रुकुम। रुकुमका सरोकारवालाहरुले गाउँपालिका र नगरपालिका निर्माण गर्नको लागि जनसंख्या घटाउन माग गरेका छन् । आज सोमबार स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति रुकुमले आयोजना गरेको कार्यशालाका सहभागीहरुले गाउँपालिका निर्माण गर्नको लागि आवश्यक पर्ने जनसंख्या २५ हजारबाट २० हजारमा झार्न माग गरेका हुन ।
जनसंख्याकै कारण सर्वसाधारणले स्थानीय तहबाट सेवा लिन पहिलेको भन्दा थप समस्या हुने भएकाले वडा तहको जनसंख्या र गाउँपालिकाको जनसंख्यालाई पुर्नविचार गर्न आयोगसँग आग्रह गरेका हुन् । सहयोग समितिले जिल्ला स्थिति नागरिक समाजका प्रतिनिधि, पत्रकार, जिल्ला स्थित गैर सरकारी निकायका प्रमुखहरु सँग गरेको परामर्श कार्यशाला गोष्ठिका सहभागीहरुले रुकुम ५ नम्बर वा ६ नम्बर कुन प्रदेशमा हो प्रष्ट पार्न र रुकुममा ६ वाट हिमालहरु भएकाले हिमाली जिल्ला सरहको सुविधा व्यवस्था गर्न समेत माग गरेका छन् ।
परामर्श सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी भरतकुमार शर्माले सरोकारवालाहरुले उठाएका मागलाई आफुले जस्ताको त्यस्तै आयोगमा पठाउने प्रतिवद्धता जनाए । उनले आफुले आयोगको आयोजनामा भएका विभिन्न गोष्ठिमा समेत यसबारेमा कुरा उठाएको र अझै पनि कुरा उठाउने बताए ।