काठमाडौं । उमेर १७ वर्ष । राष्ट्रिय कीर्तिमान ४५ । प्रायः हुने प्र्रतिस्पर्धामा उनको एउटै उद्धेश्य हुन्छ आफ्नो खेलमा सुधार गर्ने राष्ट्रिय कीर्तिमान तोड्ने । हो, शिरीष गुरुङ नेपाली पौडी दुनियाँको कीर्तिमानमा पर्याय हुन् । उनलाई आउँछ त केवल पौडी खेल्न र कीर्तिमान तोड्न । त्यो पनि राष्ट्रिय ।
तिनै शिरीष गुरुङ ३१ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा सहभागीता जनाउन ब्राजिल गएका छन् । ओलम्पिकमा पुग्नु कम्ती ठूलो चुनौती हैन । नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि यो अझै ठूलो यात्रा हो । खेलकुदमै लगानी गर्न डराउने सरकारका लागि त खेलाडीले ओलम्पिकमा पदक जित्ला भनेर आशा गर्नु निकै परको कुरा ।
त्यसैले त रियो ओलम्पिक खेल्न जानुअघि आइतबार शिरीषले हाम्राकुरासंग भने –’ओलम्पिकजस्तो ठूलो गेममा पदकको आशा गर्न सकिन्न, आफ्नो बेष्ट गर्ने हो, अरुको पर्फमेन्सभन्दा राम्रो गर्ने हो ।’ आइतबार राति नै ब्राजिलका लागि उडेका शिरीषले साउन २५ गते मंगलबार आफ्नो कीर्तिमानी समय पर्खेर बसेका छन् । उनले एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछन् ।
उनको राष्ट्रिय कीर्तिमान ५८.२२ सेकेन्ड हो । उनले यसलाई कम्तीमा एक सेकेन्ड सुधार गर्ने आशा लिएका छन् । ‘एक सेकेन्ड सुधार गर्नु पनि मेरा लागि ठूलो कुरा हो ।’ किन त ? ‘किनकि निरन्तर अभ्यासको अभाव’, उनको सहज एवं सटिक जवाफ छ । सरकारले लगानी गर्न पनि सक्दैन अनि व्यवस्थित गर्न पनि सक्दैन ।
एउटा पौडीबाजले दैनिकजसो अभ्यास गर्नुपर्छ । यहाँ त जाडो सुरु भएपछि त्यसै अनुसारको तयारी गर्न ठप्प हुन्छ । पौडीबाजहरु जाडोको समयमा पौडीस्थलमा पुग्नुको सट्टा दशरथ रंगशालामा दौडन पुग्छन् । कार्तिकदेखि फागुनसम्मै पौडी पोखरीहरु ठप्प हुन्छन् । त्यो समयमा दशरथ रंगशालामा दौडन नगएर खेलाडी जाउन् पनि कहाँ ?
सरकारले पौडीलाई साँच्चिकै गम्भीर रुपले हेरेको भए छ त्यस्तैखाले पौडी पोखरीको व्यवस्था गर्ने थियो । होइन भने कम्तीमा प्रतिस्पर्धाका समयमा वैदेशिक अभ्यासमा पठाउने थियो । त्यसो त शिरीषले गत शनिबार राजधानीको धुम्बाराहीमा रहेको धन्यन्तरी फुटसल प्रालिले सम्मान गर्ने कार्यक्रममा भनेका थिए –‘१३ वर्षअघि मैले पौडी पुलबाट करिअर सुरु गरेको थिएँ ।’
यो भनाइले नै स्पष्ट पार्छ कि पौडी खेलाडीहरु पौडी पुलमा गएर आफ्नो अभ्यासमा चित्त बुझाउनु पर्छ । शिरीषले नेपालमा भएका अधिकांश प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै कीर्तिमानसहित पहिलो स्थान ओगट्छन् ।
अन्तर्राष्ट्रिय स्तरमा पुगेपछि पहिलो होइन आफ्नो व्यक्तिगत प्रदर्शन सुधारमै लाग्नु खेलाडीका लागि अर्को विडम्बना हो । त्यसो त एसिया कपदेखि फिनासम्मको अनुभव लिएका शिरीषलाई अनुवभको अभाव छैन ।
तर अभाव छ त राम्रो अभ्यासको । पहिलोपटक ओलम्पिक खेल्दै गरेका शिरीष भन्छन् –‘ओलम्पिकमा जान पाउनु नै ठूलो कुरा हो, म त्यसमा एकदम खुसी छु, फेरि पनि भन्छु मेरै एउटै ध्यान आफ्नो बेष्ट गर्नु हो ।’
शिरीष उत्कृष्ट हुन् भन्नेमा सन्देह छैन । यसको प्रमाण उनलाई गरिने सम्मान पनि हो । गत शनिबारमात्र उनलाई धन्यन्तरीले सम्मान ग¥यो । त्यस्तै त्यसको दुई दिनअघि बिहीबार भाटभटेनी सुपर मार्केटले शिरीषलाई १ वर्षको लागि आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको थियो।
जसका लागि शिरीषले मासिक १ लाख पाउनेगरी वार्षिक १२ लाख प्राप्त गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार गुरुङलाई सम्झौता अवधिमा भाटभटेनीले कीर्तिमान बनाए हरेक कीर्तिमानमा थप १० हजार नगद दिने सम्झौता भएको छ ।
फुटबल, क्रिकेट अनि केही तेक्वान्दो खेलाडीले पाउने यस्ता एम्बासडरमा पौडी पनि पर्नु ठूलो कुरा हो । अर्थात् खेलाडीले राम्रो प्रदर्शन गर्ने हो भने ठूलाभन्दा ठूला जागिरेभन्दा पनि चर्चित हुन्छन् । अनि आम्दानी पनि उल्लेख्य हुँदै गएको छ ।
जसरी नेपाली राजनीतिमा अन्योल छाए भनेर गाली गरिन्छ त्यसरी नै खेलेर के हुन्छ भनेर भन्ने दिन गए । साँच्चिकै उत्कृष्ट खेल्नेले देशको झण्डा त फहराउँछ नै आफ्नो वृत्तिविकास पनि गर्छ ।
जसरी शिरीषले विभिन्न पुरस्कार र सम्मान पाउँछन् त्यसबाट स्पष्ट हुन्छ शिरीष बेष्ट नै हुन् । तर उनले रियो ओलम्पिकमा कत्तिको बेष्ट गर्लान् त त्यो भने हेर्न बाँकी छ ।