखि प्रक्रिया शुरु भएको र भोलिदेखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने र आचारसंहिता लागू हुनेछ ।

मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था भइसकेको आयोगले यसअघि नै जनाएको छ । निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहनेछन् । 

आयोगले चुनाव चिह्न पनि निर्धारण गरिसकेको छ । मतपत्रको शुरुमा नेकपा एमालेको सूर्य चिह्न रहने आयोगको भनाइ छ । त्यस्तै दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा, चौंथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता निर्धारण भइसकेको छ ।

पाँचौंमा एकीकृत समाजवादी, छैटौंमा लोकतान्त्रिक समाजवादी पार्टी, सातौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी, आठौंमा राष्ट्रिय जनमोर्चा, नवौंमा नेपाल मजदूर किसान पार्टी, १० औं स्थानमा प्रजातान्त्रिक जनता पार्टी, ११ नम्बरमा नेपाल लोकतान्त्रिक पार्टी र १२ औं स्थानमा नेपाल परिवार दलका चुनाव चिह्न रहने आयोगले जनाएको छ ।

यसपालिको चुनावबाट सबैभन्दा बढी बेफाइदा एमालेलाई हुने देखिएको छ । उसको बहुमत नभएकाले सत्ता गठबन्धन मजबुद देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ